Comments Add Comment

पहिलोपटक आन्तरिक पर्यटक सर्वेक्षणको तयारी

३१ असार, काठमाडौं । सरकारले पहिलोपटक आन्तरिक पर्यटक सर्वेक्षण गर्ने भएको छ । यस सर्वेक्षणबाट नेपालीको घुमफिर संस्कृतिको प्रवृत्ति र उनीहरुले गर्ने खर्चको यथार्थ अवस्था पत्ता लाग्ने सरकारको विश्वास छ ।

राष्ट्रिय योजना आयोगको अभिलेखमा रहने गरी विभिन्न निकायको सहयोगमा आन्तरिक पर्यटक सर्वेक्षण गर्न लागिएको आयोगका सदस्य डा. रामकुमार फुयाँलले जानकारी दिए । ‘हामीसँग आन्तरिक पर्यटनसम्बन्धी यकिन तथ्यांक छैन,’ सदस्य डा. फुयाँल भन्छन्, ‘विदेशी पर्यटक आगमनको बलियो आधार बनाउन पनि आन्तरिक पर्यटनको तथ्यांक अत्यावश्यक छ ।’

सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को योजना तथा तथ्यांकसम्बन्धी वार्षिक विकास कार्यक्रममा आन्तरिक पर्यटक सर्वेक्षणलाई समेटिएको छ । वार्षिक विकास कार्यक्रममा अवधारणाका रुपमा समेटिएको यो सर्वेक्षण राष्ट्रिय योजना आयोगकै सम्पत्तिका रुपमा रहने छ ।

तर, गणनाको क्रममा सबै सरोकारवालासँग सहयोग लिइने उनले बताए । ‘सर्वेक्षण केन्द्रीय तथ्यांक विभाग वा अरु कुनै निकायको नेतृत्वमा होला,’ उनी भन्छन्, ‘तर, यो राष्ट्रिय सम्पत्ति हुनेछ ।’

नेपालले कति पर्यटकलाई एकसाथ सेवा दिन सक्छ भन्ने वास्तविक सर्वेक्षण अहिलेसम्म भएको छैन

सरकारले आगामी आर्थिक वर्षमा तीन राष्ट्रियस्तरका सर्वेक्षण गर्दैछ । त्यसमध्ये आन्तरिक पर्यटकसम्बन्धी सर्वेक्षण पनि एक हो ।

क्षमताको आंकलन

आन्तरिक पर्यटकको सर्वेक्षणबाट पर्यटनमा नेपालको वास्तविक क्षमताको आंकलन हुने आयोगको विश्वास छ । सरकारले १५ औं योजनाको अन्त्यसम्म वार्षिक ३५ लाख पर्यटक नेपाल आउने आंकलन गरेको छ ।

१५ औं पञ्चवर्षिय योजना आगामी आर्थिक वर्षबाटै सुरु हुँदैछ । १५ औं योजनाको पहिलो वर्ष नै नेपालले भ्रमण वर्ष मनाउँदै छ । यस अभियानबाट वार्षिक २० लाख पर्यटक आगमनको वातावरण बन्ने अपेक्षा छ । तर, नेपालले कति पर्यटकलाई एकसाथ सेवा दिन सक्छ भन्ने वास्तविक सर्वेक्षण अहिलेसम्म भएको छैन ।

घुमफिर संस्कृतिको प्रवृत्ति पत्ता लाग्ने

पछिल्लो समय नेपालमा घुमफिर संस्कृतिको विकास भएको छ । पर्यटकीय मौसममा आन्तरिक पर्यटककै कारण गन्तब्यहरु भरिभराउ हुन्छन् । कालिञ्चोक, रारा, मुक्तिनाथ-कागवेनी, चितवन, पोखराजस्ता गन्तव्य आन्तरिक पर्यटककै कारण निकै व्यस्त हुन्छन् ।

तर, नेपालमा आन्तरिक पर्यटकलाई पहुना मान्ने प्रचलन छैन । ‘नयाँ गन्तब्य स्थापित गराउन आन्तरिक पर्यटकको ठूलो भूमिका छ,’ ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल -टान) का सदस्य गोपाल श्रेष्ठ भन्छन्, ‘नेपाली युवाको साहसिक गन्तव्यतर्फको क्रेज अझ लोभलाग्दो छ ।’

उनका अनुसार रारा, तिलिचो ताल, मुक्तिनाथ, गोसाइँकुण्डजस्ता साहसिक गन्तव्य नेपालीकै कारण परिचित भएका हुन् । पोखरा र सौराहाजस्ता गन्तव्य नेपालीको पारिवारिक भ्रमणका कारण अब विदेशीविना पनि आत्मनिर्भर हुने क्रममा पुगिसकेका छन् ।

निजी क्षेत्रको माग

निजी क्षेत्रले लामो समयदेखि आन्तरिक पर्यटकको पनि तथ्यांक प्रणाली माग गर्दै आएको थियो । टानका सदस्य श्रेष्ठका अनुसार कम्तिमा पदयात्रामा निस्कने मात्र भएपनि नेपालीको तथ्यांक राखौं भनी नेपालीका लागि पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्डको व्यवस्था लागू गर्न माग गरिएको छ । तर, लागु हुने सकेको छैन ।

नेपालमा राष्ट्रिय निकुञ्ज, विभिन्न पर्यटकीय तथा सांस्कृतिक सम्पदामा छिर्दा नेपालीको तथ्यांक राख्ने गरिए पनि वार्षिक कति नेपाली घुमघाममा निस्कन्छन् र कति खर्च गर्छन् भन्ने तथ्यांक कुनै पनि निकायसँग छैन ।

सरकारले आगामी आर्थिक वर्षको कार्यक्रममा समेटेको यो कार्यक्रमको ढाँचा भने अझै बनिसकेको छ । ‘यो एक अवधारणा हो,’ राष्ट्रिय योजना आयोगका सदस्य डा. फुयाँल भन्छन्, ‘हामी नेपाल पर्यटन बोर्ड, तथ्यांक विभाग, अध्यागमन विभाग, पर्यटन विभागजस्ता निकायसँगको समन्वयमा अरु पक्ष टुंगो लगाउने छौं ।’

नेपालमा अहिले वार्षिक करिब १२ लाख विदेशी पर्यटक नेपाल भित्रन्छन् । उनीहरुबाट नेपालले वार्षिक औसत ६५-७० अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जन गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment