+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

पहिले प्रगतिशील विचारको थिएँ, आखिर बदलिएँ

धनप्रसाद शर्मा पौडेल धनप्रसाद शर्मा पौडेल
२०७६ साउन ४ गते १२:२९

म क्याम्पस जीवनमा प्रगतिशील विचारहरुबाट उत्प्रेरित थिएँ । सबै धर्म-सम्प्रदायप्रति आक्रामक थिएँ । मार्क्सले झैं धर्मलाई अफिम नै ठान्थेँ । भगवान भन्ने कुरा मानिसको शोषणका लागि बनाएको रीति लाग्दथ्यो । यसभित्रको चुरो कुरो बुझ्ने उमेर सायद भैसको थिएन । कयौंपटक आफ्नो घरमा भएका मान्यजनसँग विवाद गर्दथें । कालान्तरमा, आमाको मृत्युपछि म आस्थावान बनेँ । त्यसपछि नै हो, मैले धर्मका विषयमा अध्ययन गर्न थालेको ।

बिहान स्नान गर्ने, पञ्चाङ्ग पूजा गर्ने, -पञ्चदेव) पर्यटकीय र धार्मिकस्थलको भ्रमणमा जाँदा आनन्द आउँछ । एकपटक सामुदायिक सेवा केन्द्र ईचंगु, काठमाडौँको भ्रमण टोलीमा ताप्लेजुङ जाँदा पाथीभरा देवीको दर्शनमा जाने विषयमा साथीहरुसँग कुरा मिलेन । सदरमुकामबाटै फर्किन पर्‍यो । त्यसदिन मलाई बेचैनी भएको थियो । पाथीभरा मातासँग क्षमा माग्दै पाँचथरतर्फ र्फकेको थिएँ । कुनै तीर्थस्थलको नजिक पुगेर पनि धार्मिक स्थल प्रवेश गरी दर्शन गर्न नपाउने परिस्थिति हुँदा मलाई यस्तो बेचैनी हुन्छ । म आफैसँग पनि चित्त बुझ्दो जबाफ छैन ।

कट्टर हिन्दुवादी माहात्मा गान्धीले भनेका छन् -‘म जन्मदेखि नै हिन्दू हुँ तर हिन्दूत्वको बारेमा धेरै जान्दिनँ र अन्य धर्मका बारेमा पनि थोरै जान्दछु ।’ यही परिवेशमा हामी छौँ । ३३ कोटी देवताबारे बताउन म असक्षम छु । धार्मिक अध्ययनमा कमी छ तर भगवानप्रतिको आस्था भने ममा गहिरो छ । अभेद्य छ । यो किन भयो भन्ने चित्तबुझ्दो जबाफ मसँग पनि छैन ।

त्यसैगरी माइकल ब्रेनार्डले भनेका छन्, ‘९९ प्रतिशत तपाईँ को हो भन्ने कुरा अदृष्य र छुन नसकिने छ । यही अदृश्य दैवी शक्ति नै ईश्वर र सोप्रति आस्था कर्म नै धर्म हो ।’

मेराे अध्ययनले भन्छ, ‘विश्वमा चारवटा विषयले आपसमा विवाद र असमझदारी विकास गरेका छन् । ती हुन्, राजनीति, धर्म, प्रेम र सम्पत्ति । यीमध्ये विश्वका धर्मको मूल मर्म एउटै हो । संस्कार मिल्दा जुल्दा छन् । मूल उद्देश्य पनि एउटै हो र एकले अर्काको धर्मकोबारे उपेक्षा गर्छ ।

धर्मको प्रचार गर्ने र राजनीतिक अस्त्र बनाउनेहरुबाट हुने हिन्दू, मुस्लिम, क्रिश्चियन आदि धर्मको बीचमा आपसमा लडाउने कार्य स्वार्थ बस भएका हुन् । विचार विज्ञानमा खप्तड स्वामी भन्नुहुन्छ, ‘ईश्वर परम दयालु छन् । सबको इच्छा पूर्ण गर्नेवाला छन् । जो जस्तो ईच्छा गर्छन् र जसका मनमा जस्ता विचार उत्पन्न हुन्छन् तद्अनुसार ईश्वर उसलाई फल दिन्छन् ।’ श्रद्धामयोडयं पुरुषः यो यच्छद्धः सः एव सः यसैले जस्तो हुने इच्छा छ आफूलाई उस्तै नै मान ।

हिन्दू धर्मले योगलाई जोड दिएको छ । शरीर माद्यम खलु धर्म साधनम भनेको छ । शाकाहारी हुनु राम्रो भन्ने तर्क दिएका छन् तर हिन्दू परम्परामै बली दिने, मासु खाने, प्रथा पूरानो हो । विश्वमा धेरै मांशाहारीको जनसंख्या छ । यो कार्यलाई निन्दा गर्नु पनि राम्रो होइन । स्वेच्छामा छाडीदिनुपर्छ ।

मेरा सम्धीजी ओशोलाई मान्नुहुन्छ । उहाँ शाकाहारी हुनुहुन्छ । तर, उहाँकै परिवारका एक सदस्य मेरी बुहारी मांसाहारी हुन् । अन्य सदस्यलाई पनि यो स्वतन्त्रता उहाँले दिनुभएको छ । तर मेरै एक साँढुभाइ हुनुहुन्छ उहाँ सत साहेबलाई मान्नुहुन्छ । आफू मासु खान छाड्नुभएको र परिवारका अन्य सदस्यलाई पनि शाकाहारी हुनुपर्छ भन्नुहुन्छ । यो व्यक्तिगत विचार पनि होला । तर, स्वेच्छाले छाडिदिनु मेरो दृष्टिमा राम्रो कुरा हो ।

विश्वमा मूलतः तीन धर्मका कतिपय परम्परा मिल्दाजुल्दा छन् । इस्लाम धर्मालम्बीले ध्यान गर्दा भन्छन्, ‘कहिल्यै पनि हामी साहाराबिना छैनौँ, अल्लाह सबै देख्नुहुन्छ । उहाँ अकल्पनीय रुपमा दयावान हुनुहुन्छ । हामीलाई शस्त्र अस्त्रले सुसज्जित गर्नु हुन्छ । शक्तिशाली बनाउनुहुन्छ । त्यसबाट हामी विजयी बन्छौं ।’

कुरानको मुख्य सन्देश छ, ईश्वर हरेक मुटुका गोप्य कुरा थाहा पाउँछन् भन्ने हो । यो कुरा हिन्दू र क्रिश्चियन धर्मसँग पनि मिल्दो देखिन्छ । यी तीनवटै धर्मावलम्बीहरुमा ब्रत बस्ने चलन छ । इमानदारिता र मानव सेवा सबै धर्मको मर्म हो ।

मुस्लिमहरु रामाजानमा भोकै बस्ने र हिन्दूहरु एकादशीमा भोकै बस्ने गर्दछन् । कि्रश्चियन धर्ममा प्रकृतिलाई नष्ट गर्नु हुँदैन, चोरी गर्नु हुँदैन, झुटा बोल्नु हुँदैन आदि विषय रहन्छन् । ईश्वरले दया राख्छन्, जीसस क्रिस्ट हाम्रो लागि मरेका हुन्, पवित्र ग्रन्थ वाइवल र पूजा गृह चर्च हो । हाम्रो परिवारको कल्याण हुन्छ आदि । हिन्दूहरुमा पनि तीनै बुँदा त मिल्छन् नै मात्र जिसस क्रिष्ट होइन भगवान् कृष्ण ॐकार परिवार भित्र कै वा अन्य भगवान्को नाम भन्ने कुरा नै हो ।

यसर्थ यी तीन धर्मबीच सामीप्य छ । निचोड एकै हो । बौद्ध धर्म भने समयसापेक्ष आधुनिक धर्म मानिन्छ । यसका प्रवर्तक गौतम बुद्ध हुन् । उनको जन्म नेपालमा भएको हो । धार्मीक मामिलामा वास्तविक प्रचारप्रसार हुन सके विश्व सामु नेपालको नाम अग्रपंक्तिमा रहनेछ ।

जहाँसम्म धार्मिक विकास र प्रचारको विषय छ, क्रिश्चियनहरुमा बढी छ । उनीहरु स्कुल, कलेज, पुस्तकालय, हस्पिटल, चर्च मार्फत आफ्नो धर्म प्रचार गरिरहेका छन् । हामीहरु उनीहरु मार्फत् प्रदान गरिएका सेवा सुविधा पनि लिने आलोचना पनि गर्ने गरेका छौँ । यहाँनेर सम्झनुपर्ने के छ भने हिन्दू धर्मले पनि मानव कल्याणका यस्ता कार्यहरुमा जोड दिन जरुरी छ । हाम्रा मठ मन्दिरका भेटी घाटीमा पारदर्शिता कायम हुन जरुरी छ ।

हाम्रा पूजारीहरुले आत्मसमीक्षा गर्ने बेला आएको छ । मन्दिरहरुका सरसफाइ र व्यवस्थापन हुनु जरुरी छ । विदेशमा रहेका नेपालीका छोराछोरी पशुपतिनाथ दर्शन गर्न आउँदा सफा सुग्घर रहेको देखून्, आनन्द महसुस गरुन्, विदेशस्थित चर्च जस्तै हाम्रो मन्दिर मठ सफा देखुन्, हिन्दू धर्मप्रति आस्था बढाएर जाऊन्, त्यसतर्फ सोच्नु अनिवार्य भएको छ । एकपटक हाम्रो अवस्था विचार गरौँ त मुलुकका शक्तिपीठहरुको ?

नेपालमा मात्र होइन, भारतमा पनि हिन्दू तीर्थस्थलमा हुने दुव्र्यवहारको कुरा गरी साध्य छैन । यहाँ एउटा प्रसंग सम्भिmन मन लाग्यो । हरिद्वारमा तर्पण गर्न लाग्दा पण्डाले गरेको वार्गेनिङ होस् वा वनारसको विश्वनाथ मन्दिरमा गेटमा प्रवेश गर्दा राम्रो कलम समेत त्यहाँका सुरक्षाकर्मीले लिई दिएको घटना होस् । दिएको सामान लिन फर्कने बेलामा प्रवेश गेटमा जानै नपाइने । एक घण्टा घुमेर फेरि जाने कुरा पनि भएन । यस्तै ठगिने काम मैले पनि व्यहोरेको छु ।

हुन त म बबुरोको के कुरा भयो र विश्वनाथ मन्दिरमा दर्शन गर्न जाँदा महात्मा गान्धिले समेत अप्ठ्यारो महसुस गरेका रहेछन् भन्ने विषय उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । गान्धी लेख्छन्, ‘विश्वनाथको नियम मैले मानिनँ । किनभने भगवानलाई पैसा चाहिँदैन । पैसा चाहिएको त पण्डालाई हो । मैले यही सोचेर पण्डालाई पैसा दिएँ । तर, पण्डा रिसाए र उनले पाएको पैसा बाहिर फ्याँके र भने, ‘यो अपमानले तिमीलाई सिधै नरकमा पुर्‍याउने छ ।’

गान्धीजीले जबाफ फर्काएछन्, ‘यसले मलाई कुनै फरक पर्दैन महाराज । यो मेरो चिज मेरै ढुकुटीमा रहन्छ, तिम्रो तहको व्यक्तिले गर्ने व्यवहार होइन यो । यस्तो भाषा बोल्ने होइन । यदि तिमी चाहन्छौ भने यो पैसा लिऊ होइन भने तिमीहरुले यो पनि गुमाउनेछौ ।’

त्यसैले भारतमा इतिहासदेखिको मठ मन्दिरमा हुने यस्तो व्यवहार अहिले पनि त्यस्तै छ । नेपाली तीर्थवासीहरु ठगिने क्रम निरन्तर नै छ ।

हामीले हाम्रो राष्ट्र र राष्ट्रस्थित तीर्थस्थलप्रति गर्व गर्नुपर्छ । पुराना सोचमा परिवर्तन ल्याउन जरुरी छ । हिन्दू धर्म पुरानो धर्म हो । हिन्दू धर्मका संस्थापक कुनै एक व्यक्ति नभई लाखौँव्यक्ति र संस्थाको योगदान छ ।

नेपाल हिन्दू धर्मावलम्बीहरुको भएको राष्ट्र हो । तर, हिन्दू धर्ममा रहेका छुवाछुतजस्ता प्रथाले यसको अस्तित्व कमजोर हुँदै गएको देखिन्छ ।

खासमा धर्म अर्कै कुरा थियो, हामीले त्यसलाई अर्कै रुपमा ग्रहण गर्‍यौं । गीतामा भनिएको छ, ‘आज तिमी जसलाई आफ्नो भनी खुसी छौ, त्यही खुसी भोलि तिम्रो दुखको कारण बन्न सक्छ पनि भनिएको छ । यस्तै साइरामले दिएका वचनमा मानिसको महत्व उसको कपडामा होइन उसको आचरणबाटै थाहा हुन्छ ।

यसैगरी हिन्दू धर्मशास्त्रमा वेद, उपनिषद, पुराण, रामायण आदि थुप्रै धार्मिक ग्रन्थ रहेका छन् । देवताका कुरा गर्दा ३३ कोटी देवतादेखि सबै प्रकृतिका अवयव देवगण मानियो । ज्युँदो कुमारीको पूजा पनि हाम्रै मौलिक परम्परा हो । त्यसैले अन्य धर्म जस्तो सरस र सजिलो हिन्दुधर्म छैन । यो धेरै बृहत्तर छ । यो वेद, महाभारत, रामायण, पुराण आदि धार्मिक ग्रन्थहरुद्वारा निर्देशित छ । त्यसैले धार्मिक साहित्यकारहरुबाट सजिलो गरी अहिलेका पुस्ता सहमतिमा आउने किसिमको धार्मिक सारांश तयार पार्न जरुरी छ ।

नयाँ पुस्तालाई हाम्रो धर्म, संस्कृतिबारे जति बुझाउनुपर्ने हो, त्यो नसकेर हाम्रो धर्म संस्कृति अतिक्रमणको शिकार हुन पुगेको महसुस भएको छ । जेहोस् स्वधर्म संस्कृतिमा गर्व गरौँ, ईश्वरप्रति आस्थावान रहौँ । यसको फाइदा संख्यामा गणना गर्न सकिँदैन । कम्तिमा बिहान स्नान गरौं, प्रातः भ्रमण गराैं, पञ्चदेवलाई (गणेश, सूर्य, देवी, शिव, विष्णु) पूजौं । मनलाई स्वच्छ बनाऔँ । भगवानको आशीर्वादसहित आ-आफ्नो कर्म गराैं कर्तव्य पथमा लागौं । यो नै कल्याणको मार्ग हुनेछ ।

(अवकाशप्राप्त सीडीओ पौडेलको आत्मकथा ‘आफ्नै भूमि, आफ्नै अनुभव’ बाट सम्पादिक अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?