Comments Add Comment

नेपाली वायुसेवालाई खुल्ला त चिनियाँ आकाश ?

७ साउन, काठमाडौं । नेपाल र चीनबीच आगामी बिहीबार र शुक्रबार बेइजिङमा द्विपक्षीय हवाई वार्ता हुँदैछ । वार्ताका लागि नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा एक टोली आज बेइजिङतर्फ प्रस्थान गर्दैछ ।

मन्त्रालय स्रोतका अनुसार चीनले नेपालमा भारतले पाएजस्तै ‘असीमित उडान र सिट सुविधा’ को अपेक्षा गरिरहेको छ । सन् २०१४ मा भएको द्विपक्षीय वार्ताले नेपाल र चीनबीच सातामा दुईतर्फी ५६÷५६ उडान गर्न सकिने व्यवस्थामा सम्झौता भएको थियो । चीनबाट धेरै जहाज नेपाल आउने र उनीहरुले पर्याप्त यात्रु पनि पाउन थालेसँगै त्यसलाई तन्काएर ७० उडान पुर्‍याइएको छ ।

अहिले त्यो कोटा चीनको तर्फबाट लगभग पूरा भइसकेको छ । त्यसकारण चीन नेपालमा असीमित उडानको अपेक्षासहित नेपालसँग वार्तामा बस्दैछ । अहिले चीनबाट विभिन्न ५ वटा वायुसेवा कम्पनीले नेपालमा उडान गरिरहेका छन् ।

चीनबाट एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स नेपाल आउँछन् । उनीहरुले अहिले वार्षिक करिव डेढ लाख चिनियाँ पर्यटक र उत्ति नै संख्यामा नेपाली यात्रुलाई सेवा दिन्छन् । व्यापारको यो हिस्सा अहिले चिनियाँ वायुसेवा कम्पनीले एकलौटी ओगटेका छन् । किनकि चीनले नेपाली वायुसेवा कम्पनीहरुलाई भने चीनले अनुमति दिएको छैन ।

नेपाली टोलीको नेतृत्वकर्ता सहसचिव सुरेश आचार्यका अनुसार नेपालले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले उडानको योजना बनाइरहेका रुटमा सहजीकरणको काम यस वार्ताका दौरानमा हुनेछ । यसबाहेक नेपाल र चीनमा कुनै विमानस्थल नतोकी सबै विमानस्थलमा जान पाउने गरी सम्झौताको तयारी छ । यसबाट अब नेपालमा निर्माणको चरणमा रहेका नयाँ विमानस्थलमा चिनियाँ जहाज आउने बाटो खुल्ने छ । उता, चीनमा भने नेपाली वायुसेवा कम्पनी नयाँ–नयाँ विमानस्थल र शहरसम्म पुग्ने वातावरण बन्ने भएको छ । नेपालको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलनिकट भविष्यमा सञ्चालनमा आउने गरी बनिरहेका छन् ।

नेपाल वायुसेवा निगमले चीनको ग्वाङझाउमा उडानको योजना बनाइरहेको छ । तर, चीनले अनुमति दिएको छैन । चीनकै लगानी रहेको हिमालय एयरलाइन्सले भने सन् २०१९ भित्रै बेइजिङ जाने योजना बनाएको छ । यसबाहेक नाङचाङ, चोङकिङ, चाङ्सा, गुइयाङजस्ता गन्तव्यमा पनि उडानको योजना रहेको सोमबार नै सार्वजनिक गरेको छ ।

चीनमा नेपाली कम्पनीहरुलाई स्लटको मुख्य समस्या छ । विमानस्थलहरुले नेपाली कम्पनीलाई उडानको अनुमति दिइरहेका छैनन् । यसको सहजीकरण यसपटक नेपाली वार्ता टोलीले उठाउने भएको छ ।

मन्त्रिपरिषदको स्वीकृति

अघिल्लो साता सरकारले नेपाल र चीनबीच हुने हवाई सेवा सम्झौता पुनरावलोकनको स्वीकृति दिएको थियो । मन्त्रीपरिषद् बैठकले नेपाल सरकार र चीन सरकारका प्रतिनिधिमण्डलबीच चीनको राजधानी बेइजिङमा हुने द्विपक्षीय वार्ताका लागि समिति गठन गर्ने निर्णय गरेको थियो । त्यसपछि पर्यटन मन्त्रालयले हिमालय र नेपाल वायुसेवा निगमसँग वार्तामा उठाउनु पर्ने कुनै विषय भए पठाउन आग्रह गर्दै पत्र पठाएको थियो । उनीहरुबाट आएको सुझावलाई समेटेर वार्तामा बस्न लागिएको पर्यटन मन्त्रालय स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment