Comments Add Comment

पोखरामा विदेशीको ‘अवैध’ धन्दा : २ दिनमै ४ पक्राउ

७ साउन, पोखरा । बेलायती नागरिक रोय वल्स्टन कफ्ट त्यहाँका सरकारी जागिरे थिए । ‘डबल पेन्सन’ खाइरहेका उनलाई एउटै रहर थियो, बाँकी जीवन नेपालमै बिताउने । नेपालमा बस्ने रहरले नै उनले नेपाली केटीसँग बिहे पनि गरे ।

तर बिहेपश्चात रोयले बिहे गरेकी केटी बेलायत गएर बसिन् । नेपाली श्रीमती नेपाल आउनै नमानेपछि उनले सम्बन्धविच्छेद गरे र पर्यटक भिसा लिएर सन् २०१४ मा नेपाल आए ।

नेपाल आएर उनी पोखरा बिरौटामा घर भाडामा लिएर एक युवतीसँग लिभिङ टुगेदरमा बस्न थाले । उनको भिसाको समयअवधि सन् २०१४ जुलाई १० मै सकिए पनि नेपाल बसिरहेका छन् । रोयको पोल त्यतिबेला खुल्यो, जतिबेला उनले ‘प्रेमिकाले सामान चोरेर भागी’ भन्दै प्रहरीको शरणमा पुगे ।

प्रहरीमा निवेदन पुगिसकेपछि उनको भिसावधि हेर्दा सकिइसकेको खुल्यो । भिसावधि सकिएको करिब ५ वर्षपछि फागुन २६ गते बल्ल पर्यटक प्रहरीले उनलाई बल्ल नियन्त्रणमा लियो ।

०००

नाम फेरेर पोखरामा अवैध काम गरिरहेका नेदरल्यान्डका एक पर्यटक गत मंसिर १२ गते लेकसाइडको एउटा होटलबाट पक्राउ परे । ती विदेशी नागरिक प्रेम ओझास् नामबाट १० वर्षदेखि उक्त होटेलमा शौचालय सफाइ गर्ने कामदारको रुपमा बस्दै आएका थिए ।

दिनको सय रुपैयाँमा काम गरिरहेका ती विदेशीको कर्तुत त्यतिबेला बाहिर आयो जतिबेला उनले काम गरिरहेको होटेल बिक्री भयो र अर्को साहुले दैनिक ५० रुपैयाँ तलब दिन लागे । पर्यटन प्रहरी पोखराले पक्राउ गरी उनलाई अध्यागमन कार्यालयमा बुझायो ।

०००

नेपाल कति विदेशी नागरिक अवैध रुपमा बसिरहेका छन् भन्नेबारे अध्यागमन विभागसमेत बेखबर छ । विभिन्न कारण तथा बहानामा प्रक्राउ परिसकेपछि मात्रै उनीहरुको बसाईं अवैध रहेको खुल्ने गरेको छ । नेपालभरिमै सबैभन्दा बढी पर्यटकको अवैध पोखरामा रहेको सरोकारवालाको दाबी छ ।

पर्यटक प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष ७५/७६ मात्रै पोखराका विभिन्न ठाउँबाट २२ जना भिसावधि सकिएर अवैध बसिरहेका विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । पर्यटक प्रहरी कार्यालयले नेपालमा अवैध बसोबास गरिरहेका ती विदेशी नागरिकलाई अध्यागमन विभागमा बुझाइसकेछ भने विभागले थप कारबाही प्रक्रिया अघि बढाएको छ ।

‘मुद्धा दर्ता गर्ने र ठूला अनुसन्धान हामीले गर्न मिल्दैन,’ पर्यटक प्रहरी कार्यालय कास्की प्रमुख भगवती तिमिल्सेनाले भनिन्, ‘अवैध क्रियाकलापमा संलग्न विदेशी नागरिकलाई नियन्त्रणमा लिएर सामान्य अनुसन्धानपछि सम्बन्धित निकायमा पठाउँछौैं ।’ उनले कसुरको प्रकृति अनुसार प्रहरी कार्यालय तथा अध्यागमन विभागमा पठाउने गरिएको जानकारी दिइन् ।

एउटा उद्देश्यको भिसा लिएर नेपाल आउने र अर्को काममा लाग्ने, अवैध काम तथा तस्करी गर्ने, लागुऔषध ओसारपसार गर्ने, अनाधिकृत रुपमा धर्मको प्रचारप्रसारमा लाग्ने र भिसा सकिए पनि लामो समयसम्म विदेशी नागरिक नेपालमा बस्दै आएका छन् । भिसावधि सकिएर पनि अवैध रुपमा बसोबास गर्नेमा धेरै रसियन नागरिक पक्राउ परेको तिमिल्सेनाले बताइन् ।

‘आफ्नो देशमा विभिन्न कारणले बस्न मन नपराएपछि उनीहरु नेपाल आउँदा रहेछन् । लेबनानलगायत देशमा युद्धका कारण आजीत भएर पनि यतै बसेको पाइयो’ उनले भनिन् ।

पर्यटक प्रहरी कार्यालय कास्कीले गत आर्थिक वर्षमा ३ जनालाई अवैध रुपमा ड्रोन क्यामेरा उडाएको अभियोगमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक लिऊ झुन्डौ, पोर्जुगलका जाओ लुसेन्स दा भेन्टोसा र पोर्जुगलकै नागरिक मार्को अन्ड्रे फेरनडइस छन् । उनीहरुलाई नागरिक उड्डयन कार्यालयले प्रतिव्यक्ति ५ हजार ६ सयका दरले जरिवाना गरी छोडिएको तिमिल्सेना जानकारी दिइन् ।

नेपालमा आई अवैध रुपमा लागुऔषध ओसारपसार गर्ने ७ जनालाई नियन्त्रणमा लिइएको पर्यटक प्रहरी कार्यालय कास्कीले जनाएको छ । ‘लागुऔषध ओसारपसार र किनबेचमा संलग्न भएकालाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालयलाई जिम्मा लगाएका छौं,’ तिमिल्सेनाले भनिन् ।

२ दिनमै ४ विदेशी पक्राउ

कास्कीमा २ दिनमै ४ विदेशी नागरिक अवैध काम गरिरहेको अवस्थामा पक्राउ परेका छन् । मंगलबार बाल यौन दुराचार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिइबी)ले पोखराबाट अस्ट्रेलियन नागरिक थोमस अल्फ्रेडलाई पक्राउ गरेको हो । कामदार भिसामा पोखरा आएका उनी प्याराग्लाइडिङ चालक हुन् ।

वडा प्रहरी कार्यालय बैदामले सोमबार ३ विदेशी नागरिकलाई धर्म प्रचार गरेको आरोपमा पक्राउ ग¥यो । पक्राउ पर्नेमा जापानी महिला रैको सेकिया र पुरुष जायरो सेकिया र ७३ वर्षीय कोरियाली नागरिक चौ याओसाङ छन् ।

सेकिया जोडी ३ वर्षदेखि पोखरा बस्दै आएको प्रहरी खुलेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल साहले जानकारी दिए । उनीहरुको कोठाबाट बाइबलसमेत बरामद भएको थियो । सोमबार पक्राउ परेका तीनै जना धर्म प्रचारक विदेशीलाई वडा प्रहरीका कार्यालय बैदामबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment