१० असार, डोल्पा । हिमाली जिल्ला डोल्पाका सात स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक बजेट सार्वजनिक गरेका छन् ।
जिल्लामा रहेका आठ स्थानीय तहमध्ये सात पालिकाले बजेट सार्वजनिक गरेका छन् भने मुड्केचुला गाउँपालिकाले बजेट सार्वजनिक गर्न सकेन ।
सार्वजनिक भएका बजेटमध्ये सबैभन्दा बढी बजेट त्रिपुरासुन्दरी नगरपालिकाले सार्वजनिक गरेको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५८ करोड ८७ लाख ७५ हजार ६ सय ४ रुपैयाँ ६० पैसा बराबरको बजेट सार्वजनिक गरेको हो ।
नगरपालिकाका सूचना अधिकारी डा. हेमन्त शाहीका अनुसार १५औँ नगरसभामार्फत नीति तथा कार्यक्रम पारित गरिएको छ भने बजेट नगरसभाको बन्द सत्रबाट अनुमोदन गरिनेछ ।
उनले बजेट स्थानीय जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर तयार गरिएको बताए ।
त्यसैगरी ठूलीभेरी नगरपालिकाले ५० करोड १३ लाख ३० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
नगर प्रमुख श्ववर्णकुमार बुढाका अनुसार असार ८ गते नीति तथा कार्यक्रम प्रस्तुत गरी असार ९ गते नगरसभाबाट सर्वसम्मत रूपमा बजेट पारित गरिएको हो ।
काइके गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३३ करोड ३७ लाख ४९ हजार १ सय ८३ रुपैयाँ ८० पैसा बराबरको बजेट ल्याएको छ ।
गाउँपालिका अध्यक्ष अंगदकुमार रानाले बजेट जनताको अपेक्षा र आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको बताए ।
शे–फोक्सुण्डो गाउँपालिकाले ३३ करोड ८ लाख २४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ भने जगदुल्ला गाउँपालिकाले ३० करोड २१ लाख ३६ हजार ३६ रुपैयाँ ६० पैसा बराबरको बजेट ल्याएको छ ।
गाउँपालिकाको २०औँ गाउँसभाबाट पारित बजेटले समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै अध्यक्ष नारासिं रोकायले बजेटमा जनमुखी र विकासमुखी कार्यक्रमलाई प्राथमिकता दिइएको बताए ।
त्यस्तै डोल्पो बुद्ध गाउँपालिकाले २८ करोड १३ लाख ९० हजार ६ सय ६६ रुपैयाँ ६० पैसा बराबरको बजेट सार्वजनिक गरेको छ ।
छार्का ताङसोङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि २७ करोड ९० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, जडीबुटी संरक्षण, पूर्वाधार विकास, खानेपानी, सिँचाइ, ऊर्जा, सञ्चार, सामाजिक सुरक्षा, युवा तथा खेलकुद विकास, उद्यमशीलता प्रवर्द्धन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट तर्जुमा गरेको जनाएको छ ।
गाउँपालिकाले ‘समृद्ध छार्का ताङसोङ, सुखी नागरिक’ को लक्ष्य हासिल गर्ने उद्देश्यसहित बजेट कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरेको छ ।
यता जिल्लाका अन्य स्थानीय तहले बजेट सार्वजनिक गरिसक्दा मुड्केचुला गाउँपालिकाले भने बजेट सार्वजनिक गर्न सकेको छैन ।
गाउँपालिकाकी उपाध्यक्ष दुदा रोकायाका अनुसार गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीकी आमा बिरामी भई उपचारका लागि जिल्ला बाहिर रहेका कारण बजेट सार्वजनिक गर्न ढिलाइ भएको हो । केही दिनभित्रै बजेट सार्वजनिक गरिने उनले जानकारी दिइन् ।
डोल्पाका अधिकांश स्थानीय तहले विकास, सेवा प्रवाह, कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै बजेट ल्याएको बताएका छन् । अब मुड्केचुला गाउँपालिकाको बजेट सार्वजनिक भएपछि जिल्लाका सबै स्थानीय तहको बजेट विवरण पूर्ण हुने छ ।
प्रतिक्रिया 4