+
+
Shares

डोल्पामा बलाङ्ग्रा चौँरी फार्म अलपत्र : राज्यको लगानी, बालुवामा पानी

सहरमा प्रधानमन्त्री बालेन र सरकारको यस्तो तारिफ भइरहँदा डोल्पामा वर्षौंअघि स्थापना गरिएको सरकारी चौँरी फार्मको अवस्थाले भने सिंगो राज्यलाई गिज्याइरहेको छ ।

पूर्ण सार्की पूर्ण सार्की
२०८३ असार ६ गते १८:३३

६ असार, डोल्पा । प्रधानमन्त्री बालेन्द्र शाहले दुग्ध विकास संस्थान(डीडीसी)बाट उत्पादित चाैँरीको चिजको प्रचार गरेर धेरैको ध्यान तान्न खोजे । त्यसबाट चाैँरीको दुधबाट उत्पादन हुने परिकारको प्रचारप्रसार र व्यावसायीकरणमा सरकारको प्राथमिकता झल्किएको भन्दै धेरैले उनको तारिफ गरिरहेका छन् ।

सहरमा प्रधानमन्त्री बालेन र सरकारको यस्तो तारिफ भइरहँदा डोल्पामा वर्षौंअघि स्थापना गरिएको सरकारी चौँरी फार्मको अवस्थाले भने सिंगो राज्यलाई गिज्याइरहेको छ ।

प्रसंग डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–११ स्थित बलाङ्ग्रा चौँरी फार्मको हो । जहाँ भौतिक संरचना निर्माणमा राज्यले करोडौं रुपैयाँ लगानी गरेको छ । तर, अहिले त्यहाँ न चौँरी छन्, न बनेका संरचनाको सुरक्षाको कुनै प्रबन्ध छ । अहिले ती संरचना जीर्ण बन्दैगएका छन् ।

विसं. २०३६ सालमा तत्कालीन सरकारले बलाङ्ग्रा चौरी फार्म स्थापना गरेको थियो । त्यो बेला यो फार्मले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नेदेखि पशुपालन प्रवर्द्धनको उदाहरण बनेको स्थानीयबासी बनाउँछन् ।

२०४९ सालसम्म यो फार्ममा करिब १५० याक र चौँरी पालिँदैआएको जानकारहरू बताउँछन् । तर, सरकारले त्यो बेला यो फार्म बन्द गरिदियो । फार्ममा रहेका याक र चौँरीसहित सम्पूर्ण सम्पत्ति लिलाम गरियो ।

त्यसयता यो फार्ममा याक र चौँरी पालिएका छैनन् । भवन तथा संरचना सबै जीर्ण र कतिपय खण्डहर भए ।

फेरि २०७७/७८ तिर कर्णाली प्रदेश सरकारले फार्मको संरक्षण र सञ्चालनको अवधारणा अघि सार्‍यो । सो क्रममा करोडौं रकम पनि खर्च गरियो । सो बजेटबाट फार्मको जमिन घेराबार, गोठ, कार्यालयसँगै आवश्यक पूर्वाधार निर्माण गरियो ।

तर, योजनाअनुरूप चौँरी फार्म पुन: सञ्चालनमा भने ल्याइएन् । जसले प्रदेश सरकारले गरेको लगानी पनि बालुवामा पानी जस्तै भएको छ । अहिले त्यो बेला बनाइएका संरचना पनि जीर्ण हुँदैगएका छन् ।

उक्त फार्म अहिले पशु अस्पताल तथा पशु सेवा कार्यालयको नाममा छ । कार्यालयले केही समयअघि मात्रै फार्मको जमिन आफ्नो स्वामित्त्वमा ल्याएको थियो ।

यता स्थानीयबासी भने राज्यको यसप्रकारको बेवास्ता र व्यवहारप्रति चित्त दुखाउँदैआएका छन् ।

संघ सरकारको चासो

स्थानीयबासीका अनुसार केही समयअघि राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयले यहाँ पुगेर ‘याक–चौँरी संरक्षण, प्रवर्द्धन तथा चिज उत्पादन व्यवसायीकरण’ विषयमा नीति संवाद कार्यक्रम गरेको थियो ।

त्यसबाट सरकारले यो फार्म सञ्चालनमा केही चासो देखाउने स्थानीयबासी अपेक्षा छ ।

पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. केशव भट्टले डोल्पाको हिमाली भूगोल याक तथा चौँरीपालनका लागि उपयुक्त भएको बताउँछन् । सो क्षेत्रमा प्रशस्त चरन क्षेत्र, खर्क तथा प्राकृतिक घाँसे मैदान उपलब्ध रहेकाले व्यावसायिक उत्पादन विस्तार गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।

यसै विषयमा त्यहाँ पुग्दा बलाङ्ग्रा चौँरी फार्मबारे जानकारी प्राप्त भएको उनी बताउँछन् । ‘डोल्पामा चौरी फार्म अलपत्र अवस्थामा रहेको जानकारी प्राप्त भयो । त्यसपछि हामी स्थलगत अवलोकनका लागि त्यहाँ पुगेका थियौँ,’ उनले भने, ‘फार्म सञ्चालनका लागि आवश्यक संरचना र चरन क्षेत्र उपलब्ध रहेछ । सम्बन्धित निकायसँग समन्वय गरेर पुन: सञ्चालनका लागि सक्दो प्रयास गर्नेछौँ ।’

डोल्पामा चौँरी फार्म सञ्चालन भएर चिज, घिउ तथा अन्य दुग्धजन्य वस्तु उत्पादन भए त्यसलाई प्रशोधन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सकिने दुग्ध विकास संस्थान नेपालगञ्जका प्रमुख विजयसिंह कुर्मी बताउँछन् । अहिले बजारको समस्या पनि नरहेको उनको भनाइ छ ।

डोल्पाका डोल्पो बुद्ध, शे–फोक्सुण्डो र जगदुल्ला क्षेत्रमा किसानहरू आफै करिब ५ हजार चौँरीपालन गरिरहेको अनुमान गरिन्छ ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?