Comments Add Comment

भारत निर्यात गरिने कृषिजन्य वस्तुमा पनि नगद अनुदान दिइने

८ साउन, काठमाडौं । सरकारले निर्यात अनुदानसम्बन्धि कार्यविधि संशोधन गरेर भारत निर्यात गरिने कृषि वस्तुमा समेत ५ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेको छ । यस अघि तेस्रो देशमा निर्यात हुने कृषिजन्य उत्पादनमा मात्रै निर्यात दिने व्यवस्था थियो ।

नयाँ व्यवस्थापछि नेपालबाट भारतमा प्रशोधित बेसार, तरकारी, प्रशोधित चिया तथा कफी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची र प्रशोधित अदुवा लगायतका वस्तु निर्यात गर्दा पाँच प्रतिशत नगद पाइने छ । राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले भारततर्फको कृषि वस्तु निर्यातमा समेत नगद अनुदान दिने व्यवस्था गरेको हो ।

नेपाली उत्पादनलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको मन्त्रालयकी सहायक सूचना अधिकारी उपसचिव उर्मिला केसीले बताइन् । संशोधित कार्यविधिअनुसार राष्ट्रियस्तरको सामूहिक ट्रेडमार्क दर्ता गरेका निर्यातकर्ताले थप १ प्रतिशत नगद अनुदान पाउने छन् । यद्यपि त्यस्ता वस्तुमा न्यूनतम ४० प्रतिशत मूल्य अभिवृद्धि भने अनिवार्य हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

संशोधनले निर्यातमा नगद अनुदान पाउने निर्यातमूलक वस्तुका सूचिलाई थप विस्तार गर्दै ५० प्रतिशत मूल्य अभिवृद्धि गर्ने २७ वटै वस्तुले ५ प्रतिशत नगद अनुदान पाउने व्यवस्था गरेको छ । यसअघि १५ वटा वस्तुको निर्यातमा ५ प्रतिशत नगद अनुदान र १२ वटा वस्तुको निर्यातमा ३ प्रतिशत नगद अनुदान दिने व्यवस्था थियो ।

कार्यविधिअनुसार प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकला, प्रशोधित छाला र छालाजन्य वस्तु, प्रशोधित जडीबुटी र सारयुक्त तेल, हातेकागज र त्यसका उत्पादन, अल्लो, मिनिरल वाटर, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना, प्रशोधित बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैँची र प्रशोधित अदुवाको निर्यातमा ५ प्रतिशत नगद अनुदान उपलब्ध हुनेछ ।

त्यस्तै, स्वदेशमा उत्पादित कपडा, तयारी पोसाक, गलैँचा र ऊनीका पोसाक, च्यांग्रा, पस्मिना तथा त्यसका उत्पादन, सुन-चाँदीका गरगहना, प्रशोधित जुट तथा त्यसका उत्पादन, अर्द्धप्रशोधित छाला, औषधि, फेल्ट, पोलिस्टार-कटन-फाइबर यार्न र तामाका सामानको निर्यातमा ३ प्रतिशत नगद अनुदान दिइने छ ।

स्वागतयोग्य कदम : व्यवसायी

निर्यात अनुदान कार्यविधि संशोधनलाई व्यवसायीले सरकारको सकारात्मक कदम भनेका छन् । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको कृषि कमिटीका अध्यक्ष कृष्णकुमार श्रेष्ठले सरकारी कदमले कृषिजन्य उत्पादन बढाउन हौसला बढ्ने बताए ।

‘आफ्नो कृषिजन्य उत्पादन ठूलो बजारमा प्रवेश गर्नका लागि सरकारबाट अनुदानको प्रबन्ध गर्नु निकै राम्रो कुरा हो,’ श्रेष्ठले भने ।

यस्तै ठूला अलैचीँ व्यवसायी महासंघ नेपालका अध्यक्ष निर्मल भट्टराई कृषि कर्ममा लाग्नका लागि सरकारले थप प्रेरणा दिएको र यसले किसान तथा व्यवसायी दुवैलाई फाईदा पुग्नेृ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment