+
+

‘साइलेन्ट किलर’ बन्दै हेपाटाइटिस् !

चिकित्सकको सुझाव : हरेक वर्ष कलेजो परीक्षण गरौं

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १२ गते १२:१२

१२ साउन, चितवन । नेपालमा पछिल्ला वर्षहरुमा हेपाटाइटिस् भयावह बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले २८ जुलाईलाई हरेक वर्ष विश्व हेपाटाइटिस् डेका रुपमा मनाउँदै आएको छ । हेपाटाइटिस् बी का आविष्कारक अमेरिकन फिजिसियन ब्लुमबर्गको जन्मदिनको अवसर पारेर हरेक वर्षलाई हेपाटाइटिस् डेको रुपमा मनाउन थालिएको छ ।

यस वर्ष ‘हेपाटाइटिस हटाउन लगानी’ भन्ने नारा तय गरिएको छ । विश्वमा ३२ लाख मानिसहरु कडा प्रकारको हेपाटाइटिस् बी र सीबाट संक्रमण भएको विश्व स्वास्थ्य संगठन जनाएको छ । त्यसमध्ये १४ लाख मानिसहरूले यसैका कारणले मृत्यु भएको संगठनको भनाइ छ ।

नेपालमा हेपाटाइटिस्का बिरामीहरू हरेक वर्ष बढ्दै गएका छन् । समान्यता हेपाटाइटिस् ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुने गर्दछन् । ए र ई सामान्य उपचार र सावधानीमा निको हुने चिकित्सकहरु बताउँछन् । हेपाटाइटिस् ‘ए’ र ‘ई’ दूषित पानी र खानाबाट सर्दछ ।

तर, हेपाटाइटिस ‘बी’ र ‘सी’ को अवस्था भने जटिल छ । हेपाटाइटिस ‘बी’ र ‘सी’ रगतको माध्यमबाट सर्दछ ।

बिरामीहरुको ५० देखि ६० प्रतिशत कलेजो खराब भएपछि मात्रै वा कतिपयको कलेजो पूरै ड्यामेज भएपछि मात्रैं लक्षण देखिने भएकोले यसलाई ‘साइलेन्ट किलर’ रोगका रुपमा समेत लिइने चितवन मेडिकल कलेजका ग्यास्ट्रो इन्टेरोलोजिष्ट तथा कलेजो प्रत्यारोपण फिजिसियन डा. सागर पौडेलले बताए ।

हेपाटाइटिस् ‘बी’ र ‘सी’बाट २५ प्रतिशतमा खतरनाक रोग लिभर सिरोसिस् र लिभर क्यान्सर हुन्छ । कलेलो बिग्रिएको लक्षणमा थकाइ बढी लाग्ने, काम गर्न नसक्ने शरीर गल्ने, एउटा स्टेजमा जण्डिस देखिने, पेट फुल्ने, पानी भरिने रगतको बान्ता हुने हुन्छ ।

डा. पौडेलका अनुसार नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिब दुई लाख ५० हजार मानिसहरुमा हेपाटाइटिस ‘बी’ र लगभग एकलाख ४० हजार मानिसमा हेपाटाइटिस ‘सी’ रहेको अनुमान गरिएको छ ।

हेपाटाइटिस् ‘बी’ र ‘सी’का चारवटा चरण हुन्छन् । साधारणतया पहिलो र दोस्रो स्टेज भएका विरामीहरुलाई उपचारबाट निको गराउन सकिने चिकित्सक डा. पौडेलले बताए । तेस्रो र चौथो चरण भएका बिरामीहरुको कलेजो खुम्चिसकेको हुनाले ट्रान्सप्लान्ट मात्रै विकल्प भएको उनको भनाइ छ ।

चिकित्सक भन्छन् : वर्षमा एकपटक कलेजो परीक्षण गराऔं

कलेजो मानव शरीरको अतिमहत्वपूर्ण अंग हो । यो अंगले रोगसँगको संक्रमणलाई अति नै सहने गर्दछ । बेलैमा कुनै लक्षण नदेखिने हुँदा बिरामीहरुले कलेजोलाई खासै वास्ता नगर्ने गरेको चिकित्सकहरु बताउँछन् । जब कलेजो बिग्रिएको लक्षण देखिन्छ त्यतिबेला निकै ढिला भएको हुन्छ ।

कतिपयको कलेजोको क्यान्सर नै भएर मृत्यु हुन्छ । चितवन मेडिकल कलेजका चिकित्सक डा. पौडेल हरेक स्वस्थ ठान्ने नागरिकहरुले पनि वर्षमा एक पटक अनिवार्य रुपमा कलेजोको परीक्षण गराउन सुझाव दिन्छन् ।

आफ्नो जन्मदिनको अवसरमा वर्षमा एकपटक कलेजो परीक्षण गराएर ढुक्क हुन डा. पौडेलले अपिल गरे । रगत परीक्षणबाट कलेजोको अवस्था थाहा पाउन सकिन्छ ।

तर, साधारणतय चिकित्सकहरुले पनि विरामीहरुलाई कलेजोको परीक्षणका लागि लेख्ने नगर्दा समस्या विकराल बन्दै गएको छ ।

अन्य रोगका बारेमा समाजमा चर्चा परिचर्चा हुने गरे पनि हेपाटाइटिस्का बारेमा खासै चर्चा नहुँदा जोखिम बढेको चिकित्सकहरुको भनाइ छ ।

राज्यका तर्फबाट नागरिकहरुमा सचेतना फैलाउन काम गर्न सके यसबाट हुने क्षतिलाई कम गराउन सकिने डा. पौडेलले सुझाव दिए ।

चितवनमा हेपाटोलोजी र लिभर ट्रान्सप्लान्ट ओपीडी

हेपाटाइटिस् डेको सन्दर्भ पारेर राजधानी बाहिरमा पहिलो पटक चितवन मेडिकल कलेजले ओपीडी सेवा सञ्चालनमा ल्याएको छ ।

भारतको मेदान्त अस्पतालबाट लिभर ट्रान्सप्लान्ट हेपाटोलोजीमा पोष्टडक्टेट फिलोसिप् गरेका डा.सागर पौडेलले दैनिकरुपमा विरामीहरूको परीक्षण सुरु गरेका छन् ।

चितवन मेडिकल कलेजले कलोजो प्रत्यारोपणको तयारीसमेत गरिरहेको छ । प्रत्यारोपणको तयारी करिब ८० प्रतिशत पूरा भएको डा. पौडेलले बताए ।

कलेजले प्रत्यारोपण सम्बन्धी स्वीकृति पनि लिइसकेको छ । राजधानी बाहिर पहिलो पटक कलेजो प्रत्यारोपणको तयारी चितवन मेडिकल कलेजमा गरिने डा. पौडेलले बताए ।

‘ओपीडी सञ्चालन गरेपछि विरामीहरुको स्कृनिङ हुन्छ, बिरामीलाई सेवा पनि भयो,’ डा. पौडेलले भने, ‘त्यसबाट जटिल अवस्थाका बिरामीमा कलेजो प्रत्यारोपण गछौं ।’

प्रत्यारोपणका लागि आवश्यक उपकरण, पूर्वाधार निर्माण र दक्ष जनशक्तिको संयोजन गरिएको कलेजको दावी छ ।

निकट भविश्यमा नै कलेजो प्रत्यारोपण गरेर राष्ट्रियरुपमा नै नयाँ सन्देश दिने र कलेजोका विरामीहरुलाई जीवनप्रति नयाँ आशा जगाउने काम गरिने डा. पौडेलले बताए ।

कलेजले हेपाटाइटिस् डेको अवसरमा आइतबार विहान प्रभातफेरी, रक्तदान र ओपीडी निःशुल्क गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?