Comments Add Comment

ट्याङ्करको लकिङ प्रणाली तोडेर ६ सय लिटर पेट्रोल चोरी

१६ साउन, काठमाडौं । नेपाल आयल निगमको तेल बोक्ने ट्यांकरबाट अत्याधुनिक लकिङ प्रणाली तोड्दै ६ सय लिटर पेट्रोल चोरी भएको छ ।

भारतको बरौनीबाट करीब ४०० किलोमिटर यात्रा गरेर थानकोट डिपो आइपुगेको एउटा ट्याङ्करबाट ६०० लिटर तेल गायब भएपछि गरिएको अनुसन्धानबाट चोरी पत्ता लागेको हो ।

साउन ८ गते बुधबार भारतको बरौनी डिपोबाट पेट्रोल भरेर नेपालका लागि हिँडेको ना ४ ख ५६२६ नम्बरको ट्याङ्कर साउन १४ गते निगमको थानकोट डिपोमा आइपुग्यो । तर थानकोट आइपुग्दा ट्याङ्करबाट ६ सय लिटर तेल चोरी भइसकेको थियो ।

पेट्रोल चोरी भएको पत्ता लागेपछि निगमले ट्याङ्कर चालक सागर गुरुङलाई नियन्त्रणमा लिएको छ भने ट्याङ्कर डिपोमै राखेको छ । चालक र ट्याङ्करलाई कारबाहीका लागि आयल निगममा पत्राचार गरिसकेको थानकोट डिपो प्रमुख भरत रेग्मीले बताए ।

रेग्मीका अनुसार २० हजार लिटर तेल अटाउने ट्याङ्करमा चार वटा च्याम्बर हुन्छन् । एउटा च्याम्बरमा ५ हजार लिटर अटाउँछ । चार वटा च्याम्बरमध्ये २ वटामा कम इन्धन भेट्टिएपछि तेल चोरी भएको पत्ता लागेको हो ।

प्रमुख रेग्मीका अनुसार डिपो पाइपको वरिपरि सानो प्वाल हुनुपर्ने थियो तर प्वाल भएको पाइपमा अर्को पाइप राखेर चालकले प्वाल नै नदेखिने बनाइदिएका थिए ।

यसअघि पनि गत माघमा इन्डियन आयल कर्पोरेशनबाट नेपाल आयल निगमको विराटनगर डिपोमा आएको ट्यांकरबाट २५ सय लिटर डिजेल चोरी भएको घटना सार्वजनिक भएको थियो ।

तर निगम भने एकाध घटनालाई उठाएर पुरै प्रणालीमा समस्या रहेको भन्न नमिल्ने दाबी गर्छ । निगमले जे जस्तो दाबी गरे पनि ट्याङ्कर लकिङ प्रणाली जडान गरेपछि पनि पटक पटक इन्धन चोरिनुले निगमको ट्याङकर लकिङ प्रणालीमाथि नै प्रश्न खडा गरेको छ ।

(हिमालय टिभीको रिपोर्टमा आधारित)

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment