
१७ साउन, डोटी । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाजुराको बडीमालिकाका लागि डोटीबाट सरकारी पूजा सामग्री (पेटारो)सहितको टोली प्रस्थान गरेको छ ।
शुक्रबार डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बिशेष पूजाआजा गरी टोलीलाई बिदाई गरेका हुन् । सरकारी पूजा सामग्रीलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सलामी दिएको थियो ।
पञ्चेबाजासहित जिल्ला प्रशासन कार्यालयबाट निस्केको सरकारी पूजा सामग्रीसहितको टोली प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी बडीमालिकातिर लागेको हो । राणाकालदेखि डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ ।
जनैपूणिर्माको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडीमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ । औपचारिक रुपमा पूजाआजा गर्नुपर्ने परम्पराअनुसार अछाम, डोटी, जुम्ला र कालीकोटको सरकारी पूजा टोली बडिमालिका जाने गर्दछ । यसअघि अनौपचारिक रुपमा बाजुराबाट पनि पूजा जाने भएको पनि २०७२ सालदेखि औपचारिक रुपमै जिल्लाबाट सरकारी पूजा जाने चलन चलाइएको छ ।
शुक्रवार हिँडेको सरकारी टोली साँझ पूर्वीचौकी गाउँपालिका-१ फुलौटमा बास बस्नेछ । यस्तै शनिवार पूर्वीचौकी-५ मा रहेको धानुकाँडा बास बस्नेछ । यस्तै अछामको मार्कु, प्रसिद्ध धार्मिक स्थल बैद्यनाथ हुँदै बडीमालिका पुग्ने चलन छ । पूजा सामग्रीमा डोटी दिपायलको भुरुरी (धानको पात) र बैद्यनाथको अक्ष्ता समावेश गरिएको हुन्छ ।
बडीमालिकाको सुदूर क्षेत्रकै सबैभन्दा सुन्दर पर्यटकीय क्षेत्रसमेत हो । १४ हजार फिट उचाइमा रहेको भूमिमा २२ वटा समथर फाँटहरु, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूलहरु, त्रिवेणी, बिष्णुपानी, खेतीवेती, लौरी बिनायक, धर्मद्धार बडीमालिका क्षेत्रका मुख्य मनमोहक स्थलहरु हुन ।
खेतीबेतीमा परापूर्वकालदेखि खेत रोपिएको, धान रोप्नका तयार गरिएका गह्राहरु, त्यस बीचमा फालिएका बीउँका मुठाहरु जस्ताका तस्तै रहेको अनौठो दृष्य छन् ।
हिउँपर्ने बेला त्रिवेणी पाटनमा हिउचिप्लेटी (आइस स्केटिङ)को सम्भावना छ । यो क्षेत्र जैविक विविधतामा समेत अत्यधिक धनी मानिन्छ ।
सयौं प्रजातिका जडीबुटी यहाँ पाइने बन प्राविधिकहरु बताउँछन् । दूर्लभ बन्यजन्तुको बासस्थलसमेत बडीमालिका क्षेत्र हो ।
प्रतिक्रिया 4