+
+
Shares

छाउ नबार्नेलाई पुरस्कार, बार्नेलाई दण्ड !

रामहरी ओझा रामहरी ओझा
२०७६ साउन २८ गते १४:५३

२८ साउन, डोटी । डोटी पूर्वीचौकी गाउँपालिकाले छाउ नबार्ने महिलालाई पुरस्कार दिने व्यवस्था गरेको छ ।

गाउँपालिकाले पाँचौं गाउँसभाबाट छाउपडी प्रथा अन्त्य गर्ने उद्देश्यका साथ छाउ नबार्ने महिलालाई पुरस्कार दिने निर्णय गरेको पूर्वीचौकी गाउँपलिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए ।

अध्यक्ष बोगटीले भने, ‘हामीले गाउँपालिकामा छाउ नबारी घरभित्रै परिवारसँगै बस्ने महिलालाई प्रोत्साहन स्वरुप पाँच हजार पुरस्कार दिने नीति पारित गरेका छौँ ।’
छाउपडी प्रथा अन्त्य गर्नका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका उपाध्यक्ष निर्मला साउँद बताउँछिन् ।

‘हामी छाउपडी प्रथा अन्त्य गर्ने योजनामा छौँ, छाउपडी नबार्ने महिलालाई पुरस्कार स्वरुप पैसा दिनेछौं,’ सुदूरपश्चिम प्रदेशबाटै छाउपडी प्रथा अन्त्य गर्नु पर्ने बताउँदै निर्मलाले थपिन्, ‘सुरुआत हामी पूर्वीचौकी गाउँपालिकाबाटै गर्छौं ।’

समाजमा रहेको छाउपडीसँग सम्बन्धित धार्मिक विश्वास अन्त्य गर्नका लागि महिला सशक्त हुन पर्ने साfउँदले बताइन् ।

गाउँपालिकाले छाउपडी नबार्नेलाई पुरस्कार मात्र होइन बार्नेलाई दण्डको पनि व्यवस्था गरेको छ । ‘महिनावारी भएका बेला छाउ बार्नेलाई गाउँपालिकाबाट प्रदान हुने सेवा सुविधामा रोक लगाउने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकवहादुर खड्काले बताउ ।

‘व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षाभत्तालगायतका सेवा सुविधा पनि नदिने निर्णय भएकोछ,’ खड्काले भने, ‘छाउपडी प्रथाका कारण महिलाको ज्यान असुरक्षित हुने र कुसंस्कारले समेत निरन्तरता पाउने भएपछि गाउँपालिकाले छाउपडी अन्त्यका लागि कठोर निर्णय गरेको छ ।’

रातो र हरियो झण्डा

गाउँपालिकाले छाउगोठमा बस्नेको घरमा रातो र नबस्नेको घरमा हरियो झण्डा लगाउने नीति समेत अघि सारेको छ ।

गाउँपालिकाका अध्यक्ष बोगटीले भने, ‘अब हामी प्रत्येक घरमा झण्डा गाड्छौँ, जस्ाले समाजिकरुपमा तिरस्कार जस्तो हुन्छ । नैतिक दबाव पर्छ भन्ने हाम्रो विश्वास छ ।’

कार्यबिधि तयार गरेर तरुन्तै कार्यान्वयन गर्ने तयारी रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए । उनले भने ‘हामी गाउँपालिकालाई छाउपडी मुक्त बनाउनका प्रयासरत छौं ।’

करिब तीन सय छाउगोठ

पूर्वीचौकी गाउँपालिकामा करिब तीन सय छाउगोठ रहेको पूर्वीचौकी गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाका अध्यक्ष बोगटीले गाउँपालिकाका ७ वडामा तीन सयको हाराहारीमा छाउगोठ रहेको अनुमान गरे ।

गाउँपालिकाले छाउगोठहरुको तथ्याङ्क संकलन गर्ने तयारी गरिहेको समेत अध्यक्ष बोगटीले बताए । उनले भने, ‘अहिले कति गोठ प्रयोगमा छन, के कस्तो अबस्थामा छन भनेर झण्डा गाड्ने बेलामा एकिन तथ्याङ्क संकलन गछौँ ।’

डोटी जिल्लाको सबैभन्दा बढी छाउगोठ रहेको उक्त गाउँपालिकाले अब अभियानको रुपमा छाउपडीबिरुद्ध लाग्ने संकल्प गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?