
२८ साउन, रामेछाप । स्वयम्भू गोलीकाण्डसँग जोडिएका रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द खड्काको सो गाउँपालिकाको वडा नं ७ का वडाअध्यक्ष सुवास बोहरासँगको विवादको मुख्य कारण विद्युत लाइन विस्तारसँग जोडिएको देखिएको छ ।
सो गाउँपालिकाको वडा नं –१ दुरागाउँमा वितरण गरिएको विद्युत लाइनको काम नै विवादको मुख्य जड भएको सो वडाका वडाअध्ययक्ष मिङ्मर तामाङ बताउँछन् । तामाङले आफ्नो वडामा विस्तार गरिएको विद्युत लाइनको विवादले अहिलेको अवस्था सिर्जना भएको बताए ।
गएको आर्थिक वर्षमा वडा नं–१ दुरागाउँमा विद्युतीकरण गर्ने भनी गाउँकार्यपालिका बैठकले निर्णय गरेको थियो । सोही अनुसार उपभोक्ता समिति गठन गरी विद्युतीकरणको काम भएको वडाअध्यक्ष तामाङले बताए ।
तामाङले भने ‘यस वर्षको गाउँकार्यपालिका बैठकमा गाउँपालिका अध्यक्षले विद्युतीकरणको क्रममा १२ करोड ५ लाख रुपैयाँ खर्च भएको र गत साल विनियोजन गरेको रकममा ६ करोड ९५ लाख रुपैयाँ अपुग भएकोले फेहरिस्त पेस गर्नुभयो । कार्यपालिका सदस्य सुवास बोहरालगायत हामीले यसको सबै बिल भरपाई हेरी अनुगमन र मुल्याङ्कन गरेर भुक्तानी गर्न पर्ने रकम भुक्तानी गरौँ भनेर प्रस्ताव राख्यौँ । अध्यक्षज्यू मैले गरेको कामको अनुगमन मुल्याङ्कन गर्ने तिमीहरु को हौ भन्दै आक्रामक हुनु भयो । त्यो विवाद अहिले यहाँसम्म पुग्यो ।’
१२ करोड खर्च भएकै हो त ?
‘दुरागाउँको विद्युतीकरणमा १२ करोड खर्च भएकै हो त ?’ अहिले सबैले गर्ने प्रश्न हो यो ? वडाअध्यक्ष मिङ्मर तामाङ आफ्नो वडामा विद्युतीकरण भए पनि कति पैसा खर्च भयो भन्ने विषयमा अनभिज्ञ छन् ।
‘गाउँमा बत्ती चाहिँ सबै घरमा पुग्यो । तर कति खर्च भयो भन्ने मलाई थाहा छैन । किनकी यो काममा मसँग समन्वय भएको छैन । मैले कतिमा सामान खरिद भयो ? कति कहाँ खर्च भयो भन्ने हेर्न पाएको छैन । कार्यपालिका बैठकमा उठेको विषय नै यही त हो नि’, उनले भने ।
आफूलाई सबैले १२ करोड ५ लाख रुपैयाँ खर्च भयो त भनेर सोधे पनि त्यसको जवाफ दिन नसकेको उनी बताउँछन् । ‘१२ करोडमा गाउँमा छुट्टै विद्युत आयोजना नै सञ्चालन हुन्थ्यो भनेर सबैले भन्छन्, यसको जवाफ मसंग छैन’ उनले भने ।
१५ मध्ये १० सदस्यहरु एकातिर
गएको साउन १७ गते भएको गाउँ कार्यपालिका बैठकमा गाउँपालिका अध्यक्ष खड्काले विद्युतीकरणको थप रकम भुक्तानी दावी गरेपछि कार्यपालिका सदस्य एवं वडाअध्यक्ष सुवास बोहराले सो कामको छानविन र प्राविधिक प्रतिवेदनको आधारमा भुक्तानी गर्नुपर्ने राय राखेका थिए ।
उनको सो रायमा वहुमत सदस्यहरु र प्रमुख प्रशासकीय अधिकृत समेत सहमत भएपछि अध्यक्ष खड्काले आफूमाथि कुर्सी उचालेर आक्रमणको प्रयास गरेको बोहराको भनाइ छ ।
घटनापछि ७ वटा वडा रहेको सो गाउँपालिको उपाध्यक्ष र ६ वटा वडाका वडाअध्यक्षसहित १० जना कार्यपालिका सदस्य एकजुट भएका छन् । अध्यक्षले एकलौटी रुपमा निर्णय गरी कार्यपालिकालाई वाइपास गर्न खोजेकोले यसो गर्नुपरेको गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाल बताउँछिन् ।
घटनाले निम्त्याएको दुर्घटना
सो घटनापछि काठमाडौँ पुगेका अध्यक्ष खड्का एकदिन गाउँ आएर फेरि काठमाडौं फर्किएका थिए । त्यसपछि काठमाडौँको गएको शुक्रबार धम्क्याएर रकम असुली गरेको आरोपमा प्रहरीले स्वयम्भूमा गोली हानी लिखु तामाकोसी गाउँपालिका–७ का बाबुराम तामाङ र अमृत तामाङलाई पक्राउ गर्यो ।
उनीहरुले खड्कासँग पनि फोनमा धम्याएर रकम माग गरिरहेका थिए ।
वडाअध्यक्ष बोहराकै गाउँका उनीहरुले बोहराको योजना अनुसार आफूसँग रकम माग गरेको खड्काले आरोप लगाइरहेका छन् । तर प्रहरीले भने खड्काले दावी गरेजस्तो अभियुक्तले बोहराको नाम नलिएको जनाएको छ ।
उता वडाअध्यक्ष बोहरा भने खड्काले आफैले प्रयोग गरेका मानिसहरुले उनलाई दुःख दिएको बताउँछन् । उनी उपाध्यक्ष दीपशिखा दाहाल र आपूmलाई तह लगाउनको लागि अध्यक्षले विभिन्न मानिसहरुलाई प्रयोग गरेको दावी गर्छन् । सुरक्षाको हिसाबले समेत आफूलाई चुनौती भएको वडाअध्यक्ष बोहोरा बताउँछन् ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापमा विद्यूतीकरणका लागि जति रकम चाहिए पनि दिने बताइसकेका थिए । उनी आफैं रामेछापबासी भएकाले पनि रामेछापमा विद्युत प्रसारण लाइन बिस्तारमा गाउँपालिका वा स्थानीय तहले बजेट छुट्याउन नपर्ने उनले भनेका थिए ।
तर लिखु तामाकोशी गाउँपालिकामा भने केन्द्र सरकारको अनुदान बजेटबाट धमाधम विद्युतीकरण गरियो । घिसिङले गाउँपालिकाको बजेट विकास निर्माणका अन्य काममा लगाउन सुझाव नदिएका पनि होइनन् । तर गाउँपालिका अध्यक्षले आफैं सामान किनेर विद्युतीकरण गर्न अग्रसर हुँदा अनियमितताको शुरुवात भएको हो ।
अहिले यही कामको हिसाबकिताब माग्दा जनप्रतिनिधि र कर्मचारी भागभागको अवस्थामा पुगेका हुन् ।
-नवराज पथिकबाट
प्रतिक्रिया 4