Comments Add Comment

सम्झनामा भुटानी शरणार्थी : अमेरिकी केसी, नेपाली रेग्मी !

तीन हप्ताअघि भुटानी शरणार्थीसम्बन्धी लेखका विषयमा अमेरिकी नेपाली र भुटानीहरुबीच निकै ठूलो बहस भयो । यस्ता विषय उठ्नुपर्छ र उपयुक्त छैन भने आलोचना पनि हुनुपर्छ । यसलाई मैले स्वाभाविक ठान्दै यसको अर्को पाटो पनि यहाँ प्रस्तुत गरेको छु ।

अमेरिकामा जतिबेला भुटानी शरणार्थीको संख्या बाक्लिँदै गए, त्यसपछि मेरो काम पातलिँदै गयो । अगाडि आउने आफन्त वा चिनजानका मान्छे र आगन्तुकले नै पछाडि आउनेलाई सहयोग गर्नसक्ने भएपछि मेरो सहयोग आवश्यक परेन । मेरो आवत-जावत कम भयो । अझ त्यतिबेला मेरो ल्यापटप थिएन । तर, नेपालबाट नै आउने शरणार्थीले ल्यापटप बोकेर आउन थालेपछि म निरर्थक नै भएँ । भाषाको समस्या उनीहरुलाई परेन ।

दार्जीलिङ्ग, खर्साङ र गान्तोङमा पढेका युवाहरु नै ओइरिन थालेका थिए, त्यस्तै हरिद्वार, बनारस, कासी पढेर आउने विद्धान पण्डितहरु पनि बाक्लै थिए ।

भुटानीहरुसँग मेरो व्यक्तिगत सम्बन्ध पातलिदैँ गए पनि नीतिगतरुपमा सम्बन्ध मजबुत बन्दै थियो । वृहतरुपमा उनीहरुलाई रोजगारी कसरी दिलाउने, अंग्रेजी भाषाको लागि स्थानीय अधिकारीसँग सम्पर्क गराउने साथै औषधी, डाक्टर, फुड स्ट्याम्पबारे जानकारी गराउनु थियो ।

सबैभन्दा महत्वपूर्ण कुरा थियो, अनाथ रोगी र वृद्धाहरुका लागि अस्पतालमा सम्पर्क गराउनु । त्यसैको लाभस्वरुप धेरै शरणार्थीले आफ्नो पुरानो रोग तथा व्यथाहरु निर्मूल गर्ने मौका पाएका थिए ।

एउटा अविस्मरणीय घटना यो छ-

एकजना महिलाले आफ्नो घाँटीमा झुण्डिएको डल्लो (गलगाँड) नेपालबाट नै ल्याएकी थिइन् । लाजले नै होला, त्यस्तो गर्मीमा पनि घाँटी कपडाले बाँधेकी हुन्थिन् । एकपल्ट मैले देखिहालेँ उनी लजाइन् ।

नगेन्द्र न्यौपाने

‘नलजाउनुस् । बरु यसलाई निकाल्नुहोस् ।”

उनी अन्कनाउँदै बोलिन्, ‘लच्छिनको हो भन्छन्, फेरि अलच्छिन लाग्ने हो कि ? यही डल्लोले अमेरिकासम्म ल्यायो ।”

नेपालमा लच्छिनको चिनो बनेर बसेको डल्लो अमेरिकामा चिरेर फ्याँक्न सफल भइयो । त्यति सुन्दर अनुहार अनि मिलेको घाँटीमा झुण्डिएको डल्लो निकालेपछि उनको खुशीको सीमा रहेन । कुरुप बनाउने डल्लो निकालेपछि आफ्नो अनुहार ती महिलाले चिन्दै चिनिनन् । उनी लाजले भुतुक्क भइन् । अझ बिना शुल्क । झन् उनको खुशी थियो खुराकका लागि भनेर उनले पाएको नगद सहयोग । यी सबै हाम्रै तारतम्य र खोजीनीतिबाट भएको थियो । यसमा हामी गौरवान्वित थियौं, हामीभन्दा उनी ।

त्यतिबेलासम्म पिटर जागिर छोडेर गइसकेका थिए भने पिटरको ठाउँमा केसी थरकी महिला आएकी थिइन् । ३०/३१ वर्षकी हँसिली, गोरी युवती । उनीसँग इमेलमा धेरै नै कुराहरु भए । छलफल भए । तर, कहिल्यै भेट हुन सकेको थिएन । एकदिन उनीसँग भेट भयो । तर, त्यो भेट सदाका लागि स्मरणीय रह्यो ।

उनले मलाई भेट्ने ईच्छा व्यक्त गरेर एउटा इमेल पठाइन् । इमेल पाएपछि मैले सोधेँ, ‘हाम्रो नेपाली समाजमा थुप्रै अरु सिनियर दाजुहरु हुनुहुन्छ । अनुभवी, पढेलेखेका विद्धानहरु पनि हुनुहुन्छ । उहाँहरुले भुटानी शरणार्थीको स्थानान्तरणका लागि सहयोग गर्नुभएको छ । उहाँहरुलाई पनि समावेश गराऊँ कि म मात्र आउँ ?”

उनले छोटो उत्तर फर्काइन्, ‘तपाई मात्र ।”

मैले मेरो घर नजिकको हिन्दु मन्दिरमा भेट गर्न ठेगाना र समय दिएँ । हिन्दु मन्दिर नै दिनुको कारण थियो हिन्दु मन्दिरले हामीलाई गरेको सहयोग । भुटानीका लागि भने लत्ताकपडा, फर्निचर, भाडावर्तन त्यही हिन्दु मन्दिरमा थुपारिएको थियो । साथसाथै थुप्रै भारतीले नगद नै सहयोग गरेका थिए ।

मैले उनलाई दिएको समयभन्दा केहीबेर अगाडि नै म पुगेँ । वास्तवमा उनी पनि अगाडि नै भइछन् । हामी सँगसँगै भयौँ ।

हिन्दु मन्दिरको विशाल हल, अनि दिउँसो समयको सुनसान वातावरण । हामी दुईजना भयांै । हिन्दु मन्दिरमा पण्डितबाहेक कोही थिएन ।

हामीहरुलाई चिनजान गर्न अप्ठ्यारो परेन । हामीले एकअर्कालाई चिनिहाल्यौँ । उनी टाढैबाट हँसिलो हुदैँ आइन् र हात मिलाइन् अनि आफ्नो नाम बताइन्- म…… केसी (Cassie)

मैले आफ्नो नाम बताए अनि अनौठो मान्दै सोधीहालेँ

“कासी कि केसी ?”

उनले सहजै उत्तर दिइन “केसी”

“अहो अहिलेसम्म मैले त कासी नै भनेको थिएँ । केसी पो रहेछ । तर, उच्चारणले त कासीजस्तो आउँछ त Cassie.

“उच्चारण त्यस्तो देखिए पनि केसी नै भनिन्छ ।”

“अब केसी नै भन्नपर्ला ।”

उनी खिस्स हाँसिन् मात्र । केही बोलिनन् । मैले फेरि त्यसैमा अर्को प्रसंग जोडेँ “तिम्रो थर भएकाहरु नेपालमा प्रशस्त छन् । नेपाली जनजिब्रोले तिम्रो थर सजिलै सँग सम्झन सक्छ ।”

“हो र ? के म उनीहरुलाई भेट्न सक्छु ?”

“यदि कोही अमेरिकामा फेला परे भने म भेट गराइदिउँला, नत्र नेपाल नै जानुपर्छ ।”

उनी खिस्स हाँसिन् र बोलिन् “अहिले नेपाल जान सम्भव छैन । मसँग फुर्सद छैन तर, कुनै दिन जान्छु ।”

हाम्रो त्यहाँ धेरैबेर नै छलफल भयो । छलफल त भयो । तर, त्यो छलफलमा न केसीले भन्न खोजेको कुरो भन्न सकिन्, न मैले सोध्न नै । हामी सतही गफमा मात्र अल्मलियौँ । घरिघरि उनी कुरो खोल्न कोसिस गर्थिन् । फेरि बीचमा नै उनको आँट हराउँथ्यो । त्यस्तै वार्ता र छलफल पिटरसँग पनि कहाँ नभएको हो र ? उसँग भेट नभएको हो र ।

तर, पिटर र केसीमा फरक थियो । पिटर शुद्ध जागिरे थिए, त्यो पनि अस्थायी अनि पार्टटाइम । तर, केसी जागिरेभन्दा केहीमाथि नै उठेकी थिइन् । उनको आँखा जागिरमा मात्र नभई अमेरिकामा भित्रिएका शरणार्थीको मनस्थिति अध्ययन गर्नु थियो । अनि विभिन्न प्रकारका अनुसन्धान पनि । केही महिनापछि थाहा पाएँ कि सबैभन्दा उनको महत्वपूर्ण जिम्मेवार नयाँ भित्रिएका शरणार्थीको धार्मिक आस्थाबारे खोजतलास गर्नु रहेछ ।

हुन त संयोग त्यस्तै परेको हुनसक्छ, तर हिन्दु मन्दिरमा भएको केसीसँगको छलफलपछि शरणार्थीसँग मेरो आवत-जावत बन्दै भयो । मलाई के थाहा कि विश्वासको वातावरणमा त्यस्तो कालो बादल लाग्छ भन्ने । नत्र म किन हिन्दु मन्दिरमा नै उनलाई बोलाउँथे ।

हुन त केही महिना पहिले नै केसीले मसँग फोनमा नै सामान्य जानकारी लिइसकेकी थिइन् । उनले मलाई सोधेकी थिइन्- “भुटानबाट खेदिएकाहरु सबै नेपाली नै हुन् ?”
मैले उत्तर दिएँ “हुन् । सबै नेपाली नै हुन् ।”

“तिनीहरु सबै हिन्दु नै हुन् हगि ।”

“हुन् ।”

“त्यहाँ त क्रिश्चियन पनि छन् भन्ने सुनेकी थिएँ ।”

“खै त्यो त थाहा भएन । होलान् ।”

हिन्दु मन्दिरमा भएको छलफलपछि म अर्को मिटिङमा गएँ । यो मिटिङ पहिलाको भन्दा पृथक धारको थियो । साँझ सात बजेदेखि सुरु भएको मिटिङमा हामी २०/२५ जना थियौँ । अलि पाको उमेर, भलाद्मी स्वरुप अनि सभ्य भाषा । टाई, सुट । लाग्थ्यो, मिटिङ निकै गहकिलो छ ।

मैले पढेको विश्वविद्यालयका प्रोफेसर पनि त्यहाँ देखा परे । उनले चिने वा चिनेनन्, तर उनलाई मैले चिनें । उनीसँग मेरो क्लास नभए पनि उनी त्यही विभागका प्रोफेसर थिए । सधंैजसो उनी अफिसमा नै देखिन्थे । केहीबेर पछि लुथरनका प्रतिनिधि देखा परे । केही बुज्रुकजस्तो देखिने पुरै तालु खुइलिएका अनि फुर्तिला । छलफल उनीबाटै सुरु भयो । उनको बोल्ने ढङ्ग अनौठो प्रकारको थियो । सायद समयको अभावले नै हुन सक्छ । कुनै सम्बोधन नगरी औपचारिक चिनजान नै नगरी विषयवस्तु प्रवेश गरिहाले ।

“हामीले दिएका मात्रै छ्रैनौं, पाएका पनि छाैं । त्यत्रा शरणार्थी हाम्रो देशमा भित्रिएका छन् । ती भित्रिनु भनेको हामी धनी हुनु हो । हाम्रो जनसङ्ख्या बढ्नु हो । हाम्रो समाज बलियो हुनु हो । त्यसकारण यो अवस्थामा हामी निकै चनाखो हुनुपर्छ । तिनीहरुको विश्वास जित्नुपर्छ । हाम्रो नजिक ल्याउनुपर्छ । कुनै पनि काम तत्कालै गर्न सकियो भने.. ।”

सायद लुथरनका प्रतिनिधिले अझै केही थप्दै थिए होलान् । तर, केसीले बीचैमा रोकिन् र आफू बोल्न थालिन् ।

“यो सार्वजनिक छलफलमा विभिन्न समूहका व्यक्तिहरु पनि हुनुहुन्छ । सबै व्यक्तिलाई सबै विषयमा जानकारी आवश्यक नपर्न पनि सक्छ । त्यसकारण हामी त्यति गहिरिएर नजाऔँ । आजको छलफलको विषयवस्तु त्यसलाई नबुझी बरु शरणार्थीको खाद्यान्न, सरसफाई तथा सुरक्षतिर जानु उपयुक्त होला ।”

कोठा चकमन्न भयो । सबैले पुलुक-पुलुक आफू-आफूतिर हेरे । तर, कसैले प्रतिक्रिया दिएनन् । केहीबेरपछि मिटिङ सकियो । त्यो दिनदेखि त्यस्तो छलफलमा म जादैँ गइनँ । तर, व्यक्तिगतरुपमा नै भुटानी दाइभाइसँग सम्पर्कमै रहेँ ।

केही दिनपछि मलाई रेग्मी परिवारबाट फोन आयो ।

त्यो रेग्मी परिवारलाई मैले नै व्यवस्थित गरिदिएको थिएँ । उनका भाँडावर्तन र फर्निचर मेरै गाडीमा ओसारिदिएको थिए । सुरुका दिनमा त्यो परिवारसँग मेरो निकै आवत-जावत थियो तर, छोराछोरी नेपालबाट आएपछि म आफैं टाढिएको थिएँ । किनकि उनका छोराछोरी नै चल्तापूर्जा थिए । दार्जीलिङ्गको अंग्रेजी स्कुलमा पढेका, उनीहरुको अंग्रेजी मेरोभन्दा राम्रो थियो । उनीहरुलाई मेरो आवश्यकता थिएन ।

तर, उनले फोन गरेको भोलिपल्ट म उनको डेरामा पुगें । रेग्मीले सुरुमा नै आक्रोश व्यक्त गर्दै कुराको थालनी गरे ।

“लौन बाबु । त्यो राजनलाई मेरो डेरामा नआउन भनिदिनुहोस् न ।”

मेरो शंका भर्खर नेपालबाट आएकी उनकी छोरीतिर गयो । मनमनै सोचेँ, कतै राजनले छोरीतिर आँखा त लगाएनन् ?

“किन, के गरे र राजनले ?” मैले सोधेँ ।

“कहिले पानीमा चोबलिने हो ? कहिले बाइबल समात्ने हो ? भनेर हैरान गरेको छ । बुढेसकालमा केको पानीमा चोबलिनु । केको बाइबल समात्नु ?”

मलाई कताकता दिक्क लाग्यो अनि राजनजीको भ्रष्ट बुद्धितिर पछुतो पनि । कमसे कम कलिलो दिमागलाई पो समात्न पर्ने । किशोर किशोरीलाई पो लोभ देखाउनुपर्ने, बुढो दिमागलाई बदल्न खोजेर के काम ?

अझ रेग्मी परिवारले नेपालबाट नै रुद्राक्षको माला ल्याएका थिए । गीता र रामायणको श्लोक धेरै आउँथ्यो । उनको धार्मिक आस्था थाहा पाउँदा पाउँदै पनि मैले सोधिहालेँ ।
‘केका आधारमा पानीमा चोबलिने भने त । कि तपाईहरुले पनि केही संकेत दिनुभएको थियो ?”

“केको संकेत दिनु ! तर, बस नै लिएर आएपछि नजानु हुन्छ ?” उनले मलाई प्रश्न गरे ।

“प्रत्येक आइतबार बिहान बस नै लिएर आउँथे । हामी सबैजना एउटै बसमा जान्थ्यौँ । अंग्रेजी पढेपछि बाइबल पनि पढ्यौँ ।”

उनले फेरि मलाई नै प्रश्न गरे -“बाइबल पढाउन थालेपछि पढ्दिनँ भनेर कक्षाबाट निस्कनु ?”

नेपाली मूलका व्यक्ति थिए राजन । त्यही हाँगो समातेर उनको अमेरिकाको बाटो तय भएको थियो । राजनजी रेग्मी परिवारको सम्पर्क आउन थालेको मलाई पहिल्यै थाहा थियो । उनी त्यो परिवारमा आउने, जाने गरेपछि म ढुक्क थिए । किनकि मैले रेग्मी परिवारलाई गर्नुपर्ने सहयोग उनैले गर्न थालेका थिए । चर्चमा लगेर अंग्रेजी पढाउनदेखि सामान्य किनमेल समेत उनैले गर्दै आएका थिए । तर, एकातिरको शिकार अर्कोतिर निशाना पो पारेछन् राजनजीले ।

केही दिनपछि मैले राजनजीलाई फोन गरंे । तर, न उनलाई मैले थर्काउने अधिकार थियो, न हप्काउने नै । मैले त केवल रेग्मी परिवारको बाध्यता बताउनुथियो । म त संदेशवाहक मात्र थिएँ । तर, राजनजीलाई मेरो फोन आउँछ भन्ने पूर्वजानकारी नै रहेछ । त्यसकारण उनी पूर्वतयारीमा थिए । उनले मेरो फोनको उत्तर दिइहाले ।

“तपाईको फोनको आशय थाहा पाइसकेँ । म कसैको ईच्छाविपरीत केही गर्न चाहन्न । बलजफ्ती गर्ने हाम्रो उद्देश्य होइन । केवल हामीले अनुरोध गर्ने हो, हाम्रो अनुरोध मान्नैपर्छ भन्ने छैन । त्यसकारण तपाई ढुक्क हुनुहोला । रेग्मी परिवार पनि ढुक्क हुनुहोला ।”

राजनजीको फोन आएपछि रेग्मी परिवार ढुक्क देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment