Comments Add Comment

अमेरिकामा भुटानी शरणार्थीलाई भेट्दा !

Photo Credit : पथरी–शनिश्चरेमा अवस्थित भुटानी शरणार्थीको सुनसान शिविर

करिब एक लाखको हाराहारीमा भुटानी शरणार्थीहरु नेपालको पूर्वी भागमा अलपत्र परेको धेरै भएको थियो । उनीहरु नब्बे दशकको सुरुदेखि नै आफ्नो देशबाट लखेटिएका थिए । नेपाल, भुटान र भारतबीच त्रिपक्षिय छलफल भयो । निकै वार्ता चल्यो तर टुंगो लाग्न सकेन । भुटान फिर्ता लिन नमान्ने, भारत दबाब नदिने, नेपालसँग क्षमता नहुने । धेरैवर्ष नै उनीहरुले कष्टकर जीवन बिताए । अन्त्यमा, अन्तराष्ट्रिय स्तरबाट समाधान निस्कियो । विश्वका विभिन्न धनी मुलुकहरुले शरण दिने भए । तीमध्ये साठी हजार भुटानी शरणार्थी अमेरिका आउने भए ।

उनीहरु भुटानी भए पनि नेपाली भाषा नै बोल्ने र उनीहरुको पुर्वज पनि नेपालबाटै गएका हुनाले अमेरिका सरकारको आँखामा उनीहरु नेपाली नै थिए । जब भुटानी शरणार्थीहरु अमेरिका आउने हल्ला चल्दै थियो त्यतिबेला अमेरिकी सरकारले अमेरिकामा भएका नेपालीको खोजी गर्न थाल्यो– दोभाषेको सहयोगको लागि । तर अमेरिकी सरकारले सोझै हामीसँग सम्पर्क गरेन । अमेरिकी सरकारले भुटानी शरणार्थीलाई व्यवस्था गर्ने जिम्मा लुथरन चर्चलाई दिएको रहेछ । लुथरन चर्चका एकजना कर्मचारी पिटर वलभन्ज मेरो सम्पर्कमा आए । त्यतिबेला स्थानिय नेपालीको संस्थाको अध्यक्ष म नै थिएँ ।

म र पिटर भएर नै त्यो कामको जिम्मा लियौँ । पिटर अर्पाटमेन्टको चाँजोपाँजो मिलाउँथे अनि मसँग एयरपोर्टसम्म आउँथे । म चाँही एयरपोर्टबाट अर्पाटमेन्ट लैजाने र दोभाषेको काम गर्थे । अनौठो त यो थियो कि ! पिटरले लुथरन चर्चबाट तलब पाउँथे, म भने स्वयंसेवक ।

हुन त, लथुरन चर्चका हाकिमले मलाई भनेका थिए, ‘सुरुका पाँच, छ परिवारलाई व्यवस्थित गर्न सकियो भने पछिपछि आउनेलाई पुरानोबाट सहयोग लिन सकिन्छ । कलेज पढ्दै गरेका पनि आउँदैछन् । त्यस्तालाई के सहयोगको आवश्यक पर्ला र ! म तपाईलाई धेरै दिन दुख दिन्नँ ।’

पिटरलाई पनि कहाँ नेपाली बोल्न नआउने हो र ? उनी पनि जानीनजानी दुई चार शब्द नेपाली बोल्थे । त्यही प्याट्टपुट्ट नेपाली बोलेको आधारमा नै उनको त्यो जागिर तय भएको थियो । दुर्ई वर्ष दार्जिलिङ्ग बसेको र नेपालीसँग घुलमिल गरेको भएर नै लुथरन चर्चले उनलाई पत्याएको रहेछ । तर उनको जागिर पनि अस्थायी प्रकृतिको थियो । तलबसँग पनि उनको खासै चित्त बुझेको थिएन । त्यहीँ भएर होला उनी जागिरलाई भन्दा गुनासोलाई बढी महत्व दिन्थे । उनीसँग काम गरुन्जेल मैले उनीबाट गुनासोहरुभन्दा अरु केही सुनिनँ । यति थोरै तलब, अनि यति असजिलो काम ।

हुन पनि उनको काम असजिलो नै थियो । जहाज कहिले रातको बाह्र बजे आउँथ्यो त कहिले बिहानको छ बजे । जहाज जति बेला आए पनि एयरपोर्ट पुग्नैपर्ने । अझ भर्खर अमेरिका पसेका अनविज्ञ र अशिक्षित शरणार्थीहरु ।

अमेरिका आएकै दिन एकजना शरणार्थीले धारा खोल्न नजानेर धाराको टुटी नै भाचिदिएछन् । ट्वाइलेट बिगारी दिएको गुनासो त कति कति ! अझ त्यतिबेला नेपालबाट मात्र कहाँ हो र ! ईरान, कङ्गो र बर्माबाट आउने शरणार्थीको काम पनि उनैको जिम्मामा थियो । पछि थाहा पाए, उनले त्यो जागिर छाडिदिए ।

एक–एक हप्ताको अन्तरालमा तीनवटा परिवार व्यवस्थित गरियो । पहिलो परिवार–राई परिवार, दोस्रो परिवार सुवेदी परिवार, तेस्रोे वाग्ले । अब पालो थियो खतिवडा परिवारको ।केही दिन अगाडि नै मलाई जानकारी आएको थियो, चार जनाको खतिवडा परिवार आउँदैछ । नाम हेरेँ–श्रीमान् खतिवडा, श्रीमती खतिवडा, १२ वर्षको बालक र ८ वर्षकी बालिका ।

अघिल्लोपटक जस्तो हामीहरु दुबैजना पिटर र म समयमा नै आरडियु भनिने दुर्माम हवाइअड्डा पुग्यौँ । भित्ताको स्क्रिनले देखाइरहेको थियो– न्युयोर्कबाट आइडियु आउने अमेरिकन एयरलाइन्सको जहाज मैदानमा बसिसक्यो । उनीहरु त्यहीँ जहाजमा आएका थिए । हामी आगमन ढोका मुखैमा उभिइरह्यौँ । हामीहरुका आँखाहरु सुरुदेखि उनीहरुको बाटोमा परिरह्यो । तर, उनीहरु देखा परेनन् । सबै यात्रुहरु निख्रिसके, तर पनि खतिवडा परिवारको नाम निसाना पाउन सकिएन । मैले पिटरतिर हेरेर सोधेँ, ‘पक्कै यहीँ प्लेनमा त हो पिटर ? खै उनीहरु देखा परेनन् त ?’

नगेन्द्र न्यौपाने

मेरो प्रश्न सुन्नेबित्तिकै पिटर आफ्नो गोजीबाट कागज निकालेर भित्ताको स्क्रिनसँग फ्लाईट नम्बर भिडाउँदै थिए– त्यहीँबेला हस्याङ्गफस्याङ्ग गर्दै, पल्याकपुलुक हेर्दै एकजना व्यक्ति आएको मैले परैबाट देखेँ । उनी आगमनको लामो बाटो पार गर्दै आउँदै थिए । उनको साथमा एउटा बालक पनि आउँदै थियो । बाहुला खुम्च्याएको कमेज, कालो पाइन्ट अनि टाउकोमा टोपीले मैले चिनिहालेँ । पक्कै यिनी खतिवडा नै हुन् । मेरो नजिक आएपछि मैले च्याप्प पाखुरामा समातेर सोधीहालेँ ।

‘तपाई नेपालबाट आउनुभएको हो ?’

उनी टक्क रोकिए, अनि मेरो उत्तर पिटर दिइहाले, ‘हो ! हो ! नेपालबाट ।’

‘तपाईको नाम… खतिवडा होइन ? फेरि मैले सोधेँ ।

‘हो ! हो ! म… खतिवडा हुँ ।’

‘ल ! म तपाईलाई लिन आएको हुँ । मसँग जाने हो । यता उभिनुहोस् । तपाईको चार जनाको परिवार थियो । खै अरु ?’

उभिएको बालकलाई संकेत गर्दै सोधेँ, ‘तपाई र छोरा मात्र हो र ?’

उनले चनाखो भएर उत्तर दिए, ‘अरु पनि छन् ।’

‘खै त अरु?’

‘उनीहरुभित्र छन् । श्रीमती र छोरी भित्र छन् । म र छोरो मात्र बाहिर आएको ।’

‘कहाँ भित्र ? भित्र के गर्दैछन् ? अरु पनि छन् ? को.सँग ?’ मलाई चिन्ता लाग्यो ।

‘यहीँ एयरपोर्टभित्र नै हो । एक्लै छन् ।’

‘किन सँगै नल्याउनुभएको त ?’

उनले केही अड्की अड्की बोल्दै गए, ‘नयाँ ठाउँ ! हामीलाई कोही लिन आएको छ कि छैन । म बाहिर गएर पत्ता लगाएर आउँछु । तिमीहरु यहीँ बस्दै गर्नु भनेर छोरी र श्रीमतीलाई भित्र छोडेर आएको । उनीहरु भित्र मलाई पर्खेर बसेका छन् । अहिले म र छोरो मात्र बाहिर आएको ।’

‘अहो ! बर्वाद भयो । सँगै लिएर आउनुपर्ने ।’ भनेको मात्र थिएँ

त्यहीँ हो भन्दै फटाफट उनी हिडिहाले । तर केही पर पुगेका थिए, सुरक्षा गार्डले रोकिईहाल्यो । आगमनको बाटोबाट भित्र पस्न कहाँ पाईन्थ्यो र ? अझ अगुल्टोबाट तर्सिएको कुकुर बिजुली चम्कदाँ पनि भाग्छ भनेको जस्तो । न्युयोर्कको टुईन टावर विष्फोटन भएपछि अमेरिकी सरकारको आँखामा जो यात्रु पनि आतङ्ककारी नै थिए । सुरक्षा कडा थियो । त्यस्तो अवस्थामा उल्टो भर्‍याङ्ग दगुर्न थालेपछि के गति होला ?

म कुदेर उनको पछि पछि गएँ र सम्पुर्ण बेली विस्तार लगाएँ । मेरो कुरा सुनेर सुरक्षा गार्डले पुलुक्क खतिवडाजीतिर हेर्‍याे अनि अनौठो मान्दै बोले ।

‘यस्तो अप्ठ्यारो गल्ती पनि गर्न हुन्छ ? यहाँबाट भित्र जान मिल्दैन, वाहिर आउने मात्रै हो ।’

अमेरिकामा मान्छे होइन, कागज बोल्नुपर्छ । भनसुन र समस्या सुनाएर न्याय पाउँने ठाउँ नै होइन, प्रमाण देखाउन पर्छ । अमेरिकाले व्यवहारिक समस्या बुझ्दैन ।

‘अब के गर्ने त ? जसरी पनि श्रीमती खतिवडालाई बाहिर निकाल्नैपर्यो । कसरी बोलाउने ?’ मैले फेरि त्यहीँ कुरा सुरक्षा गार्डलाई दोहोर्याए ।

‘अफिसमा गएर कुरा गर्नुहोस् । भित्र जाने अनुमति पाईयो भने पनि यहाँबाट भित्र जाने होइन । भित्र जाने ऊ परको अर्को ढोका हो । त्यहाँ पनि सुरक्षा जाँच गरेपछि मात्र भित्र जान पाईन्छ ।’

‘ओहो ! कस्तो आपद् ! मेरा नस–नाडी सुकेँ। म आलसतालस परेँ । कता हो अफिस । कता सुरक्षा गार्ड । पिटर चुईक्क समेत बोल्न सकेनन् । हामीहरु खतिवडाका बाउ,छोरालाई पछि लगाउँदै अफिस पुग्यौँ । अफिसको कुर्चीमा महिला कर्मचारी थिइन् । जसरी सुरक्षा गार्डलाई खतिवडाले गरेको गल्ती सुनाएका थियौँ । त्यसैगरी ती महिलालाई पनि सुनायौँ ।

‘उहाँको श्रीमती र छोरी भित्र छन् । लिन जान पर्ने भयो । कसरी जाने होला ?’

तर उनले समस्याको गहिराई नै नबुझी, सतही रुपमा उत्तर दिईन्, ‘पासपोर्ट र जहाजको टिकटबिना भित्र पस्न पाईदैँन । कि तपाई यात्री हुनपर्यो कि यहाँको कर्मचारी ।’

कठिन अवस्थाले मान्छेलाई रुखो बनाउँछ । समस्याले मान्छेलाई कडा स्वभाव देखाउन बाध्य पार्छ । मलाई ती महिलाप्रति रुखो बन्न करै लाग्यो । कठोर बन्नै पर्यो । केही कडा स्वरले बोलेँ, ‘त्यसो भए उनीहरु भित्रै बस्ने ? कहिल्यै बाहिर आउन नपाउने ? कि नेपाल नै फर्कने ? जसरी हुन्छ बाहिर बोलाउन त पर्यो । तपाईहरुसँग केही उपाय त होला नि !’

उनले निर्धक्कसँग बोलिन्, ‘अर्को उपाय छ ।’

‘के उपाय ?’

‘तपाई‘पेज’ गरेर बोलाउनुहोस् । म तपाईलाई एयरपोर्टको पेजमा जोडिदिन्छु । तपाई आफ्नो भाषामा बोलेर उनलाई डाक्नुहोस् । तपाईको ‘पेज’ सुन्नेबित्तिकै उनी बाहिर आउँछिन् ।’

ती महिला कर्मचारीको भनाई मलाई ठिकै लाग्यो । श्रीमती खतिवडालाई आफ्नो नामै तोकेर बोलाएपछि कसो बाहिर नआउँलिन् त ? आफ्नो नामै सुनेपछि साहस आउनपर्ने हो । तर म अझै दोधारमा परेँ । पेज, फोन, एयरपोर्ट कहिल्यै नदेखेको, जहाज नै कहिल्यै नचढेको गाउँमा हुर्किएकी महिलाबाट त्यो सम्भव होला । म आफु नै पेजमा कसरी बोल्ने जानकारी थिएन । हुन त विगतमा पेजमा नबोलेको कहाँ हो र ? तर १०/१२ जना कर्मचारी भएको अफिसको पेजमा बोल्न र सार्वजनिक ठाउँमा बोल्नु अवश्य फरक हुन्छ । म धेरैबेर नै घोरिएँ । जवाफ दिन सकिनँ । ती कर्मचारीले फेरि मलाई सोधिन्, ‘पेज गर्ने हो ? फोनमा जोडीदिऊँ ?’

सबै कुरो आँटमा नै भर गर्छ । मैले आँट गरेँ र उनलाई उत्तर दिएँ, ‘हुन्छ । म पेज गरेर उनलाई बोलाउँछु । फोन मलाई दिनुहोस् ।’

मैले पेज गरेँ, ‘सरिता खतिवडा ! तपाईको श्रीमान् बाहिर आउनुभएको छ । तपाईलाई कुरेर बस्नुभएको छ । तपाई बाहिर आउनुहोस् । तपाईको लागि गाडी तयार छ । तुरुन्त छोरी लिएर बाहिर आउनुहोस् ।’

सारा एयरपोर्टभरी मेरो स्वर गुन्जियो । मैले नेपालीमा बोलेको शव्दहरु म आफैँलेसुनेँ । भित्ता–भित्तामा ठोक्कियो तर श्रीमती खतिवडाले सुनिन् वा सुनिनन् । वा सुनेर पनि त्यसलाई लिन सकिनन् । चार–पाँचपल्ट मैले पेज गरेँ । मेरो बोली एयरपोर्टको कुना–कुनामा पुग्यो । शौचालयसम्म सुनियो तर श्रीमती खतिवडाको आमाछोरीको अत्तोपत्तो लागेन । उनीहरु देखा परेनन् । आधा घण्टा कुर्दा पनि नाम–निसानै नभेटिएपछि हामी सबैले हार खायौँ । उनलाई लिन भित्र जानै पर्ने भयो ।

अब भित्र को जाने त ? हामीहरुबीच छलफल भयो । खतिवडाजीलाई पठाऊँ भने उनी आफैँ विचल्ली हालतमा छन् । तिनले कसरी भित्र पस्लान् र ? पिटरलाई पठाउँ, ‘ऊ आफैँलाई नेपाली वाक्य शुद्धसँग बोल्न आउँदैन । अझ न पिटरले श्रीमती खतिवडालाई चिनेका छन् न श्रीमती खतिवडाले पिटरलाई । तर पनि पिटरलाई मैले सोधेको मात्र थिएँ, उनले टाउको हल्लाए म जान सक्दिनँ भनेर ।

मैले पनि कहाँ श्रीमती खतिवडालाई चिनेको हुँ र ? कहाँ उनको र मेरो भेटघाट भएको थियो र ? तर म आफैलाई जान कर लाग्यो । मेरो त्यो दिनको सम्पुर्ण कामहरु उल्टा भए । खतिवडा परिवारलाई एयरपोर्टबाट अर्पाटमेन्टमा पुर्याएर अफिस जान्छु भनेर एक घण्टाको छुट्टी लिएको मान्छे म । म आफैँ एयरपोर्टभित्र पस्न कस्सिए । भित्र पस्न पनि कहाँ त्यति सजिलो थियो र ?

एयरपोर्टको सबैभन्दा ठुलो हाकिमको सहि नगरेसम्म र दश ठाउँमा सहि नगरेसम्म पास कार्ड नबन्ने । अझ आफ्नो परिचय पत्रको फोटोकपि समेत पेस गर्नपर्ने । अहो ! मान्छे किन च्याठिन्छन् ? किन टेबल ठटाउँछन् भनेको त यस्तो कारणले पो रहेछ । मैले बलै मेरो चिच्याहट रोकेँ । रिस दबाए । टेबल ठटाउने आँट आएन । बरु लामो लाइनलाई पार गरेर भित्र पसँे–श्रीमती खतिवडाका आमाछोरी खोज्न ।

रातो बुट्टे सारी, हल्का निलो ब्लाउज अनि पैतालामा झुण्डिएका चप्पल । श्रीमती खतिवडा अर्धचेतन अवस्थामा एउटा कुर्सीमा झोव्रिmई रहेकी थिइन् । सँगैको अर्को कुर्सीमा उनकी छोरी पुरै शरीर नै गुट्मुट्याएर निदाएकी थिइन् । मैले नजिकै गएर सबैभन्दा पहिला नमस्कार गरेँ । उनले पुलुक्क मतिर हेरिन्ँ ।

‘तपाई श्रीमती खतिवडा हो ?’ मैले सोधेँ ।

उनको मुखबाट जवाफ आएन । आँसु बरर्र खसे र सुक्क गर्दै रुन थालिन् । कठै बरा ! कतिबेला देखि उनले त्यो पीडा गुम्स्याएर राखेकी थिइ । कस्तो बाधा भयो होला ।

‘भो ! भो ! नरुनुहोस् । म तपाईलाई लिन आएको । उठ्नुहोस् । जाऔँ । खतिवडाजी बाहिर हुनुहुन्छ ।

म अघिअघि हिडेँ । उनी मेरो पछि–पछि छोरी डोर्याउँदै आइन् ।

उनको श्रीमान्ले गरेको गल्तीबाट पहिले म रिसाएको थिएँ । खतिवडाले आफ्नो श्रीमती र छोरीलाई एयरपोर्टभित्र अलपत्र छोड्नु उनको बहुलठ्ठीपन थियो । तर श्रीमती खतिवडासँग पनि मेरो गुनासो थियो । उनी त्यतिबेला तनावमा हुदाँहुँदै पनि मैले सोधीहालेँ, ‘तपाईले अघि पेज (माइक) मा बोलेको सुन्नुभएन ? मैले तपाईको नाम नै तोकेर बोलेको थिए त । नेपाली भाषामा ।‘

‘सुन्न त किन नसुन्नु ! सुनें नि ! तर के गर्नुं सुनेर ? कता हो भित्र ! कता हो बाहिर ! त्यो अन्धकारमा । कताको ढोका ! कताको भर्याङ्ग ! के सुरले आउने ?

उनको भनाई ठिकै लाग्यो । ठाउँ नौलो भएपछि सबै कुरा अन्धकार नै हुन्छ ।

बाहिर हाम्रो भेट पिटर र खतिवडाका बाउ–छोरासँग भयो । हामीहरु त्यहाँबाट सोझै अपार्टमेन्ट गयौँ ।

नेपालमा के हल्ला चलाइएको रहेछ कुन्नि ! कोठामा झोला बिसाउने बित्तिकै श्रीमान् खतिवडा टीभी. खोल्न पुगे । तर रिमोट कन्ट्रोलमा ब्याट्री थिएन वा टीभी प्रोग्राम मिलेको थिएन । टीभी चलेन । टीभी नचलेपछिमतिर कोप्रा आँखा पार्दै सोधेँ, ‘खै टीभी त चलेन त ! नयाँ टीभी दिन्छ भन्थे त ?

तर म केही बोलिन ।

टीभी नचलेपछि तुरुन्तै उनी भान्साकोठातिर गए । भान्साकोठाको चारैतिर छामछुम गरिसकेपछि उनले सोचेको जस्तो भाँडा देखेनन् । फेरि मतिर फर्कदै सोधे, ‘खै ! भात पकाउने भाँडो त देख्दिनँ । भात के मा पकाउने हो ?”

माग्नेलाई तातो भात भनेको जस्तो त्यो टीभी पनि कुन ठक्करले जोडीदिएको छ । त्यसको वास्तै छैन तर टीभी खोल्न हतार । कोठा भित्र छिर्न पाएको छैन । भात पकाउने भाँडोको हतार । उनको कमजोर बुद्धि, गरिब मानसिकता ।

मैले मनमनै सोचेँ– साँच्चै ! खतिवडाजीलाई नचाहिने ठाउँमा बाठो नै हुनपर्ने रहेछ । उनी उल्टो चतुर रहेछन् । सायद यस्तै उल्टो चतुर भएर होला– काग बढी बाठो भयो भने…….. भनेको जस्तो आफ्नो श्रीमती र छोरीलाई एयरपोर्टभित्र हरिबिजोक नै बनाए ।

उनका गुनासाहरु बढ्दै गए, चाहानाहरु थपिदैँ गए । कहिले पुर्व फर्किएको झ्याल, कहिले मैलो कार्पेट । मेरो उत्तर दिने सामथ्र्य रहेन । पिटरले खतिवडाका धेरै कुरा बुझेनन् तर जति बुझे त्यतिले उनको होस हवास उडिसकेको थियो ।

अन्त्यमा मैले वाग्ले परिवारलाई नै बोलाउनपर्ने भयो । अघिल्लो हप्ता मात्र वाग्ले परिवारलाई यसरी व्यवस्थित गरेका थियौँ । वाग्लेजीले सम्झाएपछि बल्ल खतिवडाजीको दिमाग ठण्डा भयो । उनी बोल्न छोडे ।

दिउँसो १२ बजेबाट सुरु भएको हाम्रो संघर्ष रातको आठ बजे मात्र सकियो । म घर पुग्दा रातको साढे आठ बजेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment