Comments Add Comment

जनउत्थान सहकारीले एक वर्षमा कमायो ६ करोड

८ भदौ, बुटवल । प्रदेश ५ मा चार हजार बढी सहकारी सञ्चालनमा छन् । यीमध्ये कैयौ सहकारी अस्तित्व बचाउन धौ–धौ भएर धमाधम मर्जर जाने प्रक्रियामा छन् । यी सहकारीहरूको भीडमा रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रगति भने सबैका लागि लोभलाग्दो र अनुकरणीय छ ।

बागलुङ जिल्लाबाट बसाइँ सरेर साविकको टिकुलीगढ गाविस ८ सुपौली रुपन्देहीमा आएका पाँचजना युवाहरुको अगुवाइमा ०५९ मा बागलुङ सामुदायिक संस्थाका नामबाट शुरु भएको सहकारीमा अहिले प्रदेश ५ का सहकारीमध्ये सबैभन्दा धेरै शेयर सदस्य आबद्ध छन् । ३१ जनाले एक–एक सय रुपैयाँ जम्मा गरेर एउटा टिनको बाकस, एउटा क्यालकुलेटर र चारवटा खाताबाट सुरु गरिएको सहकारीमा अहिले १५ हजार ५ सय ८६ जना शेयर सदस्य पुगेका छन् । जसमा करिब दुई तिहाइ अर्थात् १० हजार एक सय ९२ जना महिला शेयर सदस्यको बाहुल्यता छ ।

०६२ मा बचत तथा ऋणको कारोबार गर्ने उद्देश्यसहित दर्ता भएर कारोबार थालेको जनउत्थानले कुल पुँजी एक अर्ब ३१ करोड र शेयर पुुँजी १३ करोड पुर्‍याएको छ । ९९ करोड बचत संकलन गरेको संस्थाले चार हजार आठ सय १६ जना ऋणीलाई एक अर्ब ४ करोड कर्जा लगानी गरेको छ । शेयर सदस्य संख्या बढ्दै गएपछि सहकारीले भैरहवा, मंगलापुर र पश्चिम अमुवा गरी तीन स्थानमा सेवा केन्द्र विस्तार गरेर सेवा दिन थालेको छ । दैनिक सरदर दुई हजार दुई सय ५७ जना दैनिकी बचतकर्तासहित १९ हजार ९ सय ८५ जना बचतकर्ता सहकारीमा आबद्ध छन् । संस्थागत कोष १२ करोड ९६ लाख र कर्जा जोखिम कोष एक करोड २४ लाख पुर्‍याएको जनउत्थानले गत आर्थिक वर्षमा ६ करोड २३ लाख १३ हजार रुपैयाँ शुद्ध मुनाफा आर्जन गर्न सफल भएको छ ।

‘हाम्रो नाफा कैयौं विकास बैंक, फाइनान्स र लघु वित्तको भन्दा बढी हुन्छ’, सहकारीका व्यवस्थापक रनबहादुर थापाले भने, ‘कुशल नेतृत्व र सहकारीको सिद्धान्त, मर्म र भावना अनुसारका नीति, योजना बनाएर चलेका कारण निरन्तर प्रगतिको फड्को मार्दै आएका हौं ।’ ३२ जनालाई प्रत्यक्ष रोजगारी दिएको सहकारीले ०७४ मा नेपाल सरकारबाट डेढ लाख नगदसहित उत्कृष्ट सहकारी पुरस्कार, २०७३ मा उत्कृष्ट व्यवस्थापक पुरस्कार, २०७५ मा जिल्लामा सबैभन्दा बढी कर तिर्ने सहकारी संस्थाका रुपमा पुरस्कार पाएको छ । यस्तै पश्चिमाञ्चलको र जिल्लाको उत्कृष्ट सहकारीका रूपमा पनि पुरस्कृत भइसकेको छ । सहकारीले अन्तर्राष्ट्रिय गुणस्तर चिह्नन एक्सेस ब्रोन्ज ब्राण्ड र नेपाल गुणस्तर प्रोबेसन ब्राण्डसमेत पाएको छ ।

सदस्यहरूलाई बढीभन्दा बढी सहकारी शिक्षा दिँदै उत्पादनमूलक क्षेत्रमा कर्जा लगानीकेन्द्रित गरेकाले संस्थाले छोटो समयमा उल्लेख्य प्रगति गरेर फड्को मारेको अध्यक्ष ज्ञानु पौड्याल बताउँछिन् । ‘सहकारीका मूल्य मान्यतामा टेकेर भिजन, मिसन र लक्ष्य निर्धारण गरेर काम गरेकाले सफलता पाएका हौं’, अध्यक्ष पौड्यालले भनिन्, ‘सदस्यप्रतिको इमान्दारिता र आर्थिक अनुशासन हाम्रो सफलताको सूत्र हो ।’

पाँच वर्षमा पुँजी साढे ३ अर्ब र शेयर सदस्य ३५ हजार लक्ष्य

सहकारीले आगामी पाँच वर्ष (२०८१ साल) सम्म कुल पुुँजी तीन अर्ब ५१ करोड रुपैयाँ र शेयर सदस्य ३५ हजार जना पुर्‍याउने लक्ष्यसहित रणनीति बनाएको छ । तिलोत्तमा १५ कोटिहवामा दुई तले प्रधान कार्यालय भवन रहेको सहकारीले ०८१ सम्म भैरहवामा दुई कठ्ठा बढी जग्गामा पाँच तले अत्याधुनिक कार्यालय भवन बनाउने योजना बनाएको छ । भवन बनाउन जग्गा खरिद गरी डिजाइनसमेत गरिसकेृको व्यवस्थापक थापाले बताए ।

‘१२ करोड लागतमा पाँच तले अत्याधुनिक कार्यालय भवन बनाउने निर्णय भइसकेको छ’, थापाले भने, ‘नयाँ भवन बनेसँगै हामी सबै हिसाबले देशकै नमूना सहकारी बन्छौं ।’ २०८१ सालसम्म सहकारीले जगेडा कोष ४१ करोड ७० लाख पुर्‍याउने लक्ष्य लिएको छ ।

३० बिघा खेतमा सामूहिक कृषि

सहकारीले यो वर्षदेखि आफ्ना शेयर सदस्यहरुलाई कम्तीमा ३० बिघा खेतमा सामूहिक कृषि कार्यमा सहभागी गराउँदैछ । यसका लागि १५ लाख रुपैयाँ वजेट छुट्टाइएको छ । सामूहिक कृषिकार्यमा कम्तीमा २० जनाभन्दा बढी शेयर सदस्यहरु सहभागी हुन सक्नेछन् । उनीहरुले खाद्यान्न,तरकारी उत्पादन गर्नेछन् । उत्पादित खाद्यान्न र तरकारीको बजारीकरण र खरिदमा सहकारीले सहजीकरण गरिदिने व्यवस्थापक थापाले बताए ।

नौला र रचनात्मक काममा नमूना

धेरैजसो सहकारीहरु सदस्यबाट बचत संकलन र ऋण माग्नेलाई ऋण दिने काममै सीमित भएका हुन्छन् । वर्षमा एक दुई पटक रक्तदान, वृक्षरोपण र अध्ययन अवलोकन भ्रमण नै अधिकांश सहकारीका अतिरिक्त क्रियाकलापभित्र पर्दछन् । तर जनउत्थान सहकारी सामाजिक उत्तरदायित्व बहन गर्ने खालका थुप्रै नौला र रचनात्मक कामका कारण पनि लोकप्रिय छ । यसले शेयर सदस्यलाई सहकारी शिक्षा दिने कुरालाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । सहकारी शिक्षामा यो वर्ष १५ लाख रुपैयाँ बजेट छुट्टाएको जनउत्थानले हरेक वर्ष सामुदायिक विद्यालयहरूमा अक्षयकोष स्थापना, गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, अनाथ आश्रमलाई सहयोग, सरसफाइ, खेलाडीलाई सहयोग, प्राकृतिक प्रकोपमा सहयोग, स्वास्थ्य शिविर, लागू पदार्थविरुद्ध जनचेतना, युवा विकास अक्षयकोष, सहकारी सचेतना तीज गीत प्रतियोििगताजस्ता करिब डेढ दर्जन क्षेत्रमा वार्षिक झण्डै ५० लाख रुपैयाँ खर्च गर्दै आएको कोषाध्यक्ष सरु रानामगरले बताइन् ।

सहकारीले आफ्ना शेयर सदस्यका लागि पनि नौला र अनुकरणीय काम गर्दै आएको छ । सहकारीले जेष्ठ नागरिक तथा एकल पुरुष/महिलालाई तीर्थयात्रा, नयाँ बुहारीलाई स्वागत, सुत्केरीलाई भेटघाट र जनउत्थान कोसेली प्रदान, गर्भवतीलाई आमा र शिशुको स्वास्थ्य, पोषणबारे परामर्श, विद्युत् महसुल भुक्तानी, अस्पतालमा छुट, मोबाइलमा ब्यालेन्स रिचार्जजस्ता सेवा दिँदै आएको छ ।

प्रदेश ५ कि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल जनउत्थान सहकारीको कार्यशैली र प्रगति प्रदेश ५ का लागि मात्र नभई देशभरकै सहकारीले अनुशरण गर्न लायक रहेको बताउँछिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment