Comments Add Comment

कलेज हो कि प्रहरी चौकी ?

म कलेजमा हुँदाको कुरा। बिहान ६ बजे उठ्नु पर्ने एकदिन ६:४५ मा उठेछु। परीक्षा भएकाले रातभर पढेर बसेको थिएँ। एकरात पढेर परीक्षा दिने हुलमध्येको म पनि हुँ। मलाई त्यो जरुरी छ किनकि परीक्षामा मैले ल्याएको अङ्कले मेरो पढाइलाई निर्धारण गर्छ। मैले त्यसक्रममा अरू के के जानेँ, के के सिके भन्दा पनि परीक्षामा ल्याएको अङ्कले बढी मान्य राख्छ।

हाम्रो समाजले पनि ज्ञानभन्दा परीक्षामा ल्याएको नतिजालाई बढी मान्यता दिने गर्छ। परीक्षाको लागि ढिलो भएकाले हतार हतार सर्ट, पेन्ट र आफ्नो प्यारो चप्पल लगाएर म दगुर्दै नेपाल यातायातको ढोकामा पुगे। कलेजहरू लाग्ने समय भएकाले बिहान नेपाल यातायात यात्रुहरूले खचाखच थियो, बल्लतल्ल बसको डन्डीमा समातेर उभिए।

परीक्षा दिन ढिलो भएकाले म हतार हतार परीक्षा हल तर्फ लम्किँदै थिए, एक्कासि पछाडिबाट “ए चप्पल लाउने भाइ” भनेर आवाज आयो। प्रकाशको गतिमा दगुर्दै गरेको म रोकिएर पुर्लुक्क पछाडि हेरे, कलेजका प्रिन्सिपल हिटलर जसरी उभिएका थिए। उनको पहिलो प्रश्न “किन चप्पल लगाएको?”, ढिलो भएर, वर्षाको मौसम छ जस्ता दिमागमा उत्पत्ति भएका अनेकौँ बिचारहरू समेटेर भरिसके बहाना बनाउने प्रयास गरे।

तर, ६०-७० वर्षका बुढा प्रोफेसरलाई मैले सम्झाउन सकिन। मेरो हरेक कुरा पछिको उनको एउटै जवाफ थियो जुत्ता लाएर आउने अनि मात्र परीक्षा दिन पाइन्छ। रिसले रन्थनिएको म अब कसरी घर जाने भनेर सोचमग्न भएँ ।

बाइक भएको कोही भेटिए त घर जान हुने थियो भनेर चौतर्फी नजर घुमाउन थाले। त्यतिकैमा एक जना असाध्यै मिल्ने प्रिय गुरुसँग भेट भयो, उनले अर्को बाटो हुँदै परीक्षा हलमा जाने जुक्ति बताए। म परीक्षा हलमा त पुगे तर त्यसबखत मेरो मन परीक्षाभन्दा बढी चप्पलमा केन्द्रित थियो। परीक्षा हलमै आएर प्रिन्सिपलले गाली पो गर्ने हुन् की भनेर मनको बागले पिरोलिरहेको थियो।

चप्पल वा जुत्ता जुन लगाएर हिँड्न सहज हुन्छ त्यो लगाउन पाउनु त मान्छेको स्वतन्त्रता हो। मलाई जुत्ताभन्दा चप्पल लगाउन सजिलो लाग्छ । त्यसैले कलेज, सेमिनार, बजार, मिटिङ लगायत जहाँ जाँदा पनि अक्सर जुत्ताको सट्टा चप्पल लाएर पुग्ने गर्छु। यसको मतलब मसँग जुत्ता नभएको भने होइन, ब्रान्डेड जुत्ता नभए पनि कम दाम पर्ने नेपाली ब्रान्डका एक दुई जोर जुत्ता पनि छन्। जुत्ताको तुलनामा चप्पल लगाउन पनि सजिलो छ। धुनु पनि नपर्ने, समयको बचत साथै चप्पल खोलेर भुइँमा थचक्क बस्न सकिने भएकाले म अक्सर जुत्ता भन्दा चप्पललाई विशेष प्राथमिकता दिने गर्छु।

कलेजमा प्रिन्सिपलले गरेका व्यवहारले केही दिनसम्म पिरोलिरह्यो। प्रोफेसर जस्तो मान्छेले विद्यार्थीलाई चप्पलको आदरमा अरू विद्यार्थीसँग तुलना गरेको देख्दा, एक क्षण त उनको शिक्षा माथि शङ्का लागेर आयो। मेरो बिचारमा विद्यार्थीले लाउने बाहिरी आवरणसँग उसको अनुशासन, प्रतिभा र शिक्षा कुनै पनि आधारमा सम्बन्धित छैनन्। विद्यार्थीको बाहिरी रूप अवलोकन गरेर ऊप्रति खराब दृष्टिकोण बनाउनु आफैंमा एउटा विरोधाभाषपूर्ण कुरा हो। आज विचार र चेतनाको धेरै विकास भइसकेको छ। तर पनि अरूलाई उसको लगाई, खुवाई, रहनसहनको आधारमा अनेक धारणा बनाउने मानिसहरूको जमात ठूलो छ।

माथि उल्लिखित कथन प्रतिकात्मक छ, कलेजहरूमा अक्सर विद्यार्थीलाई कानमा लगाएको कुण्डल, कपाल र अन्य कुराहरूले अरूसँग तुलना गर्ने गरिन्छ। आफ्नै धारण बनाएर ती विद्यार्थीलाई खराब, फटाहा जस्ता वर्गमा राखिन्छ। नेपालका अधिकांश शैक्षिक संस्थाहरूमा विद्यार्थीलाई चाइने भन्दा बढी अनुशासनमा राख्ने त फेसन जस्तै भएको छ।

धेरैजसो कलेजहरूमा अनुशासनको नाममा विद्यार्थीलाई चप्पल लगाउन प्रतिबन्ध, छोटो कपाल पार्नुपर्ने, समयमा गृहकार्य बुझाउने देखी अन्य विभिन्न नियमहरूको घेरामा राखिन्छ। कलेजमा दिइएको क्रियाकलाप गर्दागर्दै विद्यार्थीले आफ्नो लक्ष्य, रुचि, प्यासन अन्वेषण गर्ने मौका गुमाउँछन्।

उनीहरूको सपना अक्सर कलेजमा भर्ना भएपछि तुहिने गर्छ। उनीहरू दिशाहीन हुने गरेका छन्। विद्यार्थीलाई स्कुलमा हुँदा कलेजमा पुगेपछि त स्वतन्त्र हावा लिन पाइन्छ भन्दै आश्वासन दिएर कडा अनुशासनको घेरामा राखिन्छ। अनि स्कुलबाट कलेज पढ्न गयो, कलेजको अवस्था पनि उस्तै हुन्छ।

कलेज हो की कपाल काट्ने सैलुन ठम्याउनै गाह्रो, लाइन लगाएर कलेजका शिक्षकहरू हजाम झैँ विद्यार्थीको कपाल काट्न बस्या हुन्छन्। कतिपय कलेजहरूमा त विद्यार्थीको ब्याग आतंकबादी झैँ निरीक्षण गरिन्छ। कलेजमा पनि ब्याचलरमा गएर स्वतन्त्र हावा लिन पाइन्छ भनेर आश्वासन दिइन्छ तर त्यहाँ पनि अवस्था उस्तै छ।

कलेज प्रशासनले विद्यार्थीलाई गरे जस्तै देशका अधिकांश प्रहरीहरूले आममानिसहरुलाई गर्ने व्यवहार पनि तुलनात्मक रूपमा उस्तै छ। प्रहरीले भिन्न आवरणमा भेटिने नागरिकलाई निरीक्षण गरेर अनावश्यक समस्याहरू सृजना गर्ने गरेको घटनाहरू दिनौ समाजमा सुनिन्छ। बाहिरी आवरण हेरेर शङ्काको आधारमा मानिसहरूको ब्याग, शारीरिक चेकजाँच साथै अन्य चेकजाँच गरिन्छ। प्रहरीको अनावश्यक झमेलामा परेका मानिसहरू थुप्रै छन्।

कतिपयले त थानामा प्रहरीको सयौँ प्रश्नहरूको जवाफ दिएर आफ्नो समय चौकीमै व्यतीत गर्नुपरेको छ। कुनै बखत प्रहरीले कुन्डल लगाएका र लामा कपाल भएका युवकहरूको कपाल काटेर घर पठाउने लहर चलेको थियो। त्यस बखत सयौँ युवाहरूले समस्या झेल्नुपरेको थियो। मेरो विचारमा प्रहरीले कुनै मानिसलाई उसको आवरणका आधारमा नियन्त्रणमा लिएर विभिन्न किसिमका दबाब सिर्जना गर्नु आफैमा गलत कुरा हो।

कुनै कुरालाई रोकथाम गर्न त्यसमा प्रतिबन्ध लगाउनु के सही उपाय होला त ? यो आजको यक्ष प्रश्न हो। भनिन्छ कसैलाई चाइने भन्दा बढी नियन्त्रित गर्योि भने विद्रोही बनेर निस्किन्छन्। हिटलर, स्टालिन, मुसोलिनी जस्ता तानाशाहीको जन्म चाहिने भन्दा बढी नियन्त्रणमा राख्नाले भएको हुनसक्छ। अमेरिकाका निग्रो मानिसहरूलाई गरिएको शोषण र प्रतिबन्धले “हार्लेम पुनर्जागरण” को सुरुवात भएको थियो। इतिहासले त्यसको मूल्य चुकाएको छ। त्यस्ता क्रान्ति र आन्दोलनका प्रशस्त उदारणहरु छन्। अधिक भन्दा बढी नियन्त्रणमा राख्नाले निम्त्याएको त्यस्ता सयौँ उदारणहरु अमेरिकामा मात्र नभएर विश्वका अधिकतम मुलुकहरूमा प्रशस्त भेटिन्छ।

एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सको विद्यार्थी जीवनको तस्बिरहरू हेर्ने हो भने अक्सर लामो कपाल भएको भेटिन्छ । तिनै लामो कपाल गरेका व्यक्तिको योगदान हामीसँग प्रत्यक्ष छ, उनकै नेतृत्वले गर्दा आज एप्पल विश्वको एउटा ठुलो र सफल कम्पनी बन्न पुगेको छ । जब्सको विद्यार्थी कालको कपालको लम्बाईले कसको के बिगार्यो र? विडम्बना त आज धेरै जसो कलेजहरूमा उनकै व्यावसायिक रणनीति र नीति पढाइन्छ। जब्स त एउटा बिम्ब हुन् उनी जस्ता अनेकौँ उदारणहरु प्रशस्त भेटिन्छन्।

नेपाली समाजको धेरैजसो कलेजहरू एउटा शिक्षा आदानप्रदान गर्ने थलो हुनुको सट्टा कुनै प्रहरी चौकी जस्तो हुँदैछ, जहाँ विद्यार्थीलाई चाइने भन्दा बढी अनुशासनमा राखेर नियन्त्रित गर्न खोजिन्छ। वास्तवमा कलेज प्रशासनले कलेजमा विद्यार्थीले के लगाएर आयो भन्दा पनि कलेजबाट के शिक्षा र ज्ञान लिएर जादैछ भन्ने कुरामा ध्यान दिन विशेष आवश्यक छ।

विद्यार्थीहरू कलेजमा भएका क्रियाकलापबाट सन्तुष्ट छन् छैनन् भनेर कलेजहरूले बुझ्न जरुरी छ।अहिले शिक्षाको गुणस्तर खस्किँदो छ। कलेजहरूले विद्यार्थीहरूलाई चाहिने भन्दा बढी नियन्त्रणमा राख्नुको सट्टा शिक्षा, पढ्ने वातावरण तथा अन्य क्रियाकलाप सुधार्न विशेष ध्यान पुराउनु आवश्यक छ।विद्यार्थीलाई कलेजमा स्वतन्त्र वातावरण सृजना गरेको खण्डमा मात्र उनीहरू शैक्षिक साथै व्यक्तिगत जीवनमा सफल हुनेछन्। अनि, मात्र हाम्रो समाजमा स्टिभ जब्स जस्तो व्यक्तित्वको जन्म हुन्छ ।

जब विद्यार्थीलाई नियन्त्रणमा नराखी सपना देख्न र त्यसलाई पूरा गर्न सिकाइन्छ तब मात्र शिक्षा बाध्यता नभएर मनोरञ्जनमा परिणत हुन्छ । कलेजको शिक्षा विद्यार्थीलाई ‘बोझ’ होइन जीवनको एउटा ‘खोज’ बन्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment