Comments Add Comment

सांसदको प्रश्न : पर्यटकलाई यस्तै सडक देखाउने ?

२० भदौ, काठमाडौं । सरकारले आगामी वर्ष मनाउन लागेको भ्रमण वर्ष २०२० सफल हुनेमा सांसदहरुले आशंका व्यक्त गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सडकको दुरावस्थाले समेत भ्रमण वर्ष प्रभावित बन्न सक्ने औंल्याए ।

यस्तो सडक देखेर जाने पर्यटकले आफ्नो देशमा नेपालबारे राम्रो सन्देश नफैलाउने चिन्ता सांसदहरुको थियो । सडक निर्माणका कामहरुमा भ्रष्टाचार र ढिलासुस्ती व्याप्त भएको उनीहरुले गुनासो गरे ।

भ्रमण वर्ष र सडक पूर्वाधारहरुको अवस्थाका विषयमा छलफल गर्न विकास समितिले संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका सचिवहरुलाई बोलाएको थियो । दुबै मन्त्रालयका अधिकारीहरुलाई सांसदहरुले भ्रमण वर्ष सफल बनाउन सक्ने आधारहरुका विषयमा प्रश्न राखेका थिए ।

सरकारले भ्रमण वर्षका लागि भनेर घोषणा गरेका गन्तव्यहरुमा पुग्ने सडक समेत नरहेको भन्दै उनीहरुले सरकारको तयारी पर्याप्त नभएको गुनासो समेत गरे ।

बैठकको सुरुमै बोल्न समय पाएकी सांसद रंगमती शाहीले सडक आयोजनाहरुमा व्यापाक भ्रष्टाचार भइरहेको आरोप लगाइन् । सडक आयोजनाहरु भ्रष्टाचारकै कारण समयमा सम्पन्न हुन नसकेको भन्दै उनले यसका कारण भ्रमण वर्षलाई नराम्रो असर गर्ने धारणा राखिन् । नेपाल आउने पर्यटकहरु ठाउँ ठाउँमा ठगिने गरेकोमा पनि शाहीले चिन्ता व्यक्त गरिन् ।

‘जीवनबहादुर शाही पर्यटनमन्त्री हुँदा उहाँ एयरपोर्टबाट विदेशीसँगै गाडीमा आउनुभएको थियो, त्यसबेला उहाँले देख्नुभयो पर्यटक कति ठगिन्छन् भन्ने,’ उनले भनिन्, ‘तर यसरी ठग्ने क्रम अझै रोकिएको छैन, पर्यटक एयरपोर्टबाट झरेर होटल पुग्ने बेलासम्म नै धेरै ठगिन्छन् ।’

सरकारले रारा ताल जाने पदमार्गमा राम्रै खर्च गरेको भए पनि काम सन्तोषजनक नभएको शाहीले बताइन् । तालको नजिकै होटल खोल्न अनुमति दिन नहुने उनको धारणा थियो ।

सांसद दुर्गा पौडेलले सरकारले पर्यटन वर्षलाई बजेट छुट्याएको भए पनि केही काम गर्न नसकेको आरोप लगाइन् ।
‘आठ जिल्लामा पर्यटनको गुरुयोजना लागू गर्ने भनिएको थियो, पछि १०० गन्तव्य घोषण गरियो, खै त नयाँ काम ?’ उनले भनिन्, ‘बजेट छुट्याएर मात्रै हुँदैन, काम गरेर देखाउन सक्नु पर्यो ।’

उनले पनि सडक आयोजनाहरुमा व्यापक भ्रष्टाचार भएको बताइन् । सांसद पौडेलले सडक आयोजनाको नाम नै लिएर भ्रष्टाचार भएको आरोप लगाएकी थिइन् ।

‘प्यूठानको स्वर्गद्वारीमा धेरै पर्यटक जान्छन्, तर त्यहाँको सडकमा ठूलो भ्रष्टाचार भएको छ,’ उनले भनिन्, ‘बालुवाले पानी सोसेको जस्तै बजेट सोसेको छ तर काम भने हुन सकेको छैन ।’

अर्का सांसद टेकबहादुर बस्नेतले सडकको दुरावस्था पर्यटन वर्षका लागि चुनौती रहेको बताए । विकास समितिले अनगुमन गरेका सडक नै अहिलेसम्म नबनेको भन्दै उनले बनेका सडक पनि काम नलाग्ने भएको बताए । सडक निर्माण गर्दा नाला नबनाउने र भेल सबै सडकमै बग्ने हुँदा सडक कमजोर रहेको उनको भनाइ थियो ।

‘स्वर्गीय मन्त्री रवीन्द्र अधिकारीज्यूको पालामा घोषण भएका १०० गन्तव्य अलपत्र जस्तै छन्, उता सडकमा पनि राम्रा काम भएका छैनन्,’ बस्नेतले भने, ‘सडकमा भएका ढिलासुस्तीले पर्यटन वर्ष २०२० लाई राम्रो गर्छ जस्तो लाग्दैन ।’

‘काठमाडौंकै हालत खराब’

सांसद रामबहादुर विष्टले ग्रामिण भेगको मात्रै नभएर मुलुकको राजधानी काठमाडौंकै अवस्था नाजुक रहेको गुनासो गरे । राजधानीको मुख्य समस्याको रुपमा अहिले सार्वजनिक शौचालय रहेको उनले औंल्याए ।

‘अस्ति म कोटेश्वरमा हिँड्दै थिए एक जना व्यक्ति यताउता हेरिरहेका रहेछन्, के रेस्ट रुम खोजेको हो मैले भन्दा उनले पिसाव गर्ने ठाउँ त छैन के रेस्ट रुम भन्ने भनेर जवाफ फर्काए,’ सांसद विष्टले भने, ‘अब राजधानीकै त यो अवस्था छ, पर्यटक कसरी आउछन् ?’

भ्रमण वर्षको लक्ष्य लिनु राम्रो भएको भए पनि लक्ष्य अनुसारको काम नहुनु दुखद् भएको उनले सुनाए । जोमसोम लगायतका ठाउँहरुमा सडक पूर्वाधार नहुँदा पर्यटकहरु समस्यामा परेको उनको भनाइ छ ।

सांसद कमला रोकाले सडक मार्गका हालत देशैभर ठिक नभएको बताइन् । उनले काठमाडौंका सडकहरुकै दुरावस्था रहेको औंल्याइन् ।

सांसद मिना सिंहले भोज शुरु भएपछि तरकारी किन्न गएको जस्तै सरकारले तयारी गरेको बताइन् । विगतमा विदेशी ठूला पाहुना आउँदा हतारहतार एक महिनाका लागि पिच गरे जस्तो भ्रमण वर्षमा गर्न नमिल्ने भन्दै उनले सरकारलाई सचेत गराइन् ।

सरकार भन्छ– निराशा नहुनुस्

बैठकमा दुबै मन्त्रालयका सचिवसहितका अधिकारीहरु उपस्थित थिए । पर्यटन सचिव केदारबहादुर अधिकारीले सडकहरुको अवस्था राम्रो नभएको स्वीकार गरे । भौतिक पूर्वाधार सचिव देवेन्द्र कार्कीले भने धेरै निराश हुनु पर्ने अवस्था नरहेको बताए ।

सबै सडक संघीय सरकारको जिम्मामा नपर्ने भन्दै उनले संघको जिम्मामा पर्ने राजमार्गहरुका कारण पर्यटन वर्षलाई असर नगर्ने दावी गरे ।

विग्रिएका बाटोहरु बनाउनसरकार गम्भीर रहेको उनले बताए । चावाहिल–जोरपाटी सडकका बारेमा उनले पहिलेको भन्दा धेरै राम्रो भएको उनको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment