Comments Add Comment

यू–१९ एसिया कपमा नेपाल : खेल हार्‍यो, मन जित्यो !

२२ भदौ, काठमाडौं । यू–१९ एसिया कप क्रिकेट खेल्न श्रीलंका जाँदा नेपालको थियो, टेष्ट राष्ट्रहरुलाई हराउने । युवा क्रिकेटरहरुको यो लक्ष्य चुनौतीपूर्ण भएपनि असम्भव थिएन ।

किनकी विगतमा पनि कडा टक्कर दिएकै थियो र यो पटक टोलीमा रोहितकुमार पौडेल, पवन शरार्फ, सन्दीप जोरा लगायतका सिनियर टोलीबाट खेलिसकेका अनुभवी खेलाडीहरु पनि थिए ।

तर श्रीलंकामा नेपाली युवा टोलीको प्रदर्शन अपेक्षित भएन । पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले हार्‍यो । दोस्रो खेलमा बंगलादेशसँग पनि ६ विकेटले हारेपछि नेपाल समूह चरणबाटै बाहिरियो ।

अब यूएईविरुद्धको अन्तिम खेल नेपालका लागि प्रतिष्ठाको विषय मात्र हुनेछ ।

श्रीलंकाविरुद्ध ऋतको ब्याटिङ

पहिलो खेलमा नेपालको भेट घरेलु टोली श्रीलंकाविरुद्ध भयो । नेपाल ५ विकेटले पराजित भयो । यो खेल वर्षाले प्रभावित भएपछि ४२ ओभरमा छोट्याइएको थियो । पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १५९ रन मात्रै बनाउन सक्यो । यो स्कोर सानो नै मानिन्छ ।

तर ऋतको ब्याटिङ लोभलाग्दो रह्यो । उमेर समूहका उदायमान खेलाडी उनले ५४ रनको अर्धशतकीय पारी खेले । यो खेलमा उनका अलाबा कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाएका थिए ।

१६० रनको लक्ष्य श्रीलंकाले ३३.४ ओभरमा पाँच विकेटको क्षतिमा भेटायो ।

बंगलादेशविरुद्ध २६० प्लस

आइतबार बंगलादेशविरुद्ध उत्रिँदा नेपाली टोलीलाई सेमिफाइनलको सम्भावना कायम राख्न जित्नै पर्ने दबाब थियो ।

पहिले ब्याटिङ गरेको नेपालले त्यसअनुसार स्कोर पनि बनायो । खासगरी पवन शरार्फ र सन्दीप जोराले नेपाली उत्कृष्ट ब्याटिङ गरे । ४० ओभरसम्म क्रिजमा टिकेका पवनले ८१ रनको पारी खेले ।

पहिलो विकेटका लागि ऋत गौतमसँग ४५ रनको साझेदारी गरेका उनले क्रिजमा टिकिरहे । उनले आशिफ शेखसँग ९, कुशल मल्लसँग ३९, कप्तान रोहितकुमार पौडेलसँग १४ रन र सन्दीप जोरासँग १४ रनको साझेदारी गरे ।

त्यसपछि सन्दीप जोराले भीम सार्कीसँग मिलेर अर्को उत्कृष्ट साझेदारी गरे । छैटौं विकेटका लागि ७१ रनको साझेदारी गरेका उनले ३७ बलमा ५६ रन बनाए ।

यद्यपि खेल नेपालले दोस्रो खेल पनि जित्न सकेन । सुरुवाती दुई विकेट समयमै लिएको भएपनि मध्यक्रमलाई तोड्न नसक्दा बंगलादेशले ६ विकेटको जित निकाल्यो ।

खेल हार्‍यो, मन जित्यो !

नेपाली युवा टोलीले लगातार दुई खेल हार्‍यो । टेष्ट टिमलाई हराउने लक्ष्य पनि पूरा भएन । तर नेपाली टोलीको प्रदर्शनले धेरेको मन भने जितेको छ ।

‘पहिलो खेलमा ऋतको ब्याटिङ उत्कृष्ट रह्यो । बंगलादेशविरुद्ध पवन र सन्दीपले राम्रो खेले’ क्रिकेट प्रशिक्षक जगत टमाटा भन्छन्,‘टेष्ट नेशनविरुद्ध २६० प्लस बनाउन निकै राम्रो हो । यसले हाम्रो टिम पनि कमजोर छैन भन्ने देखाएको छ ।’

अर्का प्रशिक्षक राजु बस्न्यात पनि युवा टोलीको प्रदर्शन सकारात्मक रहेको मान्छन् । उनले भने, ‘टेष्ट टिमलाई हराउन फिनिसिङ पोलिस मात्र नपुगेको देखियो ।’

युवा टोलीको प्रदर्शनले राष्ट्रिय टिमलाई पनि विकल्प तयार रहेको आशा देखाएको छ । यद्यपि ठूला टिमहरुमाथि जितका लागि अझै मेहनत गर्नुपर्ने सन्देश पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment