Comments Add Comment

वसन्तपुरमा सुरु भयो नवरसयुक्त महाकाली नाच

२५ भदौ, काठमाडौं । बसन्तपुरमा इन्द्रजात्राको लिंगो ठड्याएपछि असत्यमाथि सत्यको जितको प्रतीकस्वरुप महाकालीलगायत बिभिन्न देवीदेवताको नाच देखाउन सुरु गरिएको छ । यो नाच आठ दिनसम्म हरेक दिन साँझ नाचिन्छ ।

इन्द्रजात्राको क्रममा कुमारी, गणेश र भैरवलाई तीन दिन सहर परिक्रमा गराइन्छ । र, यी तीन दिन वर्षौं पुरानो महाकाली नाच पनि नाचिन्छ । भक्तपुरको ‘महाकाली प्याखँ’लगायतका समूहले बसन्तपुरमा महाकाली नाच देखाउँछन् । संस्कृतिविद् ओम धौभडेलका अनुसार भक्तपुरको महाकाली नाच पुरातत्व विभागमा समेत दर्ता छ ।

इन्द्रजात्रा, गाईजात्रा र दशैंको नवमीमा गरी वर्षको तीन दिन महाकाली नाच देखाउने चलन छ । महाकाली नाच करिब दुई घन्टाको हुन्छ । महाकाली नाच नौ बाजा र नौ रसमा नाचिन्छ । यसमा बिभिन्न देवीदेवताको पनि नाच हुन्छ । तर मुख्य आकर्षण महाकालीको हुन्छ । नाचमा देवीदेवताको भूमिका पुस्तौंदेखि पुरुषले गर्दै आएका छन् ।

यो नाच कहिलेबाट सुरु भयो भन्ने आधिकारिक अभिलेख छैन तर लिच्छविकालदेखि सुरु भएको र मल्लकालदेखि व्यवस्थित गरिएको बताइन्छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार नाचको सम्बन्ध नरदेवी नाचसँग छ ।

राणाकालीन समयमा महाकाली नाच चर्चामा थियो । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले काठमाडौंको राजकीय पर्व मानिने योयाः पुन्ही अर्थात् ‘इन्द्रजात्रा’मा यो नाच देखाउन थालेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment