Comments Add Comment

मित्रतामा इर्ष्याले स्थान पाएपछि

मित्रता एउटा त्यस्तो सम्बन्ध हो, जसलाई रगतको सम्बन्धभन्दा बलियो मानिन्छ । आफ्नो परिवारसँग भन्न र गर्न नसकिने कुराहरु हामी हाम्रो मित्रसँग सजिलै भन्न सक्छौं ।

मित्रतामा माया र झगडा बराबरी हुन्छ । रिसाउने र फकाउने कुरा बारम्बार भैरहन्छ । तर, त्यही मित्रतामा इर्ष्याले स्थान पायो भने त्यो मित्रता दुश्मनीमा परिणत हुन कत्ति पनि समय लाग्दैन ।

कहिलेकाहीँ धेरै माया र रेखदेख गर्दागर्दै पनि मित्रतामा इर्ष्याको भावना उत्पन्न हुन्छ । मित्रतामा इर्ष्याको भावना किन उत्पन्न हुन्छ भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ । मित्रतामा इर्ष्याको भावना धेरै कारणहरुले उत्पन्न हुन्छ । मिल्ने दुई साथीको बीचमा तेस्रोको आगमन हुनु, पढाइमा कुनै एक अति जान्ने हुनु जस्ता कारणहरु हुन सक्छन् । तर यी सबै कारणहरु बाहेक एउटा त्यस्तो कारण छ, जसले मित्रतामा इर्ष्या र रिस जस्ता भावना उत्पन्न हुन्छ ।

वास्तवमा जब दुई मित्रहरुबीच खानपिन र पहिरन जस्ता कुराहरुमा अन्तर हुँदा पनि इर्ष्याको भावना उत्पन्न हुन्छ । विशेष गरी सँगै पढ्ने, घरसँगै भएका र एउटै अफिसमा काम गर्ने मित्रहरुबीच इर्ष्याको भावना उत्पन्न हुन्छ ।

सधैंसँगै काम गर्ने अथवा पढ्ने साथीको राम्रो कुराहरु, खानपान र पहिरन राम्रो हुँदा पनि नजिकको साथीले भित्र भित्रै इर्ष्या गर्न थाल्छ । आफ्नोभन्दा साथीको राम्रो खाना, पहिरन, घर, गाडी जस्ता कुराले ऊ आफूलाई हिनताबोध भएको महसुुस गर्छ र साथीसँग इर्ष्या गर्न थाल्छ ।

सबैको आफ्नै किसिमको जीवनशैली हुन्छ । जीवनशैली फरक हुनुमा आर्थिक पक्षले पनि ठूलो भूमिका खेल्छ । राम्रो आम्दानी हुनेको जीवनशैली लोभलाग्दो हुन्छ । तर आम्दानी कम हुनेको विभिन्न कुराहरु त्यही आम्दानीले मिलाउनु पर्ने भएकाले आफूले चाहेको जस्तो जीवन बाँच्न सक्दैन । जसका कारण उसमा आफ्नो साथीको जीवनशैलीप्रति इर्ष्या उत्पन्न हुन थाल्छ । जब कोहीप्रति इर्ष्या उत्पन्न हुन्छ, उसको सानोभन्दा सानो कुरामा पनि इर्ष्यामात्र हुन्छ, चाहे त्यो इर्ष्या गर्नलायक होस् वा नहोस् ।

यो इर्ष्या भन्ने  कुरा जो कोहीसँग हुन्छ भन्ने हुँुदैन । आज एक दिन अथवा एकछिन भेटेको साथीसँग प्रायः इर्ष्या हुँदैन । इर्ष्या विशेष गरेर त्यस्ता मित्रसँग हुन्छ, जो दिनहुँ घर, स्कुल, कलेज अथवा अफिसमा भेट हुन्छ । उसको हरेक गतिविधिहरु देख्ने, थाहा हुने भएपछि विस्तारै इर्ष्याको भावना पनि उत्पन्न हुन थाल्छ ।

त्यस्तै मित्रतामा सोचाइको कारणले पनि इर्ष्याको भावना उत्पन्न हुन्छ । भिन्न घर परिवारमा फरक सोच हुन्छ । आफ्नो सोचाइ र बुझाइअनुसार मानिस अगाडि बढ्छ । कोही खुल्ला विचारका हुन्छन् आफू र आफ्ना परिवारलाई त्यहीअनुरुप जीवन जिउने अनुमति दिएका हुन्छन् । त्यस्तै कोही पुरानो विचारको हुन्छ । ऊ त्यहीअनुरुप बाँचेको हुन्छ । त्यस्तो स्थितिमा एक परिवारलाई अर्को परिवारको सोच चित्त नबुझ्न सक्छ । तर जब एकको सोचको इज्जत अर्कोले गर्दैन अथवा हाँसोको बिषय बनाउँछ, त्यो समयमा मनमा इर्ष्या उत्पन्न हुन थाल्छ ।

सबै मानिसमा आ-आफ्नो कार्य र शिक्षाको क्षमता हुन्छ । सबै हरेक कुरामा दक्ष हुनु पर्छ भन्ने जरुरी हुँदैन । कोही पढाइमा दक्ष हुन्छन् भने कोही नृत्य, संगीत, कला, साहित्य आदिमा । तर आमा-बुबासमेत आफ्नो बच्चाको तुलना अन्य बच्चासँग गर्छन् । पढाइमा आफ्नो बच्चाले ल्याएको राम्रो नतिजालाई अरु अभिभावकलाई देखाएर आफ्नो बच्चा उत्कृष्ट भएको प्रमाणित गर्न खोज्छन्, जुन गलत कुरा हो । यस्ता कुराहरुले पनि बच्चा र अभिभावक दुवैमा इर्ष्याको भावना उत्पन्न गराउन सहयोग हुन्छ ।

त्यस्तै इच्छा दबिएको कारण पनि इर्ष्याको भावना उत्पन्न हुन्छ । आजको पुस्ताको विचार अति नै फरक किसिमको हुन्छ । उनीहरु साथीभाइको हरेक कुरालाई आँखा चिम्लिएर पछ्याउँछन् । स्कुल र कलेजमा केही कार्यक्रम हुँदा उनीहरु कोहीभन्दा कम देखिन चाहँदैनन् । तर सबै कुरा आफूले चाहे जस्तो हुँदैन । साथीको जस्तो हरेक कुरा मिल्नको लागि घरपरिवारको पनि अनुमति आवश्यक हुन्छ । सबै परिवारमा आ-आफ्नै प्रकारको सोचाइ र धारणा हुन्छ, जसका कारण साथीले गरेको जस्ता हरेक कुरा जस्तै पहिरन लगाउन, घुम्न जान र अन्य कुरा नमिल्न सक्छ । जसको कारण बच्चाहरु आफ्नो इच्छा दबिएको महसुस गर्छन् र उसले हरेक कुराको लागि पछ्याउने साथी नै उसको इर्ष्याको शिकार बन्न पुग्छ ।

आफ्नो अगाडि मित्रको प्रशंसाले पनि कहिलेकाहीँ इर्ष्याको भावना उत्पन्न गराउछ । एउटै स्कुल, कलेजमा पढ्ने अथवा एउटै अफिसमा काम गर्ने मित्रको लगाइ, खुवाइले मात्र होइन प्रशंसाले पनि इर्ष्याको भावना उत्पन्न हुन थाल्छ । स्कुल अथवा कलेजमा सबैको प्यारो अथवा प्यारी बन्नु, सबैले महत्व दिनु र सबै क्रियाकलापमा भाग लिनु र त्यसमा सफल हुनु जस्ता कुराले पनि दुई मित्रबीच इर्ष्याको भावना उत्पन्न हुन्छ । अझ कलेजमा स्टाइलिस पहिरन र सुन्दरताका कारण सबैले छोटो समयमा चिन्छन् र यही कारणले ऊ बारम्बार प्रशंसित पनि हुन्छ । तर सँगैको साथीको कसैले वास्ता नगर्ने भयो भने त इर्ष्याको सीमा चरम बिन्दुमा नै पुग्छ ।

कहिलेकाहीँ इर्ष्याले घृणा उत्पन्न गराउँछ । जब मित्रतामा इर्ष्याले स्थान जमाउँछ र इर्ष्या बढ्दै गएर घृणामा परिणत हुन्छ, तब स्थिति गम्भीर हुन पुग्छ । दुई मित्रबीचको घृणाले धेरै अपराधहरु बढ्न थालेको छ । मित्रको कुनै दोष नभएता पनि उसले सजाय भोग्न परेको हुन्छ । मित्रता हुँदा हरेक काममा सहयोग गर्ने मित्रले इर्ष्याका कारण खुट्टा तान्न थाल्छ । मित्रको प्रगतिमा अवरोध बन्न पुग्छ । मित्रको चाहाना, रुचि र खुशीको बाटोमा बाधा बनिदिन्छ । इर्ष्याले उब्जाएको घृणाले उसले मित्रको मानसिकका साथै शारीरिक हानी पुर्‍याउनसमेत पछि पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment