Comments Add Comment

व्यापारीले मगाएका सयौं गाडी वीरगञ्ज भन्सारमा थुप्रिए

३० भदौ, वीरगञ्ज । दशैं–तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीहरुले भारत तथा तेस्रो मुलुकबाट भटाभट गाडी मगाए पनि खासै बिक्री बढेको छैन । वीरगञ्जस्थित भन्सार कार्यालय यार्डमा सयौं नयाँ गाडी थुप्रिएका छन् ।

वीरगञ्ज भन्सारअन्र्तगत मूल भन्सार कार्यालय र आईसीपी तथा सिर्सिया सुख्खा बन्दरगाह कार्यालयको यार्डमा विभिन्न ब्रान्डका गाडी थन्किएका हुन् । मुख्य भन्सार नाका अन्तर्गत रहेको वीरगञ्ज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाह कार्यालयको यार्डमा १/१ सय तथा आईसीपीमा झण्डै २ सयको हाराहारीमा गाडी होल्ड भएर बसेको सम्बन्धित कार्यालयका अधिकारीले बताएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयको यार्डमा थन्किएका मध्ये इसुजुका गाडी सबैभन्दा बढी छन् । इसुजुको सिंगल क्याब, डबल क्याब, किया, टोयोटा, हुन्डाई, सुजुकी, मारुतीका गाडीले भन्सार यार्ड भरिएको छ । आईसिपीको यार्ड मर्सिडिज, फोर्डको रेन्जर, किया, एमजी लगायत कम्पनीका गाडीले ओगटेका छन् । सिर्सिया सुख्खा बन्दरगाह भन्सार यार्डमा कियाका मोटर्स व्याट्रीबाला र पेट्रोलियम गाडी, फोर्ड तथा एमजी गाडी छन् ।

निश्चित शुल्क तिरेर ६० दिनसम्म भन्सार यार्डमा राख्न सकिने व्यवस्था छ । त्यसपछि भन्सार कार्यालयले ७ दिने सूचना निकालेर आयतकर्तालाई उठाएर लैजान भन्छ । अटेरी गरे भन्सारले कानुन बमोजिम कारबाही प्रक्रिया अगाडी बढाउन सक्ने व्यवस्था छ । सुख्खा बन्दरगाह भन्सार यार्डमा सात दिनसम्म दैनिक ३ सय १२ रुपैयाँ र त्यसपछि प्रतिदिन ४ सय २८ रुपैयाँ तिर्नुपर्छ । आईसीपीमा पार्किङ शुल्क तिरे पुग्छ ।

पहिलेभन्दा केहि घटेको भए पनि अझै पनि धेरै गाडी भन्सार यार्डमा थन्किएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत मनिष महतोेले बताए । भन्सार यार्डका गाडी लैजान ताकेता भईरहेको उनको भनाइ छ ।

‘आयातकर्ताले किन लगिरहेका छैनन्, त्यो त थाहा भएन । धेरै गाडी भन्सारमै छन्,’ उनले भने, ‘आएर लैजान हामीले आयातकर्ता एवं व्यापारीहरुलाई भनिरहेका छौं ।’ व्यापारीले दशैंसम्म गाडी लगिसक्ने अनुमान उनको छ ।

सिर्सिया भन्सार कार्यालयका सूचना अधिकारी विकासकुमार आयात क्रम क्रम बढेकोले भन्सार यार्डमा बढी गाडी देखिनु स्वभाविक भएको बताउँछन् । ‘नयाँ गाडी लिएर कन्टेनर आईरहेका छन्, व्यापारीले बेला बेलामा लगेकै छन्,’ उनले भने, ‘चाडवाडलाई लक्षित गरेर मगाईएकोले होला, यार्डमा अलि बढी नै गाडी थुप्रिएका छन् । ’

विभिन्न गाडी कम्पनीका नेपाली अधिकृत बिक्रेताले एलसी खोलेर विभिन्न देशबाट गाडी मगाउँछन् । भारतमा उत्पादन हुने गाडीका अधिकृत बिक्रेताले वार्षिक रुपमै निश्चित बिक्री लक्ष्य राखेका हुन्छन् भने तेस्रो मुलकबाट ग्राहकको अर्डरअनुसार एलसी खोलेर पनि गाडी मगाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment