Comments Add Comment

एनआरएन युकेको मतगणना ५ दिनदेखि अवरुद्ध

१ असोज, काठमाडौं । बर्मा गए पनि कर्मसँगै भन्ने उक्तिलाई बेलायतका गैरआवासीय नेपालीले चरितार्थ गरेर देखाएका छन् । गैरआवासीय संघ एनआरएन युकेको निर्वाचन भएको ५ दिन बितिसक्दा पनि चुनावमा धाँधली भएको भन्दै मतगणना अवरुद्ध भएको छ ।

गत शनिवार एनआरएन युकेको निर्वाचन भएको थियो । बेलायतभर नेपालीको बाक्लो बसोबास रहेका क्षेत्रमा मतदान केन्द्र तोकेर गरिएको निर्वाचनमा करिव ९ हजार गैरआवासीय नेपालीले मतदान गरेका थिए ।

बेजिङस्टोक मतदान केन्द्रमा धाँधली भएको भन्दै अध्यक्षका प्रत्याशी शेर सुनारले पुनः मतदानको माग गरेपछि मतगणना अवरुद्ध भएको हो । सुनार नेपाली कांग्रेसको तर्फबाट एनआरएन युकेको अध्यक्ष उम्मेदवार हुन् ।

पुनः मतदान माग गरिएको बेजिङस्टोक मतदान केन्द्र अध्यक्षका अर्का प्रत्याशी पुनम गुरुङको बाहुल्य भएको ठाउँ हो । एनआरएन युकेमा पुनम र शेर सुनारको प्यानलनै चुनावी मैदानमा थिए ।

निर्वाचन समितिले पटकपटक छलफल गरे पनि शेर सुनार पक्षले पुनः मतदान नभइ मगतणनामा नबस्ने अडान लिएपछि विफल भएको एक सदस्यले बताए ।

पुनम पक्षले भने चुनाव हार्ने निश्चित देखिएपछि सुनार पक्षले बेलायतजस्तो देशमा धाँधलीको हल्ला चलाएर जग हँसाएको आरोप लगाएको छ ।

पुनम पक्षले पनि हृयारोको मतदान केन्द्रमा सुनार पक्षले गडबडी गरेको आरोप लगाएको छ । तर, पुनः मतदानको भने माग गरेको छैन ।

मतगणनामा बिलम्ब हुँदा एनआरएनकै बेइज्जत हुने भन्दै पुनमले हारजितको विषय नबनाउन आग्रह गरेकी छन् ।

बेजिङस्टोक बुथमा खटिएका निर्वाचन आयुक्त र पर्यवेक्षकले कुनै धाँधली नभएको भने पनि सुनार पक्षले स्वीकार गरेको छैन । यही अवस्थामा मतगणना गर्न नसकिने निर्वाचन समितिका प्रमुख डम्बर घलेले बताएका छन् । तर, केही आयुक्तले भने गणना गर्नु पर्ने मत राखेका छन् ।

निर्वाचन समितिले पुनः मतदान गराउन नसकिने प्रष्ट पारिसकेको छ । मतदान सकिएपछि तीन बुथको उजुरी आए पनि सबै केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन भएको निर्वाचन प्रमुख घलेले पत्रकार सम्मेलनमार्फत बताएका थिए ।

यदि विवादका कारण मतगणना हुन नसकेमा एनआरएन युकेले आगामी अक्टोबरमा हुने विश्व सम्मेलनमा सहभागिता जनाउन पाउने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment