Comments Add Comment

प्याराग्लाइडिङमा उड्दै, सपना पछ्याउँदै

काठमाडौंको विमानस्थलबाट जहाज उड्यो । जहाजसँगै हाम्रो सपनाले पनि उडान भरिरहेको छ । सपना उही, जीतको ।

इन्डोनेसियासम्मको गन्तव्यमा थियौं हामी । एसियाली खेलकुदमा भाग लिन हिँडेका हामी प्याराग्लाइडिङको उपाधि देशमा भित्र्याउन आतुर थियौं । यस प्रतियोगिताको १८ औं संस्करणमा पहिलोपटक समावेश प्याराग्लाइडिङमा सुखद नतिजा निकाल्ने अठोट मनमा थियो ।

हामीले ६ महिना अगाडिदेखि नै तयारी थालेका थियौं । समय घर्किँदै गर्दा मुटुको ढुकढुकी बढ्दो थियो । छनोट आयो । म छानिएँ । मनमा उत्साह थपियो । गएको वर्ष अगस्टमा हाम्रो परीक्षाको घडी थियो ।

सानै उमेरमा घरदेखि भागेर प्याराग्लाइडिङ सिकेको म १५ वर्षकै उमेरमा देशको प्रतिनिधित्व गर्न तम्सेको छु । इन्डोनेसिया झर्दा छुट्टै अनुभूति भइरह्यो । नयाँ ठाउँ, पहिलो अन्तर्राष्ट्रिय सहभागिता । यो हाम्रो लागि सबैभन्दा महत्वपूर्ण थियो ।

इन्डोनेसियाको जाकार्ता झ¥यौं । त्यहाँबाट गाडी चढेर ३/४ किलोमिटर जानुपर्ने रहेछ । विमल अधिकारी, विजय गौतम, सुुशील गुरुङ, विशाल थापा र म प्रतियोगितामा सहभागी हुँदैछौं । हाम्रो उत्साह भर्दै हुनुहुन्थ्यो, प्रशिक्षक योगेश भट्टराई, सानुबाबु सुनुवार । सुरुदेखि नै उहाँहरुको मिहिनेत र सपना हामीसँग जोडिएको छ ।

इन्डोनेसियामा प्याराग्लाइडिङको २ विधामा प्रतिस्पर्धा थियो । एक्युरेसी र क्रस कन्ट्री । एक्युरेसीमा उति साह्रो विश्वास थिएन । तर क्रस कन्ट्रीमा मेडल जित्नैपर्ने दबाब थियो र हामी दाबेदार पनि थियौं ।

सुरुमा हामीले एक्युरेसी गर्नुप¥यो । यसमा तोकिएको ठाउँमा जसले ‘एक्युरेट ल्यान्डिङ’ गर्छ, उसकै राम्रो नम्बर आउँछ । एक्युरेसीलाई हाम्रो ठूलो तयारी थिएन । हाम्रो लक्ष्य क्रस कन्ट्रीमै थियो । धेरै खेलेका पनि थियौं । धेरै आत्मविश्वास पनि यसैमा थियो ।

इन्डोनेसियालाई हामीले वास्तवमा कम आँकेका थियौं । तर, होम ग्राउण्ड, त्यसमा पनि धेरै व्यावसायिक पाइलट रहेछन् उनीहरुसँग । डर लाग्न थाल्यो । क्रसकन्ट्रीको सुरुको दिन उसले पनि राम्रो अंक ल्यायो ।

दोस्रो र तेस्रो दिन हुँदै गयो । एउटा टास्कले चिप्लिएर हामी चौथोमा पुग्यौं । तर, आत्मविश्वास राखिराख्यौं । सिल्भर मेडलसम्म जसरी पनि ल्याउने लक्ष्य र दवाव थियो ।

जापान अगाडि थियो । हामी पछाडि पनि पर्न सक्थ्यौं । ५ जनामा ३ जनाले टास्क कम्लिट गरेर ल्याण्डिङसम्म आयौं । जापानको चाहिँ ५ जनामध्ये २ जनाले मात्रै टास्क कप्लिट गरेर ल्यान्डिङमा आए । जसका कारण फाइदा हामीलाई नै भयो । जापानसँग जम्मा २७ नम्बरले पछाडि पर्‍यौं । अनि सिल्भर मेडल लिएर आयौं । हामीले खुसी मनायौं ।

त्योभन्दा बढी खुसी त नेपालको विमानस्थलमा ओर्लिएपछि लाग्यो । गर्वले छाति फुल्यो । हामीलाई रथयात्रा गराइयो । प्याराग्लाइडिङ त्यतिबेलासम्म पनि मान्छेहरुलाई थाहै थिएन । यो कस्तो खेल हो र उनीहरुले कहाँ के गरेर आएका हुन् भन्ने । तर पनि त्यत्रो ठूलो सम्मान पाइयो । २० वर्षपछि ऐतिहासिक मेडल लिएर आउँदा अझै गर्व हुँदो रहेछ । सम्मान थप्न भ्याइनभ्याइ भइरह्यो । २/४ महिना सामाजिक सञ्जालबाट पनि बधाइ आइरहे । वर्ष उत्कृष्ठ खेलाडी, मातृभूमि अवार्ड, संघीय तथा प्रदेश सरकारमार्फत पुरस्कार र सम्मान मिल्यो । एसियाड नै मेरो सबैभन्दा ठूलो उपलब्धी हो । जहाँ हामी सिल्भर मेडलिस्ट बन्यौं ।

०००

फेवाताल किनारमा उफ्रीपाफ्री गर्दै मेरो बालापन बितेको हो । फेवातालतिर हेर्दा निकै रमाइलो लाग्थ्यो । अनि आकासतिर चराझैं मान्छेहरुको उडिरहेको देख्दा बाल मश्तिष्क अझ रोमाञ्चित बन्थ्यो ।

आकाशमा यसरी उड्ने मान्छेहरु नै हुन् र त्यसलाई प्याराग्लाइडिङ भनिन्छ भन्ने सानैमा बुझिसकेको थिएँ । म सानै हुँदादेखि नै मेरो बाबा पनि त्यसरी आकाशमा उड्नुहुन्छ थाहा पाएको थिएँ । बाबा भुपालसिंह अझै पनि प्याराग्लाइडिङ पाइलट हुनुहुन्छ । सानोमा आकासमा उडेका प्याराग्लाइडिङ हेरेर नचिनिकनै पनि तलबाट ‘बाबा’ भनेर बोलाउँथे र बाबाले माथिबाट ‘हजुर’ भनेझैं मानेर खुसी हुन्थेँं ।

मैले बाबासँग धेरैपटक जिद्दी पनि गरेको छु । तर, बाबाले ‘भोलिपर्सी ठूलो भएपछि उड्ने है’ भन्नुहुन्थ्यो । अनि मलाई कहिले ठूलो हुन्छु भनेर फड्को पर्ने ।

जब मेरो उमेर बढ्दै गयो । म झन् प्याराग्लाइडिङतिर आकर्षित हुँदै गएँ ।

मेरो घरनजिकै खपौंदी भन्ने ठाउँ छ । त्यहाँ प्याराग्लाइडिङ अवतरण हुन्छ । घन्टौंसम्म प्याराग्लाइडिङ ल्यान्ड भएको हेरर बसेको छु । ८/९ वर्षको हुन थालेपछि ल्याण्ड हुने ठाउँमै जान थालें । मान्छेहरु आकासमा उड्दै ताल छेऊमा ल्याण्ड भएको हेर्दा एकदम खुसी लाग्थ्यो ।

गोराहरु पनि उसैगरी प्याराग्लाइडिङबाट उड्दै झर्थे । धेरैजसो एक महिनाका लागि सोलो उडान भर्न नेपाल आएका हुन्थे । उनीहरुको प्याराग्लाइडर मिलाउने र प्याकिङ गर्ने काम गर्न सघाउन थालें । त्यसो गर्दा उनीहरुसँग पैसा नलिने बरु फर्कने बेला ग्लाइडर दिन आग्रह गथेँं । प्रयोग गरिसकेको भए पनि कुनै ग्लाइडर राम्रै हुन्थे । त्यसैबाट भुइँमा दौडने र साना कान्लाबाट प्रयास गर्थें ।

पाइलटहरुसँग कसरी उडाउने भनेर जिज्ञासा राख्थें । गोरा पाइलटहरुले पनि खुब माया गर्थे र सिकाउँथें । त्यसो गर्दागर्दै एक दिन सानो डाँडाबाट उड्न मन लाग्यो । गोराले दिएको प्याराग्लाइडर थियो । हार्नेस, हेल्मेट लगायतका सामान जुटाएँ । नजिकैको एउटा डाँडामा गएँ र उडें ।

अनौठो महसुस भयो । पाइलटहरुसँग बाल मस्तिस्कले सिकेअनुसारको उपाय लगाएँ अनि ल्याण्ड गरें । त्यो बेला डर र खुसी एकसाथ लागेको मलाई अहिले पनि हिजोजस्तै लाग्छ । त्यो नै मेरो पहिलो उडान हो । जतिबेला म जम्मा ९ वर्षको थिएँ ।

०००

बाबा आमा बसैलाई जानकारी नदिइकन पहिलो पटक प्याराग्लाइडिङ गर्दै हावामा उडें म । जब सफल भएँ र बेलुका घरमा सुनाएँ । बाबाआमा झसंग हुनु भो । डर र पीर एकसाथ मिसाएर गाली र माया दुबै गर्नुभयो ।

एकपटक उडेपछि आफूलाई भने ठूलै युद्ध जितेजस्तो लाग्यो । फेरि कतिबेला दौडेर डाँडामा जाउँ र उडिहाल्यौं जस्तो हुन्थ्यो । झन् झन् एकपछि अर्को डाँडामा जाँदै उड्न थालेँ ।

जाँदा लगाएर गएको जुत्ता घर फकिँदा हुँदैनथ्यो । जुत्ता लगाएर उड्न अप्ठेरो परेर बाटोमै फालेर उड्थें । ल्याण्डिङ गर्दा खुट्टा काट्थ्यो । काँडा बिझ्थ्यो । आमाले टाउको सुम्सुम्याउँदै रातभरि काँडा निकालेर बस्नुहुन्थ्यो ।

साथीहरुले कहिले हात भाँच्ने, कहिले खुट्टा । त्यो देखेर बाबा आमाले एकदमै पीर मान्नुहुन्थ्यो । त्यसपछि बुबाआमाले निर्णय गरिदिनुभयो, यसलाई प्याराग्लाइडिङको कोर्स नै गराइदिनुपर्छ । ब्लू स्काई प्याराग्लाइडिङ कम्पनीबाट यसको कोर्ष गरें, जतिबेला म जम्मा १२ वर्षको थिएँ ।

६ कक्षा पढ्दादेखि ९ वर्षको उमेरमै उड्न थालें । स्कुलका साथीभाइ पनि दंग पर्थे । जतिबेलादेखि प्याराग्लाइडिङ बुझें, देखें, महसुस गरें र उड्न थालें त्यतिबेला देखि नै मेरो योबाहेक अर्को उद्देश्य नै रहेन ।

स्कुल पढ्दा साथीभाइले अनेक योजना सुनाउँथे । आफ्नो सपना आकासमा हावासँगै कावा खाँदै उड्ने नै थियो । त्यतिबेलादेखि नै डाक्टर बस्छु, इन्जिनियर बन्छु भन्ने कहिल्यै लागेन ।

पछि समाचार हेर्थे, भिडियोहरु हेर्थें । यो क्षेत्रमा झन् बढी स्कोप रहेछ भन्ने लाग्यो । अलिअलि व्यवसाय पनि गर्ने, बाहिर यात्रा गर्ने, प्रतियोगितामा पनि भाग लिने र यसमै लाग्छु भन्ने सोचिरहन्थें ।

अहिले त्यही कुरा मनमा गडिसकेको छ । मेरो निश्कर्ष पनि यही बनिसकेको छ कि, ‘मेरो वर्तमान, भविष्य भनेको प्याराग्लाइडिङ नै हो । अर्को विकल्प छैन ।’ जब एसियाडमा रजत जितेर फर्कें मान्छेहरुले अचम्म माने । यो खेल थाहा नपाउनेले पनि थाहा पाए ।

साथीभाइले सेलिब्रेटी बनिस् यार भन्छन् । कति ठाउँमा अटोग्राफ पनि दिएको छु । अब पनि मेरो एकमात्र उद्देश्य भनेको प्याराग्लाइडिङबाटै आफ्नो भविष्य बनाउने, आफूमात्रै होइन देशको पनि नाम राख्ने हो ।

०००

अबको मेरो मुख्य लक्ष्य दक्षिण एसियाली खेलकुद प्रतियोगिता नै हो । त्यसमा गोल्डमेडल जित्ने लक्ष्य छ । हाम्रो प्रतिस्पर्धी कमै छन् । बरु डर कतै ५ देश नै सागमा सहभागी हुन नआउने हुन् कि भन्ने हो । त्यति नभएर प्याराग्लाइडिङ विधामा प्रतियोगिता नै नहुन सक्छ ।

स्वर्ण हात पार्ने लक्ष्यसहित अहिले बन्द प्रशिक्षण चलिरहेको छ । २७ जना हामी बन्द प्रशिक्षणमा छौं । अरु खेलमाजस्तो बिहान, बेलुका दौडिनुपर्ने हामीलाई हुँदैन । बस् मौसम ठिक होस्, उड्ने नै हो ।

हावाहुरी र पानी नपरे जस्तोबेला पनि एक्युरेसी गर्न सकिन्छ । क्रस कन्ट्रीको लागि दिन राम्रो हुनुपर्छ । एक्युरेसीको सागमा प्रतियोगिताको बिधा भएपछि तयारी गरिरहेका छौं ।

हाम्रा लागि त्यति ठूलो चुनौति पनि छैन । प्याराग्लाइडिङ बढी महंगो खेल हो । इकुपमेन्ट नै महंगो पर्छ । हेर्न त अहिल राज्यले पनि हेरिराखेको छ । रजत जितेर फर्किपछि राज्यको ध्यान खिचिएको छ । इकुपमेन्ट पनि राज्यबाटै आए राम्रो हुन्थ्यो भन्ने लाग्छ । अहिले हामीले नै जुटाइरहेका छौं । साथीभाइसँग मागेर चलाइरहेका छौं । कम्तिमा प्रतियोगितामा माग्ने अवस्था नआओस् भन्ने हो । यातायातको कुरा छ । तर, कम्तिमा सरकार हेर्न थालेको छ । धन्यवाद भन्नुपर्छ ।

प्रस्तुति : अमृत सुवेदी

तस्वीर : युनिश गुरुङ

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृंखला ‘मेरो कथा’को ५४ औं अंकमा यो हप्ता प्याराग्लाइडिङ खेलाडी युकेश गुरुङको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment