+

क्यान अध्यक्षको प्रतिवद्धताः आर्थिक पारदर्शीताको प्रश्न उठ्न दिन्नँ

२०७६ असोज  ११ गते १७:३८ २०७६ असोज ११ गते १७:३८
क्यान अध्यक्षको प्रतिवद्धताः आर्थिक पारदर्शीताको प्रश्न उठ्न दिन्नँ

११ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले आर्थिक पारदर्शीता र सुशासनको प्रश्न उठाउने मौका नदिने बताएका छन् ।

शनिबार भएको विशेष साधारणसभाबाट चन्द भारी मतका साथ अध्यक्षमा चुनिएका हुन् । उनले अध्यक्षमा पूर्व अध्यक्ष विनयराज पाण्डेलाई हराउँदा उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित केन्द्रीय सदस्यहरु पनि उनकै प्यानलका आएका छन् ।

अध्यक्ष चुनिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै चन्दले भोलिसम्ममा बैठक बसेर निलम्बन फुकुवाका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पत्राचार गर्ने बताए । ‘यहाँसम्म आईसीसीको रोडम्यापमा आएका छौं, अब अन्य प्रक्रिया पुरा गरेर निलम्बन फुकुवा गर्न आग्रह गर्छौं’ उनले भने ।

१३ अक्टोबरमा बस्ने आईसीसी बोर्ड बैठकले निलम्बन फुकुवा गर्ने विश्वास लिइएको उनले बताए ।

विगतमा आईसीसी र सरकारले पनि क्रिकेट संघको प्रशासन र आर्थिक परदर्शीतामा प्रश्न उठाएको स्मरण गर्दै अध्यक्ष चन्दले भने, ‘अब कहिँ कतै प्रश्न उठाउने ठाउँ दिन्नँ ।’
आईसीसीले अहिले पनि शंकाको दृष्टिले हेरेको तथा आफूले दिएको फण्डको सही सदुपयोग हुनेमा शंका रहेको भन्दै उनले भने, ‘हामी आईसीसीलाई कन्भिन्स गराउँछौं । गैर पारदर्शी वा विवाद हुने कुनै पनि काम गर्दैनौं ।’

अध्यक्ष चन्दले ५ वर्षे योजना बनाएर अगाडि बढ्ने र एकदिवसीय क्रिकेटलाई बलियो बनाउन जिल्ला र प्रदेशस्तरीय प्रतियोगिताहरुलाई प्राथमिकता दिने सुनाए । प्रादेशिक संघहरुलाई क्रिकेट विकासको जिम्मा दिने र केन्द्रले सुपरिवेक्षणको भूमिका खेल्ने अध्यक्ष चन्दले बताए । उनले भने, ‘काठमाडौंमा मात्र सिमित गरेर नेपाली क्रिकेट धेरै अगाडि जान सक्दैन ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय