Comments Add Comment

शाकाहारीको दशैं परिकार : केरा, पनिर, चिउरा…

‘दशैंमा पशुवलीले मन पोल्छ’

१३ असोज, काठमाडौं । तनहुँका कृष्ण गुरुङ (४६) सानैदेखि पशुपन्छीलाई माया गर्ने स्वभावका थिए । गाउँ–घरमा पशु मार हानेको देख्दा दुःखी हुन्थे । माछा-मासुमा उनलाई त्यति रुची थिएन ।

अन्तत २५ वर्षको भएपछि उनले घोषितरुपमै माछा-मासु खान छोडे । २७ वर्षको हुँदा पुरै ‘भेगान’ बने ।

कृष्ण अहिले मासुजन्य पदार्थ नखाने मात्र होइन, पशुबाट बन्ने कुनै पनि उत्पादन प्रयोग गर्दैनन् । यतिसम्म कि उनी छालाको जुत्ता र चराको प्वाँखबाट बनेको कपडाहरुसमेत लगाउँदैनन् । उनी भन्छन्, ‘पशुपन्छीमा पनि चेतना हुन्छ, भलै मानिसमा जति नहोला । तर उनीहरुमाथि मानिसहरु निर्मम बनेको देखेर मेरो मन रुन्छ ।’

बाल्यकालमा माछामासु भनेपछि हुरुक्कै हुने धादिङका बीपी सुधा शाकाहारी बनेको ५ वर्षभन्दा बढी भयो । पशुवध गरेको प्रत्यक्ष देखेपछि मन बिचलित भएको र माछा–मासु, अण्डा जस्ता परिकारले शरीरमा नकारात्मक प्रतिक्रिया देखाउन थालेपछि शाकाहारी बनेको सुधा बताउँछिन् । छिट्टै भेगान बन्ने सोचाई छिन् उनी ।

नेपाल चाटर्ड एकाउन्टेन्ड संघ एक्यानका निवर्तमान अध्यक्ष हरि सिलवाल शाकाहारी भएको २७ वर्ष भयो । उनको घरमा धुम्रपान, मध्यपान र मासु ढोकाबाट छिर्दैन । उनी मात्र होइन, ६ जनाको परिवारमा सबै जना शाकाहारी छन् ।

सिलवालको छोरा भेगान बनेको बनेको धेरै भएको छैन् । अबोध प्राणी हत्या गरेर घर तथा शरिरमा भित्र्याउन नचाहेको रक्तदोस सिलवाल बताउँछन् ।

‘पशु–पन्छीमा हुने माया र चेतना मानिस जस्तो चेतनशिल भन्नेले नबुझ्नु दुःखद छ,’ उनले भने ।

दशैंमा मन पोल्छ

नेपालीहरुको महान चाड दशैंको अनेक विशेषतामध्ये एक हो, माछामासुको सेवन । कतिपय विपन्न परिवारमा त मासु खानका लागि दशैं नै आउनुपर्छ ।

दशैंको धार्मिक महत्वलाई ओझेलमा पार्नेगरी पशुबली दिने कुरामा केन्द्रित भएको देख्दा दुःख लाग्ने कृष्ण गुरुङ बताउँछन् ।

‘दशैंलाई बली प्रथामा आधारित पर्वको रुपमा चर्चा गरिँदा मन दुख्छ,’ उनी भन्छन्, ‘हत्या गरिएका प्राणिलाई स्मरण गरेर श्रद्धाञ्जली व्यक्त गर्न दशैंमा एकान्त स्थानको खोजीमा हुन्छु म ।’

दशैं आउँदा पशुपन्छी–हिंसा नभई दिए हुन्थ्यो भने कृष्णजस्ता अरु शाकाहारीहरु पनि चाहन्छन् । अझ दशैंमा शाकााहरीलाई नै उपहासका पात्र बनाइने गरेको अनुभव हरि सिलवालको छ ।

उनी भन्छन्, ‘मांशाहारीले हामीलाई राम्रो नमान्लान्, तर हामी आफूलाई संसारको स्वस्थ, प्रकृतिप्रेमी र अंहिसाप्रेमी हौँ भनेर गर्व गर्छौं ।’

दशैंको परिकार

मांशाहारीले मासुका विभिन्न परिकार दशैंमा उपभोग गरिरहँदा शाकाहारीको भोजनमा चाहिँ के के हुन्छ त ?

भेगान कृष्ण गुरुङ मासु नखाँदैमा दशैंमा खानपिनको चिन्ता नहुने बताउँछन् । अरु दिनको खानपिन र दशैंको खानपिनमा धेरै फरक नहुने उनको भनाइ छ ।

‘हाम्रो लागि दशैं खानपिनको भन्दा पनि भेटघाटको पर्व हो,’ उनले भने, ‘मेरो त परिवारका अन्य सदस्य पनि शाकाहारी नै भएकाले भान्सामा के पाक्ला, मासुजन्य पदार्थको मिसावट होला कि वा अरुले मिठो परिकार खाए मैले के खाने भन्ने नै हुन्न ।’

चार्टर्ड अकाउन्टेन्ट हरि सिलवाललाई पनि दशैंमा खानाको पिर छैन । उनी भन्छन्, ‘जसरी अहिले चलेको छ त्यस्तै नै हो । परिवार नै शाकाहारी भएको कारण आफन्त र पाहुनाहरुले पनि कुरा बुझेका हुन्छन् । त्यसैले अप्ठेरो पर्दैन ।’

सिलवालका अनुसार उनको परिवारले दशैंमा दूध, केरा, चिउरा, पनिर, हरियो सागपात, फलफूल, मिठाई जस्ता परिकार दशैंमा उपभोग गर्छ ।

‘टिकाटाला, भेटघाट र आर्शिबाद थाप्ने काम सबैको जस्तै हुने भएकाले दशैं उल्लासमय नै हुन्छ,’ सिलवालले भने ।

पनिर, च्याउ, हरियो तरकारी, दूध, दही जस्ता परिकार नै दशैंमा खाने गरेको बीपी सुधा बताउँछन् । परिवारका अन्य सदस्य शाकाहारी नभएका कारण खानाका लागि दोस्रो भान्सा गर्नुपर्ने अवस्था छ उनलाई । तर, परिवारले कुरो बुझेका कारण खासै समस्या नहुने बताउँछिन् ।

‘मेरो शाकाहारी जीवनशैलीलाई परिवारले सकारात्मक ठानेका कारण पनि दशैंमा दुःख छैन,’ उनले भने ।

दशैंको बलीमा ज्यान गुमाएका पन्शुपन्छीप्रति श्रद्धाञ्जली व्यक्त हेल्मो समाज सेवा केन्द्रले एक कार्यक्रम पनि आयोजना गर्दैछ । यस्तै सम्पूर्ण प्राणि जातिको हितको लागि तीन–चार दिनसम्म मौन ब्रत बस्ने योजना छ । असोज १५ गते अहिंसा दिवस मनाउने, १७ गते पशु दिवस मनाउने जस्ता कार्यक्रम पनि शाकाहारी समुहहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment