Comments Add Comment

सी जिनपिङको भ्रमणअघि चीनमा नेपाली सुरक्षा अधिकृतको रिहर्सल

जेड प्लस सुरक्षा दिने तयारी

Photo Credit : अनलाइनखबर । एक महिनाअघि चीनमा तालिमका लागि गएको नेपाली सुरक्षा अधिकृतको टोली । एक साताअघि मात्रै अर्को टोली पनि तालिम लिएर फर्किसकेको छ ।

१५ असोज, काठमाडौं । दुई दशकको अन्तरालमा हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई लक्षित गरेर सरकारले सुरक्षा तयारी थालेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ‘जेड प्लस’ तहको विशिष्ट सुरक्षा प्रदान गर्ने सरकारी योजना छ ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार जिनपिङको सुरक्षा चुनौतीलाई विश्लेषण गरेर सर्वोच्च तहको सुरक्षा दिन लागिएको हो ।

अधिकृतहरुका अनुसार यो सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ । जेड, वाई र एक्स सुरक्षा व्यवस्थामा क्रमशः २२, ११ र २ जना विशेष कमाण्डो खटिने गर्छन् ।

यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुने बताइएको छ भने टोलीका सदस्य अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन् ।

उनको भ्रमणमा चीनबाटै बुलेट प्रुफ गाडी आउने बताइए पनि औपचारिक जानकारी दिइएको छैन । यद्यपि, तीन वटा विमानमा टोली आउने जनाइएको छ ।

जिनपिङको भ्रमण पूर्व परीक्षण उडानका लागि बुधबार एउटा जाहज काठमाडौं आएर फर्किएको छ । बोइङ ७४७–८०० विमान आएर फर्किएको हो ।

मुलुकमा आउने अति विशिष्ट व्यक्तिका लागि प्रदान गरिने जेड प्लस तहको सुरक्षा नेपाली सेनाको नेतृत्वमा हुने गृहका एक अधिकारीले बताए ।

अति विशिष्ट सुरक्षा कार्यविधि, २०७० मा भएको व्यवस्था अनुरुप सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गरेर सुरक्षा प्रदान गर्नेछ ।

समन्वयका लागि सेनाले बलाधिकृत रथी शरद गिरीलाई खटाएको छ भने प्रहरीले महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षत्री र सशस्त्र प्रहरीले पनि एक जना डीआईजीको नेतृत्वमा टोली खटाएको छ ।

सम्भवतः चिनियाँ राष्ट्रपतिको भ्रमण २७ असोजमा हुनेछ । त्यसक्रममा उनले चीनबाटै केही सुरक्षा अधिकृत पनि ल्याउनेछन् । तर, हालसम्म संख्या भने खुलाइएको छैन ।

चीनमै लगेर दिइएको तालिममा नेपाली सुरक्षा अधिकृतले प्रदर्शन गरेको क्षमताका आधारमा ग्रेडिङ पनि दिइएको छ

सीको मुभमेन्टमा पहिलो सुरक्षा घेरामा चीनबाट आएका तालिम प्राप्त अधिकृत खटिनेछन् भने दोस्रोमा नेपाली सेनाको टोली रहनेछ । उनको स्कर्टिङका क्रममा चिनियाँ सुरक्षा टोली दायाँपट्टि रहने छ भने बायाँतिर नेपाली सेना रहने सुरक्षा स्रोत बताउँछ ।

त्यसपछिको घेरामा नेपाल प्रहरीको टोली रहनेछ भने सशस्त्र प्रहरीले भीभीआईपीको आवत–जावत हुने क्षेत्रको निगरानी र ‘हाई प्वोइन्ट भ्यू’ को विषयमा पनि खटिनेछ । नेपाल प्रहरी र सशस्त्रको विशेषज्ञ कुकरलाई पनि परिचालन गरिनेछ भने बम स्क्वायड टोली समेत तैनाथ रहने स्रोतको दाबी छ ।

नेपाली सुरक्षा अधिकृतलाई चीनमा तालिम

राष्ट्रपति जिनपिङको नेपाल भ्रमणको सूचना सार्वजनिक हुनु अगावैदेखि बालुवाटारस्थित चिनियाँ दूतावासले ‘थ्रेट एनालाइसिस’ थालिसकेको थियो । दूतावासमा रहेको ‘क्लोज प्रोटेक्सन युनिट’ र चिनियाँ विदेश मन्त्रालयसँग समन्वय गरेर सुरक्षा तयारी गरिएको स्रोतले बतायो ।

दूतावासले गरेको विश्लेषणमा ‘फ्री तिब्बत अभियान’मा संलग्न व्यक्ति र तिब्बती शरणार्थीले राष्ट्रपतिलाई कालो झण्डा देखाउन सक्ने आँकलन गरिएको छ । नेपाली गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग, प्रहरीको विशेष ब्युरो लगायतको विश्लेषण पनि दूतावासको विश्लेषणसँग मिल्दोजुल्दो छ ।

सुरक्षा चुनौतिको प्रारम्भिक विश्लेषणपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पटकपटक गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटवार्ता गरेकी छन् । भेटमा मुलुकको सुरक्षा अवस्था, सरकारले चिनियाँ राष्ट्रपतिको भ्रमणमा प्रदान गर्ने सुरक्षा लगायतको विषयमा पनि छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ ।

सीको भेट अगाडि नेपालस्थित चिनियाँ दूतावासको समन्वयमा नेपाली सुरक्षा अधिकृतलाई चीनमा भीभीआईपी सुरक्षा सम्बन्धी तालिम दिइएको छ । स्रोतका अनुसार उपत्यकामा कार्यरत् नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतलाई ११ दिने तालिम प्रदान गरिएको हो ।

यो वर्षको असोजसम्मको अवधिमा मात्रै चीनमा गएर ४५ जना अधिकृतले विशिष्ट व्यक्ति सुरक्षा सम्बन्धी तालिम लिएको नेपाल प्रहरीसँग तथ्यांक छ ।

पछिल्लोपटक एक साताअघि तालिम सकेर फर्किएको टोलीमा तीन सुरक्षा निकायका गरी २१ जना अधिकृत संलग्न थिए । ‘चीनमै लगेर दिइएको तालिममा नेपाली सुरक्षा अधिकृतले प्रदर्शन गरेको क्षमताका आधारमा ग्रेडिङ पनि दिइएको छ’, स्रोतले अनलाइनखबरसँग भन्यो ।

राष्ट्रपतिको सुरक्षाका क्रममा कुनै समस्या आइपरे तत्काल प्रतिक्रिया जनाउँदा विभिन्न सुरक्षा निकायका अधिकृतबीच समन्वयमा अप्ठ्यारो नहोस् भनेर चीनले तालिम दिएको हुन सक्ने एक सैनिक अधिकृतले बताए ।

उनले भने, ‘चीनबाट आउने सुरक्षाकर्मीको टोली र नेपाली सुरक्षा टोलीसँग पनि समन्वयको आवश्यक हुन्छ, त्यसका लागि भ्रमण अघि यस्तो तालिम महत्वपूर्ण हुन्छ ।’

विशिष्ट व्यक्तिको सुरक्षामा आइपर्ने सामान्य चुनौतिलाई पनि साम्य पार्न जति ढिला हुन्छ, त्यति समस्या हुने उनी बताउँछन् । ‘त्यसैले सबै अधिकृतलाई एउटै भाषा, सुरक्षाको टेक्निक, क्षमताबारे जानकारी हुनु आवश्यक हुन्छ’, उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment