Comments Add Comment

केपी ओलीको बनारसमा पढ्ने इच्छा

केपी (शर्मा ओली) फेरि आइपुग्नुभयो । उहाँले ‘असल र इमानदार साथीहरूबीच हाम्रा कुरा राख्दै गर्दा पनि हुन्छ’ भन्नुभयो । मैले कसैसँग कुरा राख्न सकेको थिइनँ र कोसिस गरुँला मात्र भनेँ ।

भोलिपल्ट हामी दुवै मेनरोड हुँदै निस्क्यौँ । मेनरोडको माझ बजार निकै चहलपहल हुने ठाउँ । त्यहीँ ‘रिजाल फोटो स्टुडियो’ थियो । कताबाट फोटो खिच्ने रहर उब्जियो । रहरको अगाडि केको डर ! पस्यौँ स्टुडियोभित्र । स्टुडियो चलाउने रिजाल दाइले झुस्स दारी मुसार्दै ‘कस्तो खिच्ने ?’ भने । हामीले रहरअनुसार सिङ्गल र डबल अनि हाफ साइज र फुल साइजका फोटा खिचिमाग्यौँ र बाटो लाग्यौँ ।

ती फोटा मैले छुट्टै एल्बममा सुरक्षित राखेँ । सर्वस्वहरणसहित जन्मकैद सजाय सुनाइएका नेता र म निर्धक्क भएर जिल्ला प्रहरी कार्यालयकै अगाडि फोटो खिच्नु कस्तो दुस्साहस थियो !

फोटो खिचिसकेपछि हामी जेबीको तिर लाग्यौँ । बाटामा अरूले नबुझून् भनेर हामी अङ्ग्रेजीमा कुरा गथ्र्यौं । केपी अङ्ग्रेजीमा राम्ररी कुरा गर्न सक्नुहुन्थ्यो । मैले विराटनगर टेकेदेखिकै निकटतम, सुशील र इमानदार साथी जेबी नै थिए । त्यसैले केपीसँग भेट गराउने प्रस्ताव राखेको थिएँ । केपीले पनि सीधा र मेधावी विद्यार्थी भनेपछि भेट्ने मन गर्नुभएको थियो ।

हामी जेबीको घर पुग्यौँ । केपी कमरेडले आफूलाई ‘कालीचरण’ भनेर चिनाउनुभयो । चिनाजानी गराएपछि म बिदा भएँ ।

पछि भेट हुँदा जेबीलाई ‘कालीचरण कस्ता रहेछन् ?’ भनेर सोधेँ । एकछिन अकमकाएर उनले भने, ‘उहाँ त अचम्मकै लाग्यो । पहिले मेरो साहित्यिक गतिविधिबारे सोध्नुभयो । कविता भन्न लगाउनुभयो र आफूले पनि भन्नुभयो । त्यसपछि झापा सङ्घर्षबारे सङ्क्षेपमा बताउँदै मेरो धारणा सोध्नुभयो र भेट गर्दै गरौँला है भनेर बाटो लाग्नुभयो । मैले पनि हवस् भनिदिएँ ।’

मैले ‘ए, ठिक छ यार’ भनेँ । मनमनै भने जेबी भूमिगत पार्टीको सम्पर्कमा आउने भए भनेर खुसी लाग्यो ।

एक सातापछि साँझ केपी पुनः आइपुग्नुभयो । थाक्नुभएको थियो । राति खासै कुराकानी भएन । बिहान उहाँ मिल्स एरियातिर लाग्नुभयो । म र उहाँ बस्नका लागि कुनै डर नभएको सामान्य क्याम्पसे साथीजस्ता भएका थियौँ । आउने जाने मामिलामा कुनै सतर्कता थिएन ।

राति गफ सकिएपछि उहाँले भन्नुभयो, ‘अब तपाईंलाई यहीँका साथीहरूले पनि सम्पर्क राख्न सक्छन् । ती लामो समयसम्म राजनीति गरेका व्यक्ति हुन् । बाँकी आफैँ कुराकानी गर्नुहोला ।’ मैले ‘हुन्छ’ मात्र भनेँ । भोलिपल्ट सखारै उहाँ पूर्वतिर लाग्नुभयो ।

एक दिन म क्याम्पसबाट डेरातिर आउँदा देवकोटा चोकनेर एक जना अग्लो, दुब्लो, नाक निकै लामो भएको मान्छेले अलिअलि मुस्काए जस्तो गरी ‘तपाईंं केआर खम्बू हैन ?’ भनेर सोधे । म छक्क परेँ । ‘मलाई अहिले देवकोटा भनेर चिन्नुस् न । म यतैतिर बस्छु । आज हतार छ । अर्को दिन कुरा गर्न तपाईंकामा आउँछु,’ उनले भने ।

‘मेरो डेरा कसरी थाहा पाउनुहुन्छ त ?’ मैले अचम्म मान्दै सोधेँ । उनी ‘तपाईंं नहरछेउ बस्नुहुन्छ होइन ?’ भन्दै बाटो लागे । केपीले भनेका मान्छे होलान् भन्ने सोच्दै डेरातिर लागेँ ।

नभन्दै एक साँझ उनै नौला व्यक्ति दुई जना साथी लिएर आए । साथीको नाम ‘वर्मा’ र ‘राम’ बताए । उनले क्रान्तिको लामो बाटो तय गर्न कानुनले छुट दिएका सङ्घसंस्था, व्यवसाय, जागिर आदि सबै ठाउँमा घुसेर सदुपयोग गर्दै राजनीतिक काम पनि गर्नुपर्ने, जति सक्दो शिक्षा लिनु र दिनुपर्ने जस्ता कुरा राखे । यो विचार झापाका साथीहरूसँग मेल नखाए पनि मलाई भने ठिकै लाग्यो । म पनि पढाइ र राजनीतिलाई सँगसँगै अघि लानुपर्ने बाटोमै थिएँ ।

छुट्ने बेला ‘तपाईंंले कहाँ पढ्नुभएको हो ? के गर्दै हुनुहुन्छ ?’ भनी सोधेँ ।

मुसुमुसु हाँस्दै उनले भने, ‘मैले बनारसतिर पढेको हो, सानो स्कुलमा पढाउँदै एउटा व्यवसाय पनि गर्छु ।’

त्रिविमा सेमेस्टर प्रणालीको पहिलो गाँस हामी थियौँ । पाठ्यक्रम नयाँ थियो । इन्डियन इङ्लिस शैलीमा पढेका हामीलाई अमेरिकाबाट प्रकाशित किताब फलामको चिउरा थिए । तैपनि सिक्दै जाँदा बुझने हुँदै थियौँ ।

क्याम्पसको पढाइ घामछायाजस्तै थियो । चारवटा फ्याकल्टीमध्ये कुनै एउटामा समस्या उत्पन्न भए हडताल भइहाल्थ्यो । मानविकी र वाणिज्यतर्फका साथीहरू हडताल हुने स्थिति आयो कि घरतिर कुद्थे ।

हडतालकै क्रममा मेरो कोठाका साथीहरू घर गएका थिए । म कोठामा क्लास नोट मिलाउँदै थिएँ, केपी टुप्लुक्क आइपुग्नुभयो । बनारस पुगेर आउनुभएको रहेछ । उहाँले त्यताका धेरै नेतासँग भेट भएको सुनाउनुभयो । उहाँले गम्भीर हुँदै भन्नुभयो, ‘हेर्नुहोस् केआरजी, शिक्षा जति सक्दो धेरै लिनुपर्दोरहेछ । जहाँ हे¥यो योग्यताकै सवाल आउँछ । तपाईंंं पढ्दै हुनुहुन्छ, वातावरण मिलिन्जेल नछाड्नुहोस् । म त नेपालमा पढूँ भने सर्वस्वहरण र आजन्म सजाय तोकिएको छ । अब बनारसतिर गएर भए पनि पढाइ अगाडि बढाउनुप¥यो । यसका लागि मलाई खर्चको बन्दोबस्त गर्नु छ । एकपल्ट सल्लाह गर्न तपाईंंं मेरो काकाको घरमा गइदिनुहोस् है ।’

उहाँले एकदुई वर्षअघि नै म्याट्रिक पास गरेर शिक्षण पनि गर्नुभएको थियो । तर परिस्थितिले यस्तो कुरा गर्न बाध्य हुनुहुन्थ्यो । मैले घनिष्ठ साथीको हैसियतले हुन्छ भनेँ ।

केपीलाई कोठामै छाडेर म झापा लागेँ । दमक हुँदै गुवालडुबा निस्केर बास बसेँ । भोलिपल्ट बैगुनधुरा हुँदै महाभारा, महाभाराबाट पनि सयौँ होली तर्दै पाँचगाछी, शिवगन्ज भएर कनकाई पुगेँ । कनकाईले बनाएको बगर निकै फराकिलो थियो । बर्खाको बेला । बाढीले बनाएका थुप्रै भँगाला तर्नुपर्ने । जुन भँगालो तर्न खोज्यो, डुबाउन र बगाउन खोज्ने । घुम्दै तर्दै गरेर बल्ल झमक्क साँझमा शरणामती टापु पुगेँ । नौलो मानिस गाउँमा आउँदा कतै टाउको कटुवा पो आयो कि भनेर सशङ्कित हुँदै चियोचर्चो हुन्थ्यो ।

नदी किनारको अग्लो भागमा दुईतले काठको घरमा पुगेँ । घरमा केपीका काका, काकी र दुईतीन जना ससाना छोराछोरी रहेछन् । काकालाई भेटेर स्टिच गरेको चिठी दिएँ । चिठी बाहिरबाट हेर्नासाथ उहाँले ‘माथि हिँड्नुहोस् भाइ’ भन्नुभयो ।

खाना खाएपछि उहाँले चिठी पढ्नुभयो । ‘ए, कहाँ हरायो भनेको त तपाईंंसँगै रहेछ । अल्लारे केटाहरू नगर भन्दाभन्दै के गरे के गरे ! अहिले हामी दाजुभाइ नातेदारलाई पनि टाउको लुकाउन मुस्किल परिरहेको छ । जहिले पनि जहाँ भेटे पनि सोधखोज, निगरानी, शङ्का ! दिक्क बनाइसक्यो,’ उहाँले भन्नुभयो ।

‘हेर्नुस् भाइ, त्यस केटोलाई एसएलसीसम्म दुखजिलो गरेर सहयोग गरेकै हुँ । पास गरेर जागिर खान थालेपछि भाइबहिनीलाई हेर्ला कि भन्ने ठुलो आशा थियो तर आफँै हरायो, त्यस्तै काण्डमा फस्यो । अहिले आफ्नै छोराछोरी पढाउन मुस्किल परिरहेको छ । म सहयोग गर्न सक्दिनँ,’ उहाँले निष्कर्ष सुनाउनुभयो ।

राति अबेरसम्म उहाँले पहाडदेखि मधेस आएर बस्दासम्मका सबै पारिवारिक रामकहानी सुनाउनुभयो । मलाई केपीप्रति झन् श्रद्धा जागेर आयो ।

भोलिपल्ट म त्यहाँबाट घर गएँ । घरमा राति बुबासँग एक जना साथीलाई अध्ययनका लागि सहयोग गर्न आवश्यक परेको बताएँ । बुबाले ‘आफैँ त महादेव, कसले दिने वर !’ भनेर टारिदिनुभयो । अर्को दिन म विराटनगर फर्किहालेँ । केपी आस गरेर पर्खिरहनुभएको थियो । मैले धेरै सकसका साथ उहाँको काका र मेरो बुबाको जवाफ सुनाएँ । उहाँ बोल्नुभएन । बिछ्यौनाको अर्को पट्टि फर्केर सुत्नुभयो । म पनि खिन्न भएँ । भोलिपल्ट उहाँ केही दिनपछि फर्कन्छु भन्दै हिँड्नुभयो । कता हिँडेको हो, केही भन्नुभएन ।

केही सातापछि फेरि उहाँ आइपुग्नुभयो । खाटमा बसेर साथमा ल्याएका पत्रपत्रिका निकाल्दै ‘आज त डेरामै हुनुहुँदो रहेछ’ भन्नुभयो । बेलुकी कुराकानीका क्रममा झापातिरको खबर सोधेँ । उहाँले नयाँ पार्टी निर्माण हुने विषयमा छलफल भइरहेको सुनाउनुभयो । नेतृत्व एकलकाँटे हुँदै गएको उहाँको टिप्पणी थियो । ‘अब म समन्वयका लागि केही दिन यता काम गर्छु’ भन्दै सुत्नुभयो ।

मेरो भने पढाइ र राजनीतिलाई कसरी सन्तुलित बनाउने भन्ने समस्या थियो । यी दुवैलाई म चट्ट छाड्न सक्ने स्थितिमा थिइनँ । नेताहरूले पनि पढाइलाई कति महŒव दिँदा रहेछन् भन्ने प्रस्ट भइसकेको थियो । सायद एक वर्षअघि होला, सीपीले मकहाँ आफ्नो डायरी छाडेर जानुभएको थियो । डायरीभित्र के लेखिएको थियो, मैले हेर्ने कुरा भएन । तर अचानक पहिलो पृष्ठ पल्टिँटा अङ्ग्रेजीमा ‘मलाई बुबाआमाले दार्जिलिङ पढ्न जा भनेर कर गरिरहेका छन् । अब म के गरूँ ?’ लेखिएको थियो । मैले त्यो डायरी केपीमार्फत सीपीलाई फिर्ता पठाएको थिएँ । समय अनुकूल हुँदा सबैले अध्ययन गर्न चाहँदा रहेछन् भन्ने कुरामा म निश्चिन्त थिएँ ।

केपीका कविता

कात्तिक दोस्रो सातातिर एक साँझ केपी कमरेड मेरो डेरामा आइपुग्नुभयो । निरास देखिनुहुन्थ्यो । उहाँले झापाको राजनीतिक गतिविधि अस्तव्यस्त हुँदै गएको बताउनुभयो ।

‘झापा आन्दोलनमा हाम्रा धेरै साथीको योगदान छ । पाँच जना साथी सहिद भएको सातआठ महिना भइसक्यो । सबैको मुक्तिका लागि जनवादी व्यवस्था स्थापना गर्ने हाम्रो सपना हो । यो कसैको हैकमभित्र रहेर सम्भव छैन । म अति केन्द्रीयता र अति अराजकतावाद होइन, खुला प्रजातान्त्रिक परिपाटीको पक्षमा छु,’ उहाँले भन्नुभयो ।

उहाँ नेतृत्वप्रति असन्तुष्ट हुनुहुन्थ्यो ।

‘झापाको नेतृत्व जमिनदार कुलबाट आएका व्यक्तिको चङ्गुलभित्र छ । म क्रान्तिकारी पार्टीमा जमिनदारको छोराको हालीमुहाली हुनु हुँदैन भन्ने मान्यता राख्छु । सीपीले पार्टी सङ्गठनको नेतृत्व पाएपछि एकाधिकार फैलाएर मनपरी गरिरहेका छन् । मेरै स्थानमा उनलाई ल्याउने जस्ता अपमानजनक काम आरके मैनालीले गरे । म झापाको चौघेराभित्र जकडिएको कम्युनिस्ट आन्दोलनलाई देशव्यापी पार्दै अन्तर्राष्ट्रियकरण गर्न चाहन्छु । यस कामका लागि म एक्लोले सम्भव नभएकाले एमसी (मोहनचन्द्र अधिकारी) लाई लिन जान्छु । उनी अहिले भारतको लखनउमा रेलवे मजदुर भएर पार्टी काम गर्दैछन् । उनी र म भएर झापालाई सुधार गर्ने प्रयास थाल्छौँ,’ उहाँले भन्नुभयो ।

मेरो मन खिन्न भयो । म केपी र सीपी दुवै नेता मिलेको हेर्न चाहन्थेँ । मेरो दुवैप्रति समान श्रद्धाभाव थियो । तर अरू कसैलाई टिक्न नदिने वातावरण बनाएको देख्दा सीपीप्रति शङ्का लाग्न थाल्यो । मैले केपीमाथि सीपीबाट त्यस्तो अपमानजनक व्यवहार होला भन्ने सोचेको थिइनँ । वर्गीय चरित्र देखिएको हो कि जस्तो पनि लाग्यो ।

केपीले मलाई गम्भीर मुद्रामा भन्नुभयो, ‘तपाईं बिस्तारै आफैँ बुझदै जानुहोला ।’

केपीले लखनउ जानका लागि बन्दोबस्त मिलाउने जिम्मा मलाई दिनुभयो । ‘कोही पनि वैचारिक पक्षमा पिँजडाको सुगा हुनु हुँदैन, सबै विचार र भावनालाई फुल्न र फल्न दिनुपर्छ’ भन्दै उहाँले कुराको बिट मार्नुभयो ।

भोलिपल्ट बिहान दुई दिनपछि आउँछु भन्दै केपी जोगबनीतिर लाग्नुभयो ।

भूमिगत साथीहरूले समयको महत्व खुब बुझेका हुन्छन् । केपी भनेकै दिन टुप्लुक्क आइपुग्नुभयो । उहाँले माधव, देवकोटा आदिलाई भेटेर सरसल्लाह गरेको छोटकरीमा सुनाउनुभयो । ‘बुबाले पढाइन्जेल कसैको लहैलहैमा लागेर अध्ययन नछाड्नु होला । म पनि मौका पाए बनारसतिर पढ्ने कोसिस गर्छु । जमिनदारको छोराले आफूलाई परेको बेला तपाईंंलाई हन्बेर्नु बनाए पनि पछि बिर्सन्छ । यो नै पेटिबुर्जुवाहरूको चाल हो । म उताबाट फर्केपछि पार्टी सङ्गठनलाई आधारभूत परिवर्तन गर्दै अधिनायकवादी होइन, जनवादी बनाउनेछु,’ उहाँले दृढताका साथ भन्नुभयो ।

भोलिपल्ट बिहानै उहाँलाई पश्चिम जाने बसमा चढाएर फर्केँ । कोठामा आएर सिरानीमुनि राखेको आफ्नो डायरी हेरेँ । कोठामा एक्लै बसेका बेला केपीले ‘कालीचरण’ का नामबाट त्यस डायरीमा तीनचारवटा कविता लेख्नुभएको थियो । उहाँले ती कविता मलाई सुनाइसक्नुभएको थियो । ती पानाहरूमा हाँसिरहेका सबै कवितालाई पुनः पढेँ । एउटा कविता यस्तो थियो–

होसियार होऔ साथीहरू !

हाम्रो लामो बाटो

टेढोमेढो र अनकन्टार छ

सीधा र कुप्रा तिखा–तिखा काँढाहरूले भरिएको छ

उपद्र्याहा जङ्गली जनावरहरू

आफूलाई सारा जङ्गलभरको राजा सम्झन्छन्

होसियार !

कहीँ तिनीहरूले खान नपाऊन्

र थकाइले निराश बनाउन नपाओस्

प्यासै प्यास लामा–लामा मरुभूमिहरू पार गर्नु छ

हुरी, आँधी, बादल झरीहरूमा

अग्ला–अग्ला हिउँले पुरिएका चिप्ला डाँडाहरूलाई पार गर्नु छ

होसियारीसाथ कदम चलाउनुपर्छ

थकाइ भोकतिर्खा, डरत्रास र निराशाहरू

यस यात्राका दुस्मन हुन्

यिनीहरूले हरेक पलपलमा

खतराको घण्टी बजाइरहेछन् !

होसियार होऔ !

आफ्ना पदहरूलाई राम्ररी टेक्दै

विचलित नभई हजारौँ कठिनाइका पहाडहरूलाई पार गर्नु छ

दृढ होऔ !

अन्तिम लक्ष्यसम्म पुग्न

होसियार होऔ ! साथी हो !!

होसियार होऔ !!!

– कालीचरण, विराटनगर (१४–४–२०३०)

अजीवका पाहुना

छात्रावासमा एक दिन बिहानै रामबहादुर थापा भन्ने व्यक्तिको फोन आयो । ‘मलाई जेबीले तपाईंसँग भेट्नू भनेको छ । म अहिले न्युरोडको होटल टेबहालमा छु । मलाई लिन आउनुहोस्,’ उनले फोनमा भने ।

तीनचार महिनाअघि जेबीले चिठीमा बखान गरेका थिए, ‘हाम्रै युनिभर्सिटी पढ्ने एक जना नेपाली साथी नेपालको राजनीतिक खबरले विचलित भएका छन् । उनले युनिभर्सिटी अवलोकन गर्न आएका देशकै सर्वोच्च नेताहरूसँग पनि वादविवाद गरेर अप्ठ्यारो पारे । विश्वविद्यालयका अधिकारीहरूलाई पनि सकारात्मक स्पष्टीकरण दिएनन् । आफ्नै देशको राजनीतिक पार्टीमा बसेर काम गर्ने उनको इच्छा छ । त्यहाँ तपाईंले भेटेर कुराकानी गर्नुहोला ।’

मलाई फोन गर्ने तिनै व्यक्ति होलान् भन्ने लाग्यो ।

बेलुकीपख टेबहाल पुगेँ । पुरानो होटल रहेछ । हट्टाकट्टा मोटो, गोरो अनुहारका थापा भेटिए । भेटको सामान्य औपचारिकतापछि जेबीको चिठी दिँदै उनले ‘लौ, पहिले यो पढ्नुहोस्’ भने । पत्र लामो थियो । उनले नेपालको राजनीतिक अवस्था बुझन चाहेका रहेछन् । त्यही कुरा निसङ्कोच बताइदिन चिठीमा आग्रह गरिएको थियो । रात पर्न लागेकाले मैले होस्टलतिरै गएर गफ गरौँला भनेँ । उनले एउटा झोला भिरेर हात्तीछाप चप्पल टेक्दै मलाई पछ्याए ।

उनलाई गेस्ट रुममा राखेँ । बेलुकीको खानापछि उनले नेपालका राजनीतिबारे सोधे । मैले अनेरास्ववियु, विद्यार्थी आन्दोलनबारे बताएँ । सङ्गठनका केही दस्तावेज पढ्न दिएँ । भोलिपल्ट उनलाई क्याम्पसका सबै विभाग घुमाउँदै साथीहरूसँग परिचय गराइदिएँ । त्यस दिन बेलुकी पनि उनलाई खास गरी नेपालका राजनीतिक पार्टीहरूको स्थिति र अनेरास्ववियुको वैदेशिक सम्बन्धबारे बताएँ । अनेरास्ववियुका विषयमा कुरा भइरहेका बेला उनले मलाई बीचैमा रोक्दै भने, ‘तपाईं पाँचौँलाई स्वतन्त्र विद्यार्थी सङ्गठन भन्नुहुन्छ, छैटौँचाहिँ नेकपा मशालको भातृसङ्गठन । यो क्या हो ? पाँचौँ नेकपा मालेको विद्यार्थी सङ्गठन हो कि होइन ?’

उनले नेकपा माले पार्टीको सिद्धान्त, नीति र कार्यक्रमबारे बुझन चाहेजस्तो लाग्यो । मसँग सीएस (वर्ग सङ्घर्ष) को तेस्रो अङ्क थियो तर पार्टी दस्तावेज जो कोहीलाई दिनु खतरा हुन्थ्यो । म मानसिक उल्झनमा परेँ । थापाले रातोपिरो हुँदै भने, ‘हैन, तपाईंले मलाई केटाकेटी ठान्नुभयो कि के हो ? म विद्यार्थी सङ्गठनको कुरा सुनेर समय बर्बाद बनाउन आएको होइन । जेबीले त तपाईं मालेको मान्छे भनेर पो भेट्न पठाएको थियो ।’

‘ठिक छ, म पनि अनुशासनको दायराभित्र छु । भोलिसम्म पर्खनुहोस्,’ मैले भनेँ ।

नेकपा माले स्थापना भएयता ‘सीएस’ तीन अङ्क प्रकाशित भइसकेको थियो । स्थानीय पार्टी सम्पर्क व्यक्ति रवि चित्रकार हुनुहुन्थ्यो । उहाँ दिउँसो त्रिविमै पढाउनुहुन्थ्यो, राति पार्टीको काम गर्नुहुन्थ्यो । रवि कमरेडलाई कारण बताएर सीएसको एक र दुई अङ्क मागेँ । उहाँले रात परेपछि कृष्णगोपालमार्फत ती अङ्क पठाइदिनुभएछ ।

राति थापालाई मैले नेपालका राजनीतिक पार्टीहरू देशभरि कार्यरत भए पनि आफ्नो पहिचान दिनु भनेको जोखिम मोल्नु हो भनेर सम्झाएँ । मैले प्रस्टसँग भनेँ, ‘थापाजी, अब तपाईं यहाँ राजनीति गर्नुहुन्छ भने परिस्थिति बुझन जरुरी छ । यहाँ जोस देखाउन विद्यार्थी सङ्गठनहरूमा मात्र सुहाउँछ । जेल भने सुरक्षित रूपमा जानुहुन्छ । विश्वविद्यालयका सभापति, सचिव सबै पटके जेल पर्छन् । यसर्थ गम्भीर हुनुप¥यो पार्टीमा जाँदा ।’

पार्टीका सामग्री दिएर मैले ‘लौ अब ढोका लगाएर पढ्नुहोस्, सबै कुरा आफैँ प्रस्ट हुनेछ’ भनेँ ।

भोलिपल्ट बिहान चिया खान भनेर ढोका ढकढकाएँ । उनले ‘म अहिले खान्नँ, तपार्ईं जानुहोस्’ भने । दिउँसो लन्चका लागि पनि ढकढकाएँ । ‘भरेतिर म आफैँ गएर खाउँला’ भनेर टारे । मलाई लाग्यो, थापाजी पट्टल बाँधेर पढ्न थालेछन् । दिनभरि म आफ्नो काममा व्यस्त रहेँ । साँझ पनि गेस्ट रुम भित्रबाटै बन्द थियो । डिस्टर्ब गर्न मन लागेन ।

मध्यरातितर पाहुना कोठाको ढोका खुल्यो । धुस्रै र फुस्रै भइन्जेल पढेछन् । सीएसलाई दिँदाकै जस्तो प्याक बनाएर फिर्ता गरे ।

‘थापाजी, सबै बुझियो होला नि ?’ मैले सोधेँँ ।

‘भोलितिर भनुँला, अहिले सुतौँ है,’ उनले भने ।

भोलिपल्ट बिहानै उनलाई उठाउन गएँ । ढोकाको सटर बाहिरबाट लगाइएको थियो । घुम्न गए होला भन्ठानेँ । लन्च टाइममा पनि ढोका बन्द थियो । म आफ्नो काममा व्यस्त रहेँ । डिनरको समय पनि ढोका बन्द । ढोका खोलेर हेरेँ, सबै चीज यथावत थिए । उनका एक जोर हात्तीछाप चप्पल र काँधे झोला पनि कोठामै थिए । झोलामा एउटा खाली डायरी मात्र थियो । चप्पल पनि नलगाई कता घुम्दै होला ? कस्तो अजीव मान्छे ! पाहुना कोठामा अरू पनि राख्नुपथ्र्यो । चप्पल उनकै झोलामा हाली आफ्नै कोठामा ल्याएर राखिदिएँ । महिनौँ बित्यो तर थापा फर्केनन् ।

एक दिन प्रारम्भिक कमिटीको बैठक सकिएपछि रामबहादुर थापाको कुरा निस्क्यो । मैले सबै कुरा सुनाउँदै ‘साथी चप्पल, झोला छाडेर कता बेपत्ता भए होला’ भनेँ । ‘ए, त्यो मान्छे त जङ्गलै जङ्गल पैदलै आफ्नो घर चितवन पुगेछ,’ जागृत भेटवालले भन्नुभयो ।

चप्पलसहितको झोला भेटवालजीकै हात पठाइदिएँ । उनको खबर कैयौँ वर्षसम्म पाइनँ । एकैचोटि दुई दशकपछि ‘रामबहादुर अहिले बादल भएको छ’ भन्ने सुनेँ ।

(खम्बुको हालै प्रकाशित पुस्तक छायाँको लस्करको अंश । प्राध्यापक केआर खम्बु जीवशास्त्रअन्तर्गत उभयचर र सरीसृप प्राणीमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् । साथै झापा आन्दोलनबाट सुरु भएको कम्युनिष्ट क्रान्तिका स्तम्भ कार्यकर्ता पनि हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment