Comments Add Comment
मेरो कथा :

नेपालमा मेरो कडा प्रतिस्पर्धी नै भएनन्

सागमा स्वर्णभन्दा तलको पदकमा खुशी हुन्न

सन् २००६ मा श्रीलंकामा भएको १० औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता तपाईंलाई याद छ ? सायद छैन होला । तर, म भने यो प्रतियोगिता कहिल्यै भुल्ने छैन ।

आज आफ्नो खेल जीवनका पानाहरु पल्टाउन थाल्दा मेरो मस्तिष्कमा सबैभन्दा अगाडि यही प्रतियोगिताका क्षणहरु आए । त्यो मेरोलागि मात्र नभएर नेपालको भारोत्तोलनकै लागि ऐतिहासिक क्षण थियो । पहिलोपटक यो विधामा मैले नेपाललाई स्वर्ण जिताएको थिएँ ।

१० औं सागमा मैले भारोत्तोलनमा ६९ तौल समूहमा स्वर्ण पदक जितेको थिएँ । अहिलेसम्म साग खेलकुदमा नेपालले भारोत्तोलनमा जितेको एक मात्र स्वर्ण त्यही हो ।

त्यसो त सो प्रतियोगिताका लागि तयारी गर्दा मैले मात्रै हैन गुरुहरुले पनि स्वर्ण पदकको आशा गर्नुभएको थिएन । एउटा पदक जित्ने लक्ष्य चाहिँ थियो । मैले रजतसम्मको आशा गरेको थिएँ । गुरुहरुले पनि त्यही भन्ने गर्नुहुन्थ्यो ।

प्रतियोगितामा स्न्याचतर्फ अरुको भन्दा मैले उठाएको भार कम नै थियो । स्न्याच सकिदासम्म म चौथो पोजिसनमा थिएँ । पाकिस्तानका खेलाडीभन्दा म पाँच केजीले पछाडि थिएँ ।

त्यसपछि क्लिन एण्ड जर्क सुरु भयो । सबैको पालो सकिदै गयो । मैले क्लिन एण्ड जर्कको पहिलो लिफ्टमा १४६ केजी उठाएँ । योसँगै म दोस्रो स्थानमा आएँ । मेरो दोस्रो लिफ्ट भने विग्रियो । हामी आफै अन्यौलमा परेकोले भएन ।

स्वर्ण जित्नको लागि अब मैले अन्तिम लिफ्टमा १५३ केजी उठाउनु पर्ने थियो । नर्भस थिएँ । उठाएमा ऐतिहासिक सफलता हुन्थ्यो । त्यसैले जोस पनि आइरहेको थियो । मुटुको बेग बढ्दो थियो । हिम्मतका साथ उठाएँ । सफल भएँ । स्वर्ण जितेपछि खुशीको सिमाना रहेन ।

देशलाई स्वर्ण पदक दिलाउँदा जतिको सन्तुष्टि अरु केहीमा नहुदो रहेँछ । म बढी खुशी यस अर्थमा थिएँ कि यहाँबाट जाँदा स्वर्ण जित्ने लक्ष्य नै थिएन ।

योभन्दा अघि सन् २००४ मा पाकिस्तानमा भएको नवौं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा सहभागिता भएको थिएँ । तर त्यो सहभागिता केवल अनुभवमा सीमित भयो ।

बंगलादेशमा भएको ११ औं साग खेलकुदमा पनि खेले । त्यसमा चाहिँ विग्रियो । तयारी राम्रो थियो । स्न्याचतर्फको सकिदासम्म म तेस्रो स्थानमा थिएँ । क्लिन एण्ड जर्कमा राम्रो गरेको भए स्वर्ण पदक ल्याउन सक्थे । तर बिग्रियो ।

आखिर खेल न हो । कुनै बेला नसोचेको उपलब्धि हासिल हुँदो रहेछ त कुनै बेला सोचेको पनि हुन सक्दैन ।

००००

तपाईलाई थाहै होला, नेपालमा १३ औं साग यहि मंसिरमा हुँदैछ । अब धेरै समय छैन । मेरो लागि फेरि घुम्दै–फिर्दै त्यो स्वर्ण पदक जितेको समय आएको जस्तो लागेको छ ।

आफ्नै देशमा हुने सागमा स्वर्ण पदक जित्ने लक्ष्य छ । साउन १५ गतेदेखि हाम्रो क्लोज क्याम्प सुरु भयो । अहिलेसम्म निकै राम्रो तयारी भइरहेको छ । हिजोभन्दा आज र आजभन्दा भोलि हुँदै अभ्यासमा क्रमशः सुधार भइरहेको छ । म ७३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछु ।

पहिलेको भन्दा अहिले नयाँ तौल समूह आएको छ । नयाँ नियम पनि आएको छ । पहिलेको भन्दा राम्रो प्रदर्शन भएर नयाँ–नयाँ रेकर्डहरु बन्दै गइरहेको छ ।

हामीसँग खेल सामग्रीको भने अभाव नै छ । टेक्निकल अभ्यास गर्ने सामग्रीहरु पर्याप्त हामीसँग छैन । त्यसको माग भइरहेको छ ।

सागमा स्वर्ण पदक जित्नु त्यति सजिलो छैन । तर मेरो संकल्प हो, स्वर्ण जित्ने । त्यो भन्दा तलको पदकबाट म खुशी हुन सक्दिन । मलाई सबैभन्दा अग्लो स्थानमा उभिएर राष्ट्रिय झण्डा काँधमा फर्फराउनु छ ।

मेरो लागि चुनौती कडा छ । मेरो तौल समूहमा भारत र पाकिस्तानका बलिया खेलाडी छन् । उनीहरुलाई पराजित गर्न म एकदमै कडा परिश्रम गरिरहेको छु । हेरौं, मेरो मेहनतले कहाँसम्म पुर्‍याउँछ ।

मैले यसअघिको १२ औं साग खेलकुद प्रतियोगिता खेल्न पाइनँ । त्यसबेला म शान्ति सेनामा थिए । भारतमा २०१६ मा साग खेलकुद चलिरहेको थियो म भने कंगोमा शान्ति–सुरक्षामा खटिएको थिएँ । एक वर्षसम्म शान्ति सुरक्षामा खटेपछि फेरि म भारोत्तोलन खेलमा फर्किएको हुँ । कंगोबाट फर्किएपछि एक महिना अभ्यास नगर्दै ९ वटा राष्ट्रिय रेकर्ड पनि राखेको छु ।

००००

म साधारण घरपरिवारमा जन्मेको मान्छे । चितवनको गितानगर–७ मा पर्छ मेरो घर ।

बाल्यकाल दुख गरेरै बित्यो । घरको परिस्थितिले गर्दा राम्ररी स्कुल जान पाइनँ । मेरा लागि मेलापात नै स्कुल बन्यो ।

सानो छँदा हामी साथीभाईहरुसँग फुटबल खेल्थ्यौ । तर त्यो पनि मैले राम्रोसँग खेल्न पाइनँ । एक दिन १–२ घण्टा खेल्थेँ तर ४–५ दिन अनुपस्थित हुन्थेँ ।

२०५४ सालमा आर्मीमा जागिर खुलेको थियो । मैले पनि सिपाहीमा दरखास्त दिएँ । मलाई जागिर चाहिएको थियो । कडा अभ्यास गरेको थिएँ । नाम निस्कियो । म सफल भएँ । सेनामा लागेर देशको सेवा गर्ने अभिलाशा थियो, तर खेलकुदमा लागेर देशलाई स्वर्ण पदक दिलाउने, नाम कमाउने सोचेकै थिइनँ । मेरो कल्पनाभन्दा बाहिरको कुरा भयो ।

म सेनामा भर्ना हुँदा १९ वर्षको थिएँ । २०५६ सालमा त्रिभुवन आर्मी क्लबमा खेलाडीको लागि दरबन्दी आह्वान भयो । सरहरुले मलाई यो मेहनती छ भनेर भारोत्तोलन खेल्न पठाइदिनुभयो ।

मलाई त भारोत्तोलन के भन्ने नै थाहा थिएन । सरहरुले जिम गर्ने हो, ज्यान बनाउने हो, बल भएको मान्छेले गर्न सक्छ भन्नुभएको थियो । तर यहाँ आउँदा त छुट्टै पाएँ । जिम मात्र कहाँ हुँदो रहेछ र ?

यो दशरथ रंगशालाको प्याराफिटमुनि नै थियो भारोत्तोलनको अभ्यास केन्द्र । अहिले पनि यहीँ छ । हामी ५६ जना सबै भित्र छिर्न सक्ने अवस्था थिएन । भित्र सिनियर खेलाडी र गुरुहरुले अभ्यास गर्नुहुन्थ्यो । हामी झ्यालबाटै हेरेर बस्थ्यौं ।

दुई हप्तासम्म मैले झ्यालैबाट अभ्यास गरेको हेरिरहेँ । मलाई के लाग्यो भने, अरुले यो खेलेरै नाम कमाएका छन्, देशलाई चिनाएका छन् भने म पनि सक्छु । जागिर पनि खाइने, नाम पनि कमाइने, दुईवटै हातमा लड्डु जस्तो लाग्यो मलाई । अनि, भारोत्तोलनमै केही गर्छु भन्ने सोच बन्यो ।

दुई हप्तापछि मैले भित्र पसेर अभ्यास गर्ने मौका पाएँ । म आउँदाखेरी आर्मीको भारोत्तोलनमा ५६ जना थियौं । ५६ जनामध्येबाट छनोट गर्दा म एक नम्बरमा परेको थिएँ ।

००००

२०५८ सालमा काठमाडौंमा एउटा प्रतियोगिता भएको थियो । त्यो प्रतियोगिताको नाम भने भुलेँ । त्यो मेरो लागि पहिलो प्रतियोगिता थियो । म दोस्रो भएँ । त्यो बेला मैले ६२ तौल समूहमा प्रतिस्पर्धा गरेको थिएँ । राकेश रञ्जित पहिलो भए ।

२०५९ सालमा खुल्ला अधिराज्यव्यापी जन्मोत्सव कप भएको थियो । पुसमा भएको त्यो प्रतियोगितामा फेरि म दोस्रो भएँ । यसै वर्षको चैत्रमा उपत्यकाव्यापी राष्ट्रिय प्रतियोगिता भएको थियो । यो पटक भने म पहिलो भएँ । यो नै हो मेरो खेल जीवनको टर्निङ पोइन्ट ।

पहिलो हुँदा गर्वले छाती पनि ठूलो भए झैं लागेको थियो । त्यसले प्रोत्साहन पनि मिल्दो रहेछ झनै अघि बढ्नलाई । त्यो स्वर्ण पदक जितेपछि अहिलेसम्म मैले फर्किएर हेर्नु परेको छैन । सबै प्रतियोगितामा पहिलो हुँदै आइरहेको छु । पाँचौ राष्ट्रिय खेलकुदमा मैले स्वर्ण पदक जितेँ । छैटौमा आर्मीले भाग लिएन । सातौंमा पनि स्वर्ण जितेँ ।

मैले राष्ट्रिय रेकर्ड भने २०६२ सालदेखि नै राख्न सफल भएको छु । १४० केजी क्लिन एण्ड जर्क गरेर राष्ट्रिय रेकर्ड बनाएको थिए । त्यो मेरो खेल करिअरको पहिलो रेकर्ड थियो । त्यसपछि मैले खेलेको सबै तौल समूहमा राष्ट्रिय रेकर्डहरु राखेको छु । मैले अहिलेसम्म प्रतियोगिताहरुमा स्वर्ण पदक र राष्ट्रिय कीर्तिमान मात्रै राखेको छुइन । प्रतियोगिताकै बेष्ट लिफ्टर र स्ट्रोङ्गेष्टको अवार्ड पनि जित्दै आइरहेको छु ।

यो अवधिमा मैले थुप्रै राष्ट्रिय कीर्तिमानहरु भंग गरेँ । आफ्नै कीर्तिमानहरु पनि भंग गर्दै अझै राम्रो गरिरहेको छु । यसले आत्मसन्तुष्टि दिँदो रहेछ ।

००००

तमाम उपलब्धिको बाबजुत पनि मलाई किन हो, मेरो लागि अझै कडा प्रतिस्पर्धी भए हुन्थ्यो जस्तो लाग्छ । मैले खेलेको तौल समूहमा कडा प्रतिस्पर्धी आएनन् कि भन्ने लाग्छ । अलिकति राम्रो हुने वित्तिकै कि त कम तौल समूहमा खेल्ने कि अलिक तौल बढाएर माथि जाने गर्छन् । कमलसँग खेलेर के गर्न सकिन्छ र भन्ने गर्नुहुन्छ अन्य खेलाडीहरु । त्यसैले मैले २०६३ देखि मेरो तौल समूहमा कडा प्रतिस्पर्धी नै पाएको छुइनँ । राम्रै भएका खेलाडीहरु पनि कि त तल जाने कि माथिल्लो तौल समूहबाट खेल्ने गर्छन् ।

यसले गर्दा मलाई मैले राम्रो नतिजा दिन नसकेको पो हो कि भन्ने लाग्छ । किनभने जति कडा प्रतिस्पर्धीहरु हुन्छन् आफुलाई त्यति बलियो रुपमा प्रस्तुत गर्न पाइन्छ । अझ निखार्न पाइन्छ ।

कडा प्रतिस्पर्धा हुँदा कि मैले राम्रो प्रदर्शन गर्थेँ कि मेरो प्रतिद्वन्द्वीले । प्रतिस्पर्धा धेरै हुनु भनेको नै आफुलाई निखार्नु हो । तर मेरो तौल समूहमा स्वर्ण पदक जित्ने म एक्लो दाबेदार भएकोले पनि आफुले अझै राम्रो गर्न नसकेको हो कि जस्तो लाग्छ ।

००००

अन्तर्राष्ट्रिय स्तरमा मैले सागको त कुरा अघि गरिहाले त्यो भन्दा ठूला एसियन गेम्सदेखि ओलम्पिकसम्म खेलेको अनुभव छ । खेलाडी भइसकेपछि जसको पनि ओलम्पिकमा खेल्ने एउटा सपना हुन्छ । त्यो सपना मेरो पूरा भएको छ ।

२००८ मा चीनमा भएको ओलम्पिक खेलकुद खेले । जहाँ म २२औं पोजिसनमा आए । त्यो ओलम्पिक खेल्ने मेरो लागि सबै भन्दा ठूलो उपलब्धि पनि हो ।

सुरुवाती दिनहरुमा खेलकुद नबुझेर प्रवेश गरेको मलाई पछि बुझ्दै गएपछि भने ओलम्पियन बन्ने थियो । एउटा सपना पूरा भयो ।

ओलम्पिक बाहेक मैले मैले चार वटा एसियन गेम्स खेलेको छु । २००६, २०१०, २०१४ र २०१८ गरी चार एसियन गेम्स खेले । यो अवधिमा धेरै अनुभवहरु छन् ।

२००६ को एसियन गेम्समा नेपालको झण्डा बोकेर मैले नै मार्च पास गरेको थिए । त्यो सौभाग्य मलाई नेपालले दिएको थियो । म त्यो बेला नवौं पोजिसनमा आएको थिए । सागमा स्वर्ण पदक जितेको वर्ष पनि थियो त्यो । यता सागमा स्वर्ण पदक जित्दा उठाएको भार भन्दा करिब ६–७ केजी तौल बढि नै उठाएको थिए ।

तर हामी चीन, जापान, कोरिया, इरान, इराक भन्दा हामी धेरै पछि छौं । गफले मात्रै हुँदैन प्रदर्शन चाहिन्छ । त्यसपछिका तीन वटै एसियन खेलकुदमा म ११औं स्थानमा आएको छु ।

नेपालले भन्दा धेरै राम्रो लगानी गरेर खेलाडीलाई राम्रो गरेको देशहरु पनि म भन्दा पछि छ । मलाई कसैले पनि नराम्रो गर्‍यो भन्दैन । एसिया भारोत्तोलन महासंघका महासचिवदेखि अन्य पदाधिकारीहरुले अझै सम्म पनि खेलिरहेका छौ राम्रो गरिरहेका छौ धेरै राम्रो भन्ने गर्नु हुन्छ ।

००००

भारोत्तोलनमा म गर्व गर्छु । अहिले म ४३ वर्षको भए । खेल्न सक्ने भए उमेरले कसैलाई छेक्दैन । तर आफुले आफुलाई तयार पार्नु पर्छ । भारोत्तोलन खेलेका खेलाडीलाई सानोतिनो रोगले छुँदैन पनि । आत्मबल पनि उच्च हुन्छ ।

तपाईलाई थाहा नहोला, मेरी श्रीमती राज्यलक्ष्मी थापा पनि भारोत्तोलन खेलाडी हुन् । उनी पनि राष्ट्रिय च्याम्पियन हुन् । म आर्मीमा छु । उनी पुलिसमा छिन् । १३ औं सागको लागि मेरी श्रीमतीले पनि तयारी गरिरहेकी छिन् ।

उनले २०५९ सालदेखि भारोत्तोलन खेल खेल्न थालेकी हुन् । हाम्रो प्रेम विवाह भएको हो । अभ्यासकै दौरानमा कुरा हुँदै जाँदा माया बस्यो । पछि २०६० सालमा हामीले विवाह गर्‍यौं । २०६५ सालमा हाम्रो मायाको चिनो एउटा छोरा जन्मियो ।

अहिले छोरा ११ वर्षको भयो । उ तेक्वान्दो खेल्छ । केही महिनाअघि मात्रै अगाडि दिल्लीमा भएको तेक्वान्दो च्याम्पियनसिपमा छोराले एउटा स्वर्ण र दुई वटा कास्य पदक जितेर ल्याएको छ । यसरी अहिले हामी पूरै परिवार नै खेलकुदमा लागेका छौं ।

भारोत्तोलनले मलाई सबै दिएको छ । लामो समयसम्म एकछत्र राज गरेको छु । म एकदमै सन्तुष्ट छु । सेनामा जागिर नखाएको भए यो खेल खेल्ने थिइनँ होला । सायद यो मेरो भाग्यमै लेखिएको कुरा थियो ।

प्रस्तुति : सरोज तामाङ

तस्वीर : चन्द्रबहादुर आले

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृंखला ‘मेरो कथा’को ५७ औं अंकमा यो हप्ता भारोत्तोलन खेलाडी कमल अधिकारीको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment