Comments Add Comment
अनलानइखबर समाचार प्रभाव :

खुल्लामञ्चसँग जोडिएको सार्वजनिक जग्गा फिर्ता प्रक्रिया सुरु

२८ असोज, काठमाडौं । गैरकानूनी रूपमा भोगचलन भइरहेको खुलामञ्चसँग जोडिएको सार्वजनिक जग्गा खाली गराउने प्रक्रिया सुरु भएको छ । अनलाइनखबरले १४ असोजमा ‘खुलामञ्चसँग जोडिएको सार्वजनिक जग्गा बिक्री’ शीर्षकमा विस्तृत समाचार प्रकाशन गरेपछि सम्बद्ध निकायले जग्गा खाली गराउने प्रक्रिया थालेको हो ।

काठमाडौं महानगरपालिका–२८ नम्बर वडा कार्यालय र गुठी संस्थानको मिलोमतोमा खुलामञ्च र रत्नपार्कको बीचमा रहेको दुईमाजु गुठीको एक रोपनीभन्दा बढी जग्गा गैरकानूनी रुपमा व्यक्तिको निजी सम्पत्तिसरह प्रयोग भइरहेको समाचार आएपछि सम्बद्ध निकायले चासो देखाएको हो ।

गुठी संस्थान काठमाडौं शाखाका कार्यालय प्रमुख शैलेन्द्र पौडेल अनधिकृत रुपमा प्रयोग भइरहेको दुईमाजु गुठी मन्दिरको जग्गा खाली गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँछन् । गुठी संस्थानसँग १५ हजार रुपैयाँमा भाडामा लिएर मासिक लाखौं रुपैयाँ असुली भइरहेको छ ।

विनाटेण्डर जग्गा भाडामा लिएर गैरकानूनी रुपमा ३५ वटा पसल सञ्चालन गर्न दिएकी अमृता भट्टराईले अनलाइनखबरमा समाचार आएको भोलिपल्ट सम्झौता खारेजीको माग राखेर गुठी संस्थान काठमाडौं शाखामा निवेदन दिएकी छन् ।

उनले निवेदनमा भनेकी छन्, ‘…मेरो कार्यव्यस्तताले र अन्य विविध समस्याहरूको कारणले गर्दा सम्झौता अनुसार सम्पूर्ण जिम्मेवारी बहन गर्न असमर्थ रहेको हुँदा आजैका मितिदेखि मेरो नामबाट दायित्व कट्टा गरी सम्झौता खारेज गरिदिनु हुनसमेत श्रीमानसमक्ष अनुरोध गर्दछु ।’
यो पनि पढ्नुहोस बिक्रीमा खुलामञ्च !

१५ असोजमा लेखेको भट्टराईको निवेदन सनाखत भएपछि जग्गा खाली हुने गुठी संस्थान काठमाडौंका कार्यालय प्रमुख पौडेलले जानकारी दिए । उनी भन्छन्, ‘निवेदन उहाँको श्रीमानले लिएर आउनुभएको थियो, निवेदक आफैं उपस्थित भएपछि जग्गा खाली हुन्छ ।’

हच्कियो वडा कार्यालय

भूमाफियालाई गुठीको जग्गा उपभोग गर्न दिने कार्यमा काठमाडौं महानगरपालिका वडा नम्बर २८ को कार्यालयको पनि संलग्नता देखिएको छ । वडाध्यक्ष भाइराम खड्गी (प्रकाश) ले २०७६ साउन १० गते गरेको सिफारिस पत्र अनुसार सार्वजनिक जग्गामा विभिन्न व्यावसाय सञ्चालन भइरहेको उल्लेख छ ।

तर, समाचार आएको तेस्रो दिन अर्थात १७ असोजमा वडा कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्रमा गैरकानूनी रुपमा तेस्रो पक्षलाई जग्गा प्रयोग गर्न दिइएको उल्लेख छ । वडाध्यक्ष खड्गीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘… गुठी संस्थान शाखा कार्यालय काठमाडौं र अमृता भट्टराईबीच भएको करारमा तेस्रो पक्षलाई हक दिन मिल्ने कुनै पनि प्रावधान नरहेकोमा हाल अन्य व्यक्तिहरूले सो स्थानमा व्यावसाय सञ्चालन गरी रहेको देखिन आएको छ ।’

दुई महिनाअघि आफैंले व्यावसाय सञ्चालनको सिफारिस दिएको वडा कार्यालयले पछिल्लो पत्रमा भने त्यसलाई अनधिकृत भनेको हो । पत्रमा भनिएको छ, ‘…हाल सो स्थानमा अन्य प्रयोजनको लागि स्वेच्छाचारी रुपमा अनधिकृत व्यावसाय सञ्चालन भइरहेकाले ती व्यावसायलाई बन्द गर्न गराउन श्रीमान् समक्ष अनुरोध गर्दछु ।’

महानगर अझै मौन

वडा कार्यालयको यो पत्र महानगरपालिकामा दर्ता भएको दश दिन भन्दा बढी भईसकेको छ । तर, यस विषयमा महानगरपालिका मौन छ ।

यो गैरकानूनी कार्यमा महानगरपालिका आफै पनि प्रत्यक्ष संलग्न थियो । महानगरपालिकाको भवन निर्माण इजाजत विभागले कानून विपरीत दुईमाजु गुठीको जग्गामा २०७५ फागुन १० गते व्यक्तिलाई टहरा बनाउन दिएको हो ।

त्यतिमात्रै होइन, उसले काठमाडौं महानगरपालिकाले २०७५ चैतमा कपडा, जुत्ता, गिफ्ट, ब्याग लगायतका पसल सञ्चालन ‘अनुमति’ दिएको थियो ।

महानगरपालिकाको मौनता अर्थपूर्ण रहेको त्यहाँका स्थानीयको भनाई छ । ‘छ महिना पहिला खुलामञ्चमा सरकारी जग्गामा भूमाफियाले सटर बनाउँदा देखेको नदेखेको गरेको काठमाडौ महानगरपालिकाले अहिले पनि त्यस्तै गर्न लागेको हो कि भन्ने आशंका जन्मिएको छ’, वडा नम्बर अठ्ठाइसका एक स्थानीय भन्छन् ।

नागरिकको सक्रियता

काठमाडौंको मुटु मानिने खुलामञ्चसँग साँध जोडिएको सार्वजनिक जग्गा जोगाउन वडा नम्बर २८ का वासिन्दा र संरक्षण अभियन्ताको सक्रिय भूमिका देखिन्छ । उनीहरूले जनप्रतिनिधि, गुठी संस्थान र सम्बद्ध निकायमा पुगेर दबाव समेत दिइसकेका छन् ।

१७ असोजमै खुलामञ्च बचाऊ अभियानका ई. सुसन वैद्य, संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठ, संजय अधिकारीले गुठी संस्थान कार्यालयमा सार्वजनिक जग्गा हडप्ने भूमाफियालाई कानूनी कारवाहीको माग गरेर निवेदन दिएका छन् ।

स्वेच्छचारी रुपमा गरिएको निर्णय बदर गर्न र अख्तियारको दुरुपयोग गर्नेलाई छानविन गरी कडा कारवाहीको माग गरिएको निवेदनको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय प्रहरी परिसरलाई पठाइएको छ ।

यस्तै, गुठी संस्थान केन्द्रीय कार्यालय, काठमाडौं महानगरपालिका अनुगमन समिति, महानगरीय प्रहरी वृत्त, दरबार मार्ग, महानगरपालिकाको नगर प्रहरी कार्यान्वयन महाशाखामा पनि बोधार्थ पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment