Comments Add Comment

नौबिसे–नागढुंगा सडक मर्मत सुरु, तिहार अगावै सक्ने लक्ष्य

१ कात्तिक, काठमाडौं । नौबिसेबाट नागढुंगा आउने सडकको बेहाल भएपछि सडक डिभिजन कार्यालय चितवनले मर्मत थालेको छ । तिहारअघि नै सक्ने गरी मंगलबारबाट काम थालिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले जनाएको छ ।

दशैंअघि नै सवारी रोकेर कालोपत्रे गर्न खोज्दा जामले समस्या भएपछि काम रोकिएको थियो । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंबाट अनुसार मंगलबारबाट त्रिभुवन राजपथको थानाकोटबाट पिपलमोडसम्मको सडक मर्मत सुरु भएको हो ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख राजेन्द्र शर्माका अनुसार पिपलमोडभन्दा माथि नागढुंगासम्मको सडकको मर्मत भने सडक डिभिजन कार्यालय काठमाडौंले गर्नुपर्छ ।

‘तर एक मिनेट सवारी रोक्नासाथै सवारीको भयंकर जाम हुन्छ,’ उनले भने, ‘बाँकी खण्डमा कसरी गर्ने भनेर आजै मात्र म आफैं अवलोकनमा गएर आएँ । अवस्था निकै कठीन छ ।’

अहिले कलंकी–नागढुंगा सडकमा पनि कालोपत्रे भइरहेको छ । विहान ९ बजेबाट एकतर्फी सवारी सञ्चालन गर्ने गरी कालोपत्रको काम भइरहेको हो ।

नौबिसेबाट नागढुंगाको पिपलमोडसम्मको खण्डको कालोपत्रेको काम दिउँसो एक बजेबाट सुरु हुन्छ । त्यो समयमा पनि सवारी एकतर्फ बन्द गरिन्छ । यसका कारण यात्रुलाई लामो समय जाममा बस्नु परिरहेको छ ।

तर, बाटो बनाउनै पर्ने भएको र त्यसको विकल्पसमेत नभएकाले जामबाट हुने असुविधालाई सहजतापूर्वक ग्रहण गरिदिन सडक विभागले अनुरोध गरेको छ ।

ठेकेदार कम्पनीहरुले यो पटक धेरै कामदार परिचालन गरेर काम अघि बढाएको बताएका छन् । यो सडक ६५ जिल्लाका यात्रु काठमाडौं प्रवेश गर्ने मूल मार्ग हो ।

नौबिसे–नागढुंगा सडक वर्षाका कारण अति जीर्ण बनेको छ । खाल्डाखुल्डीले पानी पर्नासाथै यो सडकमा मालसामान बोकेर आएका सवारीलाई उकालो लाग्न कठिन हुने गरेको छ । यसले गर्दा उकालोमा एउटा सवारी बिग्रिएर रोकिनासाथै लामो लाइन लागिहाल्छ ।

सडक डिभिजन कार्यालय चितवनले ठेकेदार कम्पनी जीएमआरलाई सडक मर्मतको जिम्मा लगाएको छ । तर, उच्च रुपमा हुने सवारी आवागमनले कालोपत्रे गर्न निकै कठिन हुने गरेको छ ।

यो मार्गमा मुख्य रुपमा बढी भार बोकेर आएका सवारीका कारण कालोपत्रे नटिक्ने समस्या हुन्छ । झन् गुणस्तरीय ढंगमा कालोपत्रे नगरिँदा महिना दिनमै उप्किने र भत्किने समस्या देखिने गरेको छ ।

मर्मत सुरु भएपछि ट्राफिक प्रहरी र प्रहरीले यो खण्डमा सक्रियता देखाएको छ । गाडीहरुलाई ओभरटेक गर्न नदिन र ट्राफिक नियम उल्लंघन गर्न रोक्न ठाउँ ठाउँमा प्रहरी खटिएका छन् ।

यो खण्ड साँघुरो भएको र मोडहरु पनि सानो भएकाले यसैपनि यो खण्डमा सवारीलाई मुस्किल हुन्छ । दशैं तिहरपछि यो सडकबाट दिनमा १४ देखि १८ हजार सवारी आवात–जावत गर्छन् ।

यो खण्डको काम गत असारभित्र सक्नुपर्ने थियो । तर, चाडपर्वअघि मात्रै सक्रियता देखाउँदा वर्षाले अवरोध सिर्जना गरेको थियो ।

अहिले पानी नपरेकाले यो समयलाई विभागले मौकाका रुपमा लिएको छ । केही दिनपछि तिहारका लागि पनि यात्रुको आवातजावत बढ्ने भएकाले सडक मर्मत अपरिहार्य भएको प्रमुख शर्माले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment