Comments Add Comment

तिहारमा मखमली : यो साल खुशी फुलेन

असोजको मध्यसम्म निरन्तर परिरहेको अविरल वर्षाले यो वर्ष गुण्डुमा खासै तिहारको खुशी छैन । गुण्डुका धेरै परिवारले यही सिजनमा कमाएको पैसाले झण्डै ६ महिनासम्म परिवारको गर्जाे टार्ने गरेका थिए । तर, पापी पानीले गर्दा यो सालको तिहारले निराशा बोेकेर आएको छ ।

भक्तपुरको ताथली र गुण्डु यही मखमली र सयपत्री फूलका कारण बर्षौंदेखि चर्चित छ । स्थानीयहरुको कुरालाई आधार मान्ने हो भने त यहाँ झण्डै ४ दशक भयो व्यवसायिक रुपमा फूल खेती सुरु गरेको । सुरुमा एक रुपैयाँ माहोरको दरमा बेच्नेगरेको मालाको भाउ अहिले बल्ल २० रुपैयाँ पुगेको छ । त्यसमा पनि मौसमले पनि आफूहरुलाई नै ठग्ने गरेको गुनासो सुनाउँछन् फूल किसानहरु ।

व्यवसायीहरुले गुण्डुबाट जम्मा २० रुपैयाँमा मखमली फूल किन्ने गरेका छन् । सयपत्रीको पनि भाउ उस्तै हो । सयपत्री भने तिहारको एक/दुई दिन अघिमात्रै टिप्ने गर्छन् त्यहाँका महिलाहरु । ताथली र गुण्डुले फूलमा उपत्यकाको मात्रै आवश्यकता पुर्‍याएका छैनन् । यहाँबाट विदेशमा समेत फूल निर्यात गर्ने गरिएको किसानहरु बताउँछन् । तर, सबैको दीर्घायूको प्रतीक मखमली माला बनाउने गुण्डुका महिलाहरुको खुशी यो साल फुल्न सकेको छैन ।

खेताला पाउनै हैरान

गुण्डुकी मेनुका नगरकोटी हिजो आज झिसमिसे बिहानीमै बारीमा पुग्छिन् । खेताला लगाउन फूल टिप्ने खेताला पनि पाईँदैन आजभोलि । आफ्नै फूल टिप्न भ्याइनभ्याई हुन्छ । कसले आईदेओस् अर्काको मेला ? त्यसैले भ्याएको जति सबै आफैंले टिप्ने प्रयासमा छिन् उनी । तिहार आउन अब एक साता मात्रै बाँकी छ । मखमली मात्रै होइन । अब त सयपत्री समेत टिप्ने बेला भइसक्यो । त्यसैले पनि बिहानभरी फूल टिप्यो, दिउँसो भएपछि घरमै बसेर उन्न थाल्यो ।

उनलाई कसैले नअल्मल्याउने हो भने एक दिनमा सयभन्दा धेरै माला उन्ने गरेकी छिन् । ‘हाम्रो सिजन भने अपसिजन भने पनि यही तिहारको समय हो । भाइटीकाको अघिल्लो दिनसम्म भ्याएको जति हो । त्यसपछि यो फूलको केही काम छैन । अहिलेको यही दुखले नै परिवारको ६ महिनाको गर्जाे टार्ने सोच बनाएकी छु ।’ नगरकोटी भन्छिन् ‘के गर्नु यो साल फूल नै फुलेन । धेरै पानी परेर होला पाहोरभन्दा त झण्डै आधा जति मात्रै फूलेको छ । त्यो पनि समयमा बजारमा पुर्‍याउन सकिएन कामै भएन ।’

मखमलीको फूलको डेटलाईन तिहारको भाइटीकाको अघिल्लो दिन हो । त्यसपछि बारीमा रहेका सबै फूलहरु काटेर सुकाउने वा त गाईबस्तुलाई दिने गरिन्छ । त्यसैले यो समयमा कसैले पनि नबिथोलिदिए हुन्थ्यो जस्तो लाग्छ मेनुकालाई ।

लोग्ने मान्छेले गर्दैनन् बारीमा काम

गुण्डुका लोग्ने मानिसहरु खासै यो काममा संलग्न हुँदैनन् । किन उनीहरु फूल खेतीमा सहयोग गर्न आउँदैनन् ? त्यो त्यहाँका महिलाहरुलाई समेत थाहा छैन । तर, आउँदैनन्, यो भने यथार्थ हो । उनीहरु न त फूल रोप्ने बेलामा आउँछन् । एकाधबाहेक अरु सबै फूल लगाउनेदेखि हुर्काउने हुँदै माला बुन्नेसम्म सबै काम महिलाहरु कै हो । त्यसपछि बजारमा लगेर बेच्ने बेलामा चाहिँ केटा मानिसहरु जाने गर्छन् । त्यसैले त्यहाँका अधिकांश महिलाहरुलाई मालामा प्रतिगोटा कति मूल्य आयो भन्ने थाहा हुँदैन ।

गुण्डुकी लक्ष्मी नगरकोटी भन्छिन् ‘म बजार गइएको छैन । श्रीमान् जानुहुन्छ कतिमा बेच्नुभयो मलाई थाहा हुँदैन । हामीले ८ आनाको यो जग्गामा लगाएको फूलले पाहोर परार त ३ हजारसम्म माला हुने गथ्र्याे । तर, अहिले त आधाभन्दा नहोला जस्तो छ ।’ उनीहरुले एक सिजनमा आधा रोपनी क्षेत्रफलमा लगाएको मालाले ५० हजारदेखि ८० हजार रुपैयाँ फाइदा गर्ने गरेका छन् ।

४० वर्ष अघि एक मोहोरमा माल

उता, मेनुकाको मानसपटलमा त्यही बारीमा लगाएको फूलबाट एउटा मालालाई एक मोहोरको दरमा बेचेको कुरा पनि ताजै छ । तर, त्यो ४० वर्षअघिको घटना हो । त्यतिबेला उनी उमेरले उमेरले त्यस्तै ८/९ वर्षकी थिइन् होला । उनका पिताले सोही ठाउँमा फूलको खेती गर्ने गरेका थिए । उनी भन्छिन् ‘मैले यहीँ बिहे गरेँ । ४० वर्षमा यही साढे १९ रुपैयाँ बढ्यो मालाको भाउ । यसलाई थोरै भन्ने कि धेरै ? व्यापारीले बजारमा कति रुपैयाँमा बेच्छन् भन्ने मलाई थाहा छैन । उनले सम्झिइन्, ‘एक माहोरबाट एक्कासी २ रुपैयाँ पुग्यो । २ रुपैयाँ पनि लामै समय चल्यो ।

त्यसपछि एक्कासी ५ रुपैयाँ पुग्यो । त्यसपछि १० रुपैयाँ १५ र अब २० रुपैयाँ पुग्यो । २ रुपैयाँको मालालाई ५ रुपैयाँ पुग्दा जति धेरै खुशी अरु बेलामा नलागेको उनी सम्झन्छिन् । त्यतिबेला सबैजनाले गहुँ काट्ने बित्तिकै अरु खेती नै गर्न छाडेर मखमलीको खेती गर्न थालेको उनले सुनाईन् । शायद त्यही बेलादेखि नै हुनसक्छ गुण्डु नामैले फूल उत्पादनको लागि चर्चित स्थानको रुपमा विकास भएको ।

मेनुकाको बारीसँगै दुईवटी लक्ष्मी नगरकोटीको फूल खेती छ । दुबै एक आपसमा भिन्न हुन् । दुबैले ८/८ आनामा खेती गरेका छन् । दुबै यो सालको पापी मौसमलाई सम्झिएर चिन्ता लिन्छन् । तर, जति भएपनि टिपेर माला त बेच्नै पर्‍यो । उनीहरु भन्छन् ‘चार आनाको खेतलाई वाषिर्क ६ हजार रुपैयाँ तिर्नुपर्छ । राम्रो माला भयो भने चार आनाको खेतमा १५ सय जति माला हुन्छ । तर, यो साल पानीले सोचेजस्तो फूल फुलेन । त्योसँगै उनीहरुको खुशी पनि यो साल फुलेन । दुईमध्ये एक लक्ष्मी गुण्डुमै बस्छिन् भने अर्की लक्ष्मी काठमाडौंको बालकुमारीमा बस्छिन् । गुण्डुमा धेरै व्यवसायीहरुले भाडामा जग्गा लिएर पनि फूलको खेती गर्ने गरेका छन् । भाडामा जग्गा लिएकाहरुले चार आनाको वाषिर्क ६ हजार रुपैयाँ बुझाउने गरेका छन् ।

तस्वीर/भिडियो : चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment