४ कात्तिक, बुटवल । रुपन्देही पल्टनसमाथि सहज जीत निकाल्दै बुटवल युनाइटेड तिलोत्तमा पि्रमियर लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
२० रनको सामान्य लक्ष्य पाएको बुटवल युनाइटेड १० विकेटले विजयी भएको हो । टस जितेर ब्याटिङ्ग गरेको रुपन्देही पल्टनलाई १२.३ ओभरमा १९ रनमै रोकेपछि बुटवल युनाइटेडको जीत सहज भएको थियो ।
जीतका लागि पाएको २० रनको लक्ष्य बुटवल युनाइटेडले २ ओभरमै पूरा गरेको थियो । बुटवल युनाइटेडका लागि कुशल मल्लले १० र मृनल गुरुङ्गले ११ रनको योगदान गरे ।
रुपन्देही पल्टनलाई झिनो रनमा रोक्न बुटवल युनाइटेडका अमित तामाङ एक्लैले ५ विकेट लिए ।
अमितले ४ ओभरमा एक मेडन ओभर खेल्दै १० रन खर्चेर ५ विकेट लिएका हुन् । त्यस्तै राहुल प्रजापतिले २ साथै भीम सार्की, सागर ढकाल र सुसन भारीले समान १ / १ विकेट लिए ।
ब्याटिङ्गतर्फ रुपन्देही पल्टनका बिराट भण्डारी, दिनेश मगर, दिलिप कुर्मी, रोविन क्षेत्री, सौरभ भुर्तेलले खाता नै खोल्न सकेनन् ।
प्रतियोगितामा बुटवल युनाइटेडका अमितता माङ म्यान अफ द म्याच बने भने राहुल प्रजापती मोस्ट भ्यालुएवल खेलाडी बने सफल भए ।
प्रतियोगिता अन्तर्गत सोमबार हुने दोस्रो खेलमा सियारी राइनोज्ले मणिग्राम किंगस्को सामना गर्नेछ ।
सेमिफाइनल खेल्ने सबै टिमको टुंगो लाग्यो
तिलोत्तमा पि्रमियर लिगमा सेमिफाइनल खेल्ने सबै टिमको टुंगो लागेको छ । समूह ए मा रहेको ज्ञानोदय गोल्डस्ले सेमिफाइनलमा स्थान सुरक्षित बनाइसकेको छ भने बुटवल युनाईटेड पनि समूह एबाट सेमिफाइनल पुग्ने अर्को टिम बनेको छ ।
समूह बीबाट मणिग्राम किंगस् र पाल्पाली लिजेन्ड्स यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
कात्तिक ९ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख र उपविजेताले नगद २ लाख प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4