News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतमा झण्डै २० हजार दर्शकको उपस्थितिमा ५६ टोली सहभागी २४औं गोर्खा कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
- प्रतियोगिताको पुरुषतर्फ राङभाङ समाज यूकेले उपाधि जित्दै ३५०० पाउण्ड प्राप्त गरेको छ भने गुरुजी एलिट उपविजेता बनेको छ ।
- त्यस्तै महिलातर्फ तामाङ समाज एफसी र भेट्रानतर्फ एफसी ०४ ले आ–आफ्नो वर्गमा उपाधि हात पारेका छन् ।
९ जेठ, लन्डन । बेलायतस्थित नेपाली समुदायको ठूलो फुटबल प्रतियोगिता गोर्खा कप को २४औं संस्करण आइतबार सम्पन्न भएको छ । झण्डै २० हजार दर्शकको उपस्थितिमा सम्पन्न प्रतियोगितामा यस वर्ष ५६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
अल्डरसटस्थित क्वीन्स एभिन्यू मैदानमा भएको प्रतियोगिताको पुरुष (युवा) तर्फ राङभाङ समाज यूके विजेता बनेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै राङभाङ समाजले उपाधिसहित ३५०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । गुरुजी एलिट उपविजेता बन्दै २००० पाउण्डसहित ट्रफी र प्रमाणपत्रमा सीमित रह्यो ।
भेट्रानतर्फ एफसी ०४ ले उपाधि जित्दा प्लमस्टिड एफसी उपविजेता बन्यो । विजेताले १८०० पाउण्ड तथा उपविजेताले १२०० पाउण्ड प्राप्त गरे ।
महिलातर्फ तामाङ समाज एफसीले उपाधि जित्यो भने राउन्डबोल्ट एफसी उपविजेता बन्यो । विजेता तामाङ समाजले ६०० पाउण्ड र उपविजेताले ४०० पाउण्ड पुरस्कार पाए ।
यसपटक प्रतियोगिता फुटबलमा मात्र सीमित रहेन । मैदानमा खाना, च्यारिटी, आइसक्रिम, केक, बबल टी, लत्ताकपडालगायत १२६ स्टल राखिएका थिए भने बालबालिकाका लागि छुट्टै ‘फन फेयर’ पनि आयोजना गरिएको थियो ।
प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि क्यालुम स्टेवार्ट, तमुधि युकेका अभ्यक्ष जुमकाजी गुरुङ, डा. हेमराज शर्मा लगायतले पुरस्कार वितरण गरेका थिए । आयोजक तमुधिं यूके ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।


प्रतिक्रिया 4