News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको गोवामा आजदेखि शुरू हुने आठौं साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानको सामना गर्दैछ।
- सर्वाधिक गोलकर्ता सावित्रा भण्डारीबिना मैदान उत्रन लागेको नेपाली टोली प्रतियोगितामा राम्रो प्रदर्शन गर्न तयार रहेको कप्तान एन्जिला तुम्बापो सुब्बाले बताइन्।
- नेपालले हालसम्म आयोजित ७ मध्ये ६ संस्करणको फाइनल खेले पनि अहिलेसम्म साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन।
११ जेठ, काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा सुरु हुँदैछ ।
आठौं संस्करणको साफ महिला च्याम्पियनसिपको च्याम्पियन बन्ने लक्ष्यसहित गोवा पुगेको नेपाली महिला टोलीली पहिलो खेलमै आज भुटानसँग खेल्दैछ ।
समूह ए मा रहेको नेपाल र भुटानबीचको खेल गोवाको मर्गाओस्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समय अनुसार ४:४५ बजे सुरु हुनेछ । आजै समूह बी मा रहेको आयोजक भारतले माल्दिभ्ससँग साँझ खेल्दैछ ।
नेपाली टोली तयार रहेको मुख्य प्रशिक्षक नविन न्यौपाने र कप्तान एन्जिला तुम्बापो सुब्बाले च्याम्पियनसिपका लागि नेपाल तयार रहेको बताएका छन् ।
च्याम्पियनसिपअघि आइतबार भएको प्रि म्याच कन्फेरेन्समा कप्तान एन्जिलाले सुरुमा भुटान विरुद्धकै खेलमा फोकस हुने बताएकी थिइन् ।
नेपालका लागि सर्वाधिक गोलकर्ता रहेकी सावित्रा भण्डारी ‘साम्बा’ बिना नै नेपाल मैदान उत्रँदैछ ।
सावित्रा नहुँदा फेरि आर्मब्यान्ड लगाउने अवसर पाएकी गोलकिपर एन्जिला नेपाली टिमलाई साफ च्याम्पियनसिपमा तेस्रो पटक कप्तानी गर्दै छिन् ।
उनले विगतमा नेपालले साफ देखि अन्य विभिन्न प्रतियोगिता गरि धेरै फाइनल खेलपनि उपाधि जित्न नसकेको र यस पटक राम्रो गर्ने बताइन् ।
‘हामीले धेरै फाइनल खेलिसकेका छौं । यस पटक हामी राम्रो खेल खेल्न तयार छौं र आउने खेलमा केन्द्रित छौं’ उनले भनिन् ।
यस्तै सावित्रा, सबिना राना मगर टिममा नहुँदा नया युवा खेलाडीहरुको काँधमा नेपालको फरवार्ड लाईन निर्भर हुनेछ । टिममा अनुभवी र नयाँ खेलाडीको मिश्रण रहेको एन्जिलाले बताएकी छिन् ।
नेपालले अहिलेसम्म भएको साफ महिला च्याम्पियनसिपको ७ मध्ये ६ संस्करणको फाइनल खेलेको छ र ६ पटक नै पराजित भएको छ ।
पछिल्लो पटक लगातार तीन संस्करण नेपालमै आयोजना गर्दा फाइनल पुगेपनि नेपाल लगातार पराजित भएको थियो ।
अझ त्यसमा पछि दुई संस्करण २०२२ र २०२४ मा दशरथ रंगशालामै हुँदा नेपाल दुवै पटक बंगलादेशसँग फाइनलमा पराजित भएको थियो ।
प्रतिक्रिया 4