+
+

सयपत्री फूलको औषधीय गुण

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ६ गते १०:५०

तिहारमा दिदीबहिनीले टिका लगाइदिँदा सप्तरंगी टिकासँगै मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने प्रचलन रहि आएको छ । ठूलाठूला थुंगासहितको सयपत्रीको माला साह्रै नै राम्रो देखिन्छ ।  त्यस्तै तिहारमा लक्ष्मीपूजा, कुकुर, गाई, गोरुको पूजा गर्दा पनि सयपत्री फूलको प्रयोग हुन्छ । आजभोली तिहारको समयमा घर कार्यालय सजाउनको लागि सयपत्रीको फूलको माला प्रयोग गरिन्छ ।

नेपालमा तिहारको समयमा सयपत्रीको माला बढी प्रयोग हुन्छ । आकर्षक देखिने भएकाले अन्य फूल भन्दा यो धेरै लोकप्रिय छ । निकै नै मन्द, कस्तूरी झैं गन्ध आउने यो फूललाई संस्कृति भाषामा स्थलपद्यम् नामले चिनिन्छ ।

१६ औं शताब्दीमा मेक्सिकोमा फुलेको सयपत्री फूल बिस्तारै-बिस्तारै अन्य देशहरुसम्म पनि फैलिन थाल्यो । विश्वभरीमा सयपत्री फूलको ५० भन्दाबढी प्रजातिहरु छन् । नेपालमा पनि सयपत्रीका एक दर्जनभन्दा बढी प्रजातिहरु उपलब्ध छन् । सयपत्री फूल नेपालमा निकै लोकपि्रय मानिन्छ । किनभने यो फूलको एउटा विशेषता के छ भने यो फूल वर्षभरी नै फुलाउन सकिन्छ ।

फूल एक प्रतीक अनेक

सयपत्री फूलको बारेमा पुरानो कथन के छ भने यसले मनुष्यको अहंकारलाई कम गर्छ र फूलको केसरी रंगले त्याग र माया-मोहको दुरीलाई दर्शाउँछ । जसरी आत्मा कहिले पनि मर्दैन, केवल शरीरमात्र परिवर्तन गर्छ । यसबाहेक घरको मुख्य ढोकामा सयपत्रीको फूलको तोरण लगाउनेले घरमा नकारात्मकता रहन पाउँदैन । सयपत्री फूलको बारेमा अर्को एउटा रोचक कुरा के छ भने यो फूल ओइलाउन अथवा सुक्न थाल्यो भने पनि यसको सुगन्ध फैलिरहन्छ । यसले के सन्देश दिन्छ भने तपाईं थाके पनि, निराश भए पनि आफ्नो धैर्यको बलमा आफ्नो लक्ष्यलाई प्राप्त गर्न सक्नुहुनेछ । उर्जा तथा प्रेरणाले भरिएको यो फूलको नौरंगी रंगको महत्व पनि कम छैन ।

हिन्दूधर्मावलम्बीहरुले तिहारमा प्रयोग अत्यधिक गर्ने सयपत्री फूल देख्न मात्रै राम्रो हुँदैन यसको सेवनले स्वास्थ्यमा पनि फाइदा गर्छ । सयपत्री फूल आकर्षक मात्रै होइन यसमा औषधिय गुण पनि रहेको छ ।  त्यस्तै यसलाई सौन्दर्य प्रशाधनका विभिन्न उत्पादन बनाउनको लागि पनि प्रयोग गरिन्छ । सयपत्री फूललाई पिसेर लेदो बनाई वा सुकाएर धुलो बनाई चुर्णको रुपमा प्रयोग गर्न सकिन्छ । यसको सेवन गरेर हामीले विभिन्न प्रकारका स्वास्थ्य लाभ लिन सक्छौं ।

सयपत्रीको तीन ग्राम लेदो वा चुर्ण आधा लिटर तताएको पानीमा मिसाएर दिनमा दुईतीनपटक सेवन गरेमा हामीलाई धेरै फाइदा गर्छ । त्यस्तै रस सेवन गर्दा दिनमा पाँच थोपा दिनको दुईतीनपटक सेवन गर्नुपर्छ ।

यी हुन् सयपत्रीको प्रयोगबाट हुने फाइदाहरुः

-छालासम्बन्धी रोग लागेमा सयपत्री फूलको लेप बनाएर छालामा लगाउन सकिनछ । यसले छालासम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

-पेट फुल्ने र दुख्ने रोगमा सयपत्री फूलको चुर्णको मात्रा मिसाएर औषधि सेवन गरेमा फाइदा हुन्छ ।

-कमलपित्त, अम्लपित्त, पायल्स, पेटभित्र आन्द्रामा घाउ आदि भएमा पनि सयपत्रीको चुर्णले ठिक गर्छ ।

-महिलाहरुले महिनावारीको समयमा रजश्वला हुँदा रगत घटबढ हुने समस्या भएमा सयपत्री फूलको रस सेवनले महिनावारी नियमित बनाउँछ ।

-कलेजोको समस्याबाट आउने ज्वरोमा पनि सयपत्रीको चुर्ण पानीमा मिसाएर खाएमा फाइदा गर्छ । साथै रगतमा विकार बढेमा पनि यसको चुर्ण प्रयोग गरिन्छ ।

-शरीरमा बढेको अत्यधिक गर्मीपन हटाउनको लागि सयपत्रीको चुर्ण पानीमा मिसाएर सेवन गरेमा लाभ मिल्छ ।

 

परम्पराको अंग

फूलहरुको सजावटको परम्परा प्राचीनकालदेखि नै चल्दै आएको छ । जब भगवान श्रीराम १४ वर्ष वनवास काटेर अयोध्या फर्किएका थिए, त्यो बेला उनको स्वागत पुष्प वर्षामार्फत नै गरिएको थियो । त्यो बेला पनि सयपत्री फूलकै प्रयोग गरिएको थियो । यसैगरी नेपालका अधिकांश चार्डपर्व अथवा उत्सवको बेला सजावट तथा अतिथिहरुलाई फूलको मालाले स्वागत गर्ने परम्परा छ, त्यो बेला पनि सयपत्री फूल नै प्रयोग गरिन्छ । भनिन्छ, सयपत्री फूलद्वारा जो कोहीको स्वागत गर्नाले उनीहरुको मान-सम्मान बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?