Comments Add Comment

वीरगञ्जको घडीअर्वा छठ घाट सजावटमा १५ लाख खर्च

१५ कात्तिक, वीरगञ्ज । छठ पर्व शुरु भएसँगै वीरगञ्जका मुख्य छठ घाटहरू सिँगार्ने कार्य जोडतोडले भइरहेको छ । छठको मुख्य दिन अस्ताउँदो सूर्य र त्यसको भोलिपल्ट अर्थात अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिनका लागि ब्रतालुहरु छठघाट जाने गर्छन् ।

केही वर्षयता वीरगञ्जका छठघाटहरुको सजावटमा लाखौं खर्च गर्न थालिएको छ । नदी, पोखरी, तलाउको किनारमा बनाइने छठघाटलाई झिलिमिली बत्ती र रंगिचंगी पण्डालले सिंगार्ने गरिन्छ । छठघाटको सय मिटर परदेखि नै पण्डाल, झिलिमिली बत्ती लगाएर आकर्षक बनाउनदेखि सुरक्षा व्यवस्थामा समेत गरी लाखौं खर्च गर्ने प्रचलन बढ्दैछ ।

वीरगञ्जको घडीअर्वा, मुर्ली, नगवा, छपकैया, रानीघाट, आदर्शनगर स्वीमिङ पुललगायत छठ घाटको सजावट तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको पूजा समितिहरूले जनाएका छन् ।

आकर्षक छठघाट हेर्नका लागि मात्रै दर्शनार्थीहरु वीरगञ्ज आउने गरेका छन् । वीरगञ्जमा बीचमा सूर्य भगवानको मन्दिर भएको घडीअर्वा पोखरी छठघाटलाई विशेष मानिन्छ । घडीअर्वा छठघाटलाई यसवर्ष झण्डै १६ लाख खर्च गरेर साज सज्जाको काम भइरहेको छ ।

पहिले व्यक्तिगत रुपमा पैसा हुनेले पण्डाल लगाउने गरेका थिए । खासै सजावटको काम हुँदैन थियो । छठ पूजा व्यवस्थापन समिति गठन गर्न थालेपछि १७ वर्ष अघिदेखि घडीअर्वा पोखरीमा विशेष सजावट हुने गरेको छ । छठघाटमा झालर तथा पण्डाल लगाउन भारतीय मजदुरहरु आउने गरेका छन् ।

धनी र गरीबबीचको विभेदलाई अन्त्य गर्नका लागि घडीअर्वामा सजावटको काम थालिएको छठ पूजा व्यवस्थापन समितिका पूर्व सचिव मनोहर साह बताउँछन् ।

घडीअर्वा परिसरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै छठ पूजा व्यवस्थापन समितिले यसवर्ष १९ लाख आम्दानी हुने र छठघाट सजावटमा १५ लाख ७० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिएको छ । समितिका अनुसार ०७५ सालको छठमा १४ लाख ७३ हजार खर्च भएको थियो । समितिले पूजा सकिएको एक वर्षपछि शुक्रबार अघिल्लो वर्षको हिसाबकिताब सार्वजनिक गरेको थियो ।

यसवर्ष सजावटमा ६ लाख ५५ हजार, साउन्ड सिस्टम र भिडियोग्राफीका लागि ३५/३५ हजार, सरसफाइ खर्च १ लाख, सुरक्षा खर्च ७५ हजार, स्टेशनरी खर्च ५ हजार, पुरस्कार खर्च ४ लाख १० हजार, प्रचार प्रसार खर्च ७ हजार ५ सय, चैती छठ पूजा १ लाख, कार्यालय खर्च ८ हजार गरी १५ लाख ७० हजार खर्च हुने अनुमान गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

समितिका अध्यक्ष प्रेम साह कानूले पोखरीमा माटोको सूर्य मन्दिर, स्तम्भ तथा झालर बत्ती आकर्षक ढंगले सजाइएको बताए । टिकट बिक्री र दाताले दिएको दान रकमबाट छठघाटको खर्च धान्ने गरिएको छ ।

वीरगञ्जको रानीघाटस्थित छठघाटमा ५ देखि साढे लाखसम्म खर्च हुने अनुमानसहित सजावटको काम भइरहेको छ । १३ वर्षदेखि सजावटको काम थालेको बताउँदै छठघाट व्यवस्थापन समितिका अध्यक्ष किरण गुप्ताले वर्षेनी खर्च बढ्दै गइरहेको बताए ।

‘बर्षेनी खर्च बढ्दै गएको छ, रानीघाट र श्रीपुर क्षेत्रमा चन्दा उठाएर खर्च धान्दै आएका छौं । समितिमा सबै व्यापारीहरु नै भएकोले नपुगेको खर्च सदस्यहरुले नै हाल्छौं’ उनले भने ।

सुरक्षाका लागि १७ वटा सीसीटीभी क्यामेरा

अत्याधिक भीडभाड हुने घडीअर्वा छठघाटमा सुरक्षाका लागि १७ वटा सीसीटीभी क्यामेरा जडान गरिएका छन् । पूर्व, पश्चिम, उत्तर र दक्षिणको चार वटा गेटमा भित्र र बाहिर दुवैतर्फ गरी ४/४ वटा सीसी क्यामेरा र पोखरी परिसरमा यसअघि नै रहेको थप एउटा क्यामेरा प्रयोग हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकहरु परिचालन गरिनेछन् । एम्बुलेन्स, दमकल र लाइफ ज्याकेट सहितको डुंगा तयारी अवस्थामा राखिएको सुरक्षा समितिका संयोजक प्रभाकर गुप्ताले जानकारी दिए ।

‘चाडवाडमा महिलाले बढी गरगहना लगाएर आउने हुँदा सादा पोशाकमा पनि प्रहरी परिचालन गर्न हामीले आग्रह गरेका छौं’ उनले भने ‘ब्रतालुलाई भीडभाडमा गरगहना धेरै लगाएर नआउन भनेका छौं ।’

समितिले डेढ लाख सर्वसाधरणले छठ पर्वको अवलोकन गर्ने दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment