Comments Add Comment

विकास लिम्बु : गाउँको स्टेज नपाएको झोँकले खारिएको आवाज

६ मंसिर, काठमाडौं । चोट सधैं हानिकारक हुँदैन । चोटले मान्छेको सहनशीलता नाप्छ, चोटले मान्छेलाई दुःखसँग लड्न सिकाउँछ र चोटले मान्छे बदलिदिन्छ ।

भलै त्यो सानो चोट थियो, तर विकास लिम्बुलाई त्यसले दुखाइरह्यो ।

उनलाई दुखाउने घटना यस्तो थियो–

कुरा किशोरवयको हो । उनी झापाको आफ्नो गाउँ अर्जुनधारामा थिए । १० कक्षामा पढ्थे, स्थानीय विद्यालयमा । त्यही बखत विद्यालयमा भव्य सांगीतिक कार्यक्रम हुने भयो । टेलिभिजन स्क्रिनमा देखिएका र रेडियोमा सुनिएका कलाकार आउँदै थिए । ‘राष्ट्रियस्तर’का कलाकर्मीको जमघट हुने भएपछि गाउँ–टोलबाट ठूलै भीड उर्लने पक्का थियो ।
एक त आफ्नै गाउँमा भएको भव्य कार्यक्रम, अर्कोतिर गायक बन्ने सुषुप्त आकांक्षा । आफूले पढ्ने विद्यालयको त्यही प्रांगण थियो, जहाँ उनले सानो–तिनो अवसरमा गाइसकेका थिए । उनलाई लाग्यो, यो मौका पनि गुमाउनु हुन्न ।

विकासले नाम टिपाए गाउनेहरूको सूचीमा । आयोजकले उनलाई थमथमायो, ‘तिमीले पक्का गाउन पाउनेछौं ।’

विकासलाई अब के चाहियो, फुरुंग हुँदै घर फर्किए । आफूले गाउने गीतका लागि अभ्यास गर्न थाले । घर–परिवार, दौतरी, छिमेकी सबै प्रतीक्षामा बसे, विकासले स्टेजमा गाएको हेर्न । ‘राष्ट्रियस्तरको कलाकर्मीसँग काँध जुधाएर आफ्नै आँगनमा हुर्केका केटोले गाएको हेर्न’ आतुर भए सबैजना ।

यो पनि पढ्नुहोस मलाई यति नै काफी छ !

हप्ता दिन बित्यो, विकासले गाउने अभ्यास जारी राखे । मन उमंगित थियो । १० दिन बित्यो । जति–जति कार्यक्रमको तिथि नजिकिन्छ, उनको मुटुको चाल पनि बढ्दै गयो । र, कार्यक्रमको दिन पनि आयो । कलाकर्मी आए । गाए, नाचे । विकास पालो कुरिरहे । मञ्च अघिल्तिर आमाबुवा, दौतरीहरू उत्सुकतापूर्वक बसिरहे । कार्यक्रम सकियो, विकासको नाम आएन । उनी लाज र ग्लानिले नराम्ररी खुम्चिए । उनको फुर्ती एकाएक सेलायो ।

‘त्यसपछि सबैले मलाई सोधे, किन नगाएको ?’ विकास सम्झन्छन्, ‘मसँग जवाफ थिएन ।’

घर फर्किएको साँझ उनलाई छिमेकीले जिस्काक्याए, दौतरीले खिल्ली उडाए, घर–परिवारले अविश्वास गरे । बुवा–आमाले भने, ‘तँ नाथेले नामै लेखाइनस्, गाउनै सक्दैनस् । त्यही भएर त तँलाई गाउन दिएनन् ।’

कार्पेन्टर बनेर फिदिम

१२ कक्षाको परीक्षा दिएपछिको समय । लामो फुर्सद । उनलाई त गीत–संगीतमै लहसिन मन थियो । तर घरको अवस्था फरक थियो । बुवा भन्थे, ‘अब केही कमाएर पनि ल्याउनुपर्छ, बरालिएर हुँदैन ।’

बुवाको कुरा मनासिव थियो । विकास कमाइका लागि पाँचथर पुगे । सदारमुकाम फिदिम बजारमा बसेर फर्निचरको काम गरे ।

काम एकातिर, रहर अर्कोतिर । उनलाई लाग्थ्यो, ‘म संगीतमै रमाउने मान्छे, संगीतमै केही गर्न चाहने मान्छे, तर बाध्यताले अरु काममा लाग्नुपरेको छ ।’

एकदिन रेडियोमा सूचना बज्यो, एक सांगीतिक प्रतियोगिताका लागि आवेदन खुलेको । उनी घर फर्किए । आवेदन दिए । झापा, बिर्तामोडमा अडिसन लिइयो । अडिसनबाट उनको लागि अगाडि बढ्न ढोका खुल्यो । त्यसपछि सोही प्रतियोगिताले डोहोर्‍याउँदै विकासलाई काठमाडौं ल्याइपुर्‍यायो । काठमाडौंको अडिसनबाट पनि उनी अगाडि बढ्दै गए । तर, धेरैमाथि पुग्न सकेनन् ।

प्रतियोगिताबाट उनी बाहिरिए ।

त्यसपछि घर फर्किएनन्

कर्म खोज्दै काठमाडौं टेकेका उनलाई घर फर्कन मन लागेन । ‘यहीँ बसेर संघर्ष गर्छु भन्ने लाग्यो’, विकास भन्छन्, ‘डेरा लिएर काठमाडौंमा बस्न थालेँ ।’

काठमाडौंको बसाइँ सोचेजस्तो कहाँ छ र ?

डेराको जिन्दगी । यथार्थ एकातिर, सपना अर्कोतिर । काम खोज्ने उपक्रममै कैयौं दिन बित्यो । सानोतिनो काम गर्न मन नलाग्ने । ठूलो काम पाउँदै नपाउने । एक, दुई वर्ष यत्तिकै बित्यो । काम नगरी कहिलेसम्म बस्ने ? उनी सानोतिनो काममै चित्त बुझाउन थाले । तर, काम गर्न थालेपछि गीत–संगीत भने ठप्प भयो ।

यतिबेला उनले आफैंतर्फ फर्केर प्रश्न गर्ने बेला भएको थियो, ‘आखिर तँ केका लागि यहाँ आएको ? के गर्दैछस् ?’

यो पनि पढ्नुहोस द भ्वाइस अफ बलबहादुर !

किनभने उनले सोचेजस्तो भइरहेको थिएन । समय बित्दै जाँदा विकासले रात्रिकालिन गीत गाउने काम पाए, दरबारमार्गको गजल रेष्टुरेन्टमा । तैबिसेक गाउने रहर पूरा गर्ने प्लेटफर्म मिलेको थियो । सामान्य आयआर्जन हुन्थ्यो, स्वर पनि माझिन्थ्यो ।

काठमाडौंमा यति समय गुज्रिसक्दा पनि उनी आफ्नो लक्ष्यमा उन्मुख हुन सकिरहेका थिएनन् । यद्यपि, गीत–संगीतमा लागेका एउटा जमातमाझ भने उनले आफूलाई चिनाइसकेका थिए । ‘जे होस् यो भाइले पनि गाउँछ है भन्नेचाहिँ बनाइसकेको थिएँ’ विकास भन्छन्, ‘त्यो भन्दा अरू प्रगति भएको थिएन ।’

भ्वाइस अफ नेपाल : एक मोड

‘मैले पुण्य मन पराएँ, या पाप मन पराएँ
जे होस् मैले तिमीलाई, चुपचाप मन पराएँ ’

चिम्सा आँखा, पातलो जुँगाको रेखी, टिपिकल मंगोल वर्णका ठिटो जब मञ्चमा उक्लिएर भाका हाल्न थाले, निर्णायकको कुर्सीमा बसिरहेका प्रमोद खरेलले आफूलाई थाम्न सकेनन् । उनी मोडिए । सम्मुखको मञ्चमा सुरिलो भाका हालिरहेका थिए, विकास लिम्बु ।

अरू दुई जना निर्णायक आस्था राउत र दीप श्रेष्ठले पनि विकासलाई साथ दिए । उनीहरूले खुलेर विकासको तारिफ गरे । गायकीका कमी/कमजोरी औंल्याइदिए । र, अगाडि बढ्नका लागि बाटो खोलिदिए ।

यसरी भ्वाइस अफ नेपालको मञ्चबाट एउटा यात्रा सुरु भयो उनको ।

त्यसो त अघिल्लो संस्करणमा पनि विकासले प्रयास गरेका थिए । उनको प्रयास सार्थक भएन । उनी डिटिजल अडिसन दिए । तर उनलाई फोन आएन । अर्थात् उनी छनौटमा परेनन् ।

यो पनि पढ्नुहोस याङ्की यल्मो : दार्जीलिङकी रकिङ लेडी

गायक बन्छु भनेर बेग मारिरहेका एउटा युवा–सपनामा ठेस पुग्यो । तर, उनी यो असफलताबाट हतोत्साही भएनन् । बरू आफैंभित्रको कमी/कमजोरी के छ भनेर घोत्लिए । ‘म कसरी गइरहेको छु, मैले के गरिरहेको छु भनेर आफैंलाई प्रश्न गरेँ’, विकास भन्छन्, ‘त्यसपछि मैले अरू बढी मेहनत गर्नुपर्छ र फरक ढंगले अगाडि बढ्नुपर्छ भन्ने लाग्यो ।’ उनले त्यसै गरे । अन्ततः दोस्रो संस्करणको भ्वाइस अफ नेपालका लागि उनको ढोका खुल्यो ।

डिजिटल अडिसन दिएपछि उनलाई आयोजकले ब्लाइन्ड अडिसनको लागि बोलाए । ‘त्यसबेलासम्म एकदमै मिहनत गरिरहेको थिएँ’, विकास सम्झन्छन्, ‘तर त्यहाँ पुगेपछि म हतास भएँ । मलाई लाग्यो कि गायकीले भन्दा पनि हतासले मलाई उछिट्याउनेछ ।’

तर त्यसो भएन । यसपटक उनी अविछिन्न यात्रामा छन् । एकपछि अर्को खुड्किलो पार गर्दैछन् । भोलि के हुन्छ ? थाहा छैन । तर आज जे–जति भयो त्यसले पनि उनलाई सन्तुष्ट बनाएको छ ।

विकास भन्छन्, ‘आज यही प्लेटफर्मबाट मैले एउटा नेम र फेम पाएको छु, त्यसैमा खुसी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment