Comments Add Comment

‘हिमालय रोडिजदेखि कमेडी च्याम्पिएन’सम्म, रियालिटी शोको लोकप्रियता चुलिदै

नेपाली टेलिभिजनको पर्दामा रियालिटी शोहरुले अहिले राम्रो स्थान बनाइरहेका छन् । अहिले नेपालमा गाउने, नाच्नेदेखि साहासिक रियालिटी शोहरु पनि सुरु भइसकेका छन् । जसले नेपाली युवा पुस्ताहरुको ध्यान खिचिरहेको छ ।

अहिले निकै चर्चामा रहेको रियालिटी शो हो, ‘दि भ्वाइस अफ नेपाल’ । ‘दि भ्वाइस अफ नेपाल’ले छुट्टै क्रेज बनाएको छ । टेलिभिजनका दर्शक र युटुबका दर्शक हेर्ने हो भने निकै उत्साहजनक छ । यो शोमा सहभागी हुनका लागि गायनमा रुची भएका हरेक उमेरका मानिसहरु उत्साहित छन् । शो जितेपछि सांगीतिक दुनियाँमा पाइने चर्चाले पनि धेरैलाई यो शोप्रति उत्साह बढाएको हो ।

अघिल्लो शनिबारबाट बाइक राइडिङ रियालिटी शो ‘पल्सर डेयर एड्भेन्चर’ सुरु भएको छ । यसको पनि दुई एपिसोड प्रशारण भइरहेको छ । यो शोको चौथो संस्करण हो । यो रियालिटी शोमा भने प्रतिष्पर्धीहरुले बाइक कुदाउनेमात्र होइन विभिन्न साहसिक खेल पनि खेल्नुपर्ने हुन्छ । यात्रामा आइपर्ने हरेक समस्याहरुलाई समाधान गर्दै आफ्नो गन्तव्यसम्म पुग्नुपर्ने हुन्छ । राइडरहरुले यात्रामा पाएको ’टाक्स’लाई पनि पूरा गर्नुपर्ने हुन्छ । यो बर्ष यो शोका प्रतिस्पर्धी यात्रा गर्दै भारतको लाडखसम्म पुग्नेछ ।

त्यस्तै साहसिक खेलको रुपमा चिनिएको अर्को रियालिटी शो ‘हिमालय रोडिज’ पनि प्रशारणको तयारीमा छ । फ्रेन्चाइज रियालिटी शो हिमालय रोडिज हिमालय टेलिभिजनमा प्रशारण हुनेछ । प्रशारणको तयारीमा रहेको हिमालय रोडिज तेस्रो संस्करण हो ।

पहिलो र दोस्रो संस्करण भन्दा विल्कुलै फरक शैलीमा हिमालय रोडिज तयार भएको छ । यो वर्षदेखि भने चार जना टिम लिडरले आफ्नो टिम तयार गर्नेछन् र अर्को टिमसँग प्रतिस्पर्धा गराउने छन् । टिम लिडरका रुपमा आशिष राना ‘लाउरे’, दिया मास्के, अनुपविक्रम शाही र पहिलो सिजनका विजेता समन श्रेष्ठ छन् । कार्यक्रमको होस्ट रेमन दास श्रेष्ठले गर्नेछन् । यस शोलाई प्रतिक्षित शोको रुपमा हेरिएको छ ।

अर्को प्रतिक्षित शो हो, ‘नेपाल आइडल’ । दुई संस्करण पूरा गरिसकेको ‘नेपाल आइडल’को तेस्रो सिजन प्रशारणको तयारीमा छ । हाल नेपाल आइडलको अडिसन पूरा भइसकेको छ । केही साता भित्रै ‘नेपाल आइडल’को प्रशारण सुरु हुनेछ ।

गायन रियालिटी शो नेपाल आइडललाई धेरै दर्शकले रुचाउने गर्छन् । त्यस्तै, यसै वर्षबाट हाँस्य कलाकारहरुको लागि ‘कमेडी च्याम्पियन’ नामक नयाँ रियालिटी शोले पनि प्रशारणको तयारी गरिरहेको छ । यो रियालिटी शोमा भने प्रतियोगीहरुले आफूमा भएको कमेडी कलालाई प्रस्तुत गर्नेछन् ।

रियालिटी शोमा ‘वुगी उगी’ पनि पर्छ । नृत्य गर्नेहरुको रियालिटी शो ‘वुगी उगी’को पहिलो संस्करण प्रशारण भइसकेको छ । एपीवान टेलिभिजनबाट प्रशारण हुने यो रियालिटी शोको दोस्रो संस्करणको तयारी भइरहेको छ ।

नृत्य गर्नेहरुकै लागि अर्को रियालिटी शो पनि छ, ‘छमछमी’ । तर, यो रियालिटी शोको भने चर्चा पहिले जस्तो अहिले छैन । हालै अर्को रियालिटी शो ‘नेपाल लोक स्टार’ले पनि आफ्नो पहिलो संस्करण सकेको छ । लोक गीत गाउनेहरुको लागि तयार भएको यो रियालिटी शोको पहिलो सिजनमा शनी विश्वकर्मा विजयी बनेका छन् ।

नेपाली टेलिभिजनमा अहिले रियालिटी शोको आकर्षण देखिएको छ । विशेषगरि, भारतीय टेलिभिजनहरुमा रियालिटी शोले दर्शकको साथ पाएपछि नेपालका टेलिभिजनमा पनि यस्ता शोहरुको निर्माण बढेको हो । जसले, देशका कुना कुनामा लुकेर बसेका प्रतिभाहरुले गतिलो मञ्च भने पाएका छन् । तर, यस्ता शो हेर्ने दर्शकले गुणस्तर नपुगेको भन्दै प्रतिक्रिया दिने पनि गरेका छन् ।

थुप्रै समस्या बाबजुत पनि टेलिभिजनमा यस्ता शोहरुको प्रशारण बढ्नु सुखद कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment