Comments Add Comment

प्रसिद्ध न्वागी मेला सल्यानबेँसीमा, त्रिपुरासुन्दरी माइत झरिन्   

Photo Credit : RSS

१३ मंसिर, धादिङ । नेपालको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी भगवती माईको न्वागी मेला त्रिपुरासुन्दरी माइत झरेपछि शुक्रबार सकिएको छ । बिहीबार साँझदेखि रातभर पूजापाठ गरेर शुक्रबार बिहानै त्रिपुरासुन्दरी माईलाई गाउँको मन्दिर सल्यानकोटबाट बेँसीमा रहेको आगिञ्चोकको सल्यानबेँसीमा झारिएको छ ।

प्राय देवीदेवताको दर्शन गर्न मन्दिर नै पुग्नुपर्ने भए पनि यो जात्रामा भक्तजनहरुले बाटोमै बसेर त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्न पाउँछन् । सल्यानकोटको घरमा रहेकी त्रिपुरासुन्दरी बेँसीमा रहेको मन्दिर माइतीघरमा न्वागी खान आउने पर्वको अवसरमा भव्य मेला लाग्दै आएको छ ।

मंसिर महिनाको विशेष तिथिमा त्रिपुरासुन्दरी भगवतीलाई गाउँको मन्दिर त्रिपुरासुन्दरी गाउँपालिका–४, सल्यानकोटबाट बेँसीको मन्दिर सोही गाउँपालिका–६ सल्यानबेँसीमा सार्ने गरिन्छ । रानामगर थरका मुख्य पुजारीद्वारा खाली खुट्टा त्रिपुरासुन्दरी भगवतीलाई पिठ्युँमा बोकेर झण्डै तीन घण्टाको ओह्रालो तथा अप्ठेरो बाटो हुँदै बेँसीको मन्दिर ल्याइएको हो । यो त्रिपुरासुन्दरी भगवतीको माइतीघर हो ।

न्वागी खान आएकी त्रिपुरासुन्दरी भगवती फागुन महिनासम्म माइतीघरमा बस्ने गर्छिन् । फागुन महिनामा साइत हेरेर पुनः त्रिपुरासुन्दरीलाई माथि आफ्नै घर लाने परम्पराअनुसार मेला लाग्ने गरेको गाउँपालिका अध्यक्ष शम्भु थापाले बताए ।

भगवतीको प्रतीकलाई बेँसी झार्दा भक्तजन र पुजारीहरुबाट खुँडा, खुकुरीसहित पञ्चेबाजामा नाच देखाउँदै दियो, कलश, बोकेर शङ्ख, घण्ट बजाउँदै र भगवतीको जयजयकार गाउँदै अबिर जात्रा गर्ने गरिन्छ । मेलाको आकर्षण नै सल्यानबेँसीमा त्रिपुरासुन्दरी भगवती बोकेर ल्याउँदाको अवसरलाई लिने गरिएको छ । बाटोमा बसेर पूजा गर्ने तर त्रिपुरासुन्दरी माईको मूर्ति हेर्न नहुने र मुख्य पुजारीबाहेक कसैले पनि छुन नहुने परम्परा रहेको सामाजिक कार्यकर्ता नारायण तिमल्सिनाले बताए ।

त्रिपुरासुन्दरी भगवतीलाई एक वर्षभित्र विभिन्न तीन वटा मन्दिरमा लगेर राख्ने र त्यहीँ पूजाआजा गर्ने अनौठो र रोचक परम्परा छ । सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वतिरको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । पूर्वतिरको मन्दिर मामाघरको रूपमा प्रसिद्ध छ । पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महिनाभन्दा बढी समय भगवतीलाई त्यहीँ पूजाआजा गरिन्छ । उक्त मन्दिर त्रिपुरासुन्दरीको घर भएको बताइन्छ ।

पृथ्वीनारायण शाहले त्रिपुरासन्दरी माईको आशीर्वाद पाएर काठमाडौँ युद्ध गर्न जाँदा विजय भएको किंवदन्तीका आधारमा मेला लाग्दै आएको बताइएको छ । यस वर्षदेखि गाउँपालिकाले नै त्रिपुरासुन्दरीको न्वागी मेला आयोजना गर्ने र खर्च व्यवस्थापन गर्न सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment