Comments Add Comment

मन्त्रीको टिप्पणी : राजाको शासन र अहिले विकास खर्च किन उस्तै हुन्छ ?

'कहीँ न कहीँ कर्मचारीको मनोवृत्ति बिग्रिएको छ'

१६ मंसिर, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले निजामति कर्मचारीको कार्यशैली नफेरिँदा नागरिकले परिवर्तनको अनुभूति गर्न नपाएको टिप्पणी गरेका छन् ।

विगतमा राजाको शासनकाल र अहिले बहुमतको सरकार हुँदा पनि सरकारको काम उस्तै उस्तै देखिनुमा कर्मचारीको मनोवृत्ति मुख्य कारण रहेको उनले बताए ।

सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा निजामति कर्मचारीसम्बन्धी विधेयकबारेको छलफलमा उनले भने ‘कहीँ न कहीँ कर्मचारीमा मनोबल बिग्रेको छ । परिणाममा राजाको सरकार हुँदा, बहुमतको, अल्पमतको सरकार हुँदा पनि विकास खर्च उही किन हुन्छ यो कुरासँग यो विधेयक (निजामति कर्मचारीसम्बन्धी विधेयक) सँग कहीँ न कहीँ जोडिन्छ ।’

कर्मचारीको वृत्ति विकास, प्रमोसन र सरुवा बढुवामा निश्चित मापदण्ड नहुँदा विवादरहित हुन नसकेको भन्दै मन्त्री त्रिपाठीले विगतदेखि नै सरकारले पद्धति बसाल्न नसकेको टिप्पणी गरे । ‘(काम) गर्ने र नगर्नेलाई एउटै तराजुमा तौलिँदा पनि समस्या छ । नगर्दा पनि के हुँदोरहेछ र भनेर गर्नेहरु पनि निराश भएको अवस्था छ’ उनले भने ‘गर्ने र नगर्नेका बीचमा विभेद नहोस् । गर्नेलाई पुरस्कृत गर्ने र गर्ने वातावरण नाउन हाम्रो भूमिका हुनुपर्छ ।’

मन्त्री त्रिपाठीले निजामति कर्मचारी विधेयकमा राज्य व्यवस्था समितिले अहिलेसम्म जुटाएको सहमति स्वीकार गर्ने र सहमति जुट्न बाँकी विषयमा खुला छलफल गर्ने बताए ।

मन्त्री त्रिपाठीले सरकारमाथि पेन्सनको दायित्व निरन्तर बढिरहेको भन्दै अबको १८ वर्षपछि सरकारले पूर्वकर्मचारीलाई पेन्सन दिन पनि विदेशी सहयोग लिनुपर्ने अवस्था आउने बताए । यस्ता समस्यालाई पनि निजामति कर्मचारी विधेयकले संबोधन गर्नुपर्ने उनले बताए । ‘ हामी कहिले ५८ कहिले ६० वर्ष (कर्मचारीको उमेर हद) को कुरा गरिरहेका छौं’ उनले भने ‘अहिलेकै अवस्थाले भार बढ्दै जाने हो भने पेन्सन दिन पनि विदेशी सहयोग लिनुपर्ने अवस्था आउँदैछ ।’

सरकारलाई विश्वास गर्न आग्रह

मन्त्री त्रिपाठीले सरकारको कामलाई विश्वास गर्न पनि आग्रह गरे । ‘संसदले सरकारको निगरानी गर्ने हो । तर सरकार मनोमानी गर्छ, कर्मचारी बदमासी गर्छ भन्यौं भनेमात्र कसले गर्छ ?’ उनले भने ‘छाया सरकारले गर्दैन, सबैलाई आग्रह छ । सबैलाई अविश्वास गरे विश्वास गर्ने निकाय कुन छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment