Comments Add Comment

भुटानी प्रधानमन्त्रीको अनौंठो आनीबानी : बिरामी जाँच्न अस्पताल धाउने

कस्तो छ नेपालसँगको साइनो ?

हाम्रो नेता–मन्त्री उपचारका लागि विदेश सयर गर्छन् । उनीहरुको उपचारका लागि राज्यको ढुकुटीबाट करोडौं रुपैयाँ खर्च गरिन्छ । भुटानका प्रधानमन्त्रीको अवस्था भने फरक छ । उनी आफ्नो उपचार होइन, जनताको उपचारका लागि अहोरात्र खटिन्छन् । प्रधानमन्त्री बन्नुअघि उनी चिकित्सक थिए । प्रधानमन्त्री भइसकेपछि पनि उनी रोगीको उपचारमा निरन्तर खटिने गरेका छन् । अहिले पनि उनी सातैपिच्छे अस्पताल धाउने गरेका छन् ।

अर्को रमाइलो कुरा,  नेपालमा विनाशकारी भूकम्प गएको बेला भुटानी प्रधानमन्त्री चिकित्सकको रुपमा उद्वारमा खटिएका थिए ।

‘मेरो जीवनशैलीमा केहीपनि परिवर्तन भएको छैन । मेरो काम गर्ने समय १६-१७ घण्टा यथावत छ । पहिले अस्पतालमा ओटीमा काम गर्थेँ । अहिले प्रधानमन्त्री कार्यालयमा ओटीमा काम गर्छु । हप्तामा दुई पटक म सँधै अस्पताल जाने गर्छु । धेरै गरेर बिहिवार अस्पताल जाने गरेको छु । सबैभन्दा ठूलो कुरा त मेरो व्यस्त जीवनशैली पहिलेको जस्तै छ । केवल जिम्मेवारी परिवर्तन भएको छ । अहिलेसम्म, म बिरामीहरुको उपचार गरेर दिन बिताउँथें । अब म उपचार नीतिहरुको बारेमा चिन्तन गरेर दिन बिताउने गरेको छु । पहिले म एकाध बिरामीहरुसँग सम्बन्धित हुन्थेँ । अब मेरो पहुँच परिवर्तन भएको छ । म एकल बिरामीको सम्पर्कमा हुनुको सट्टा अब साढे ७ लाख मानिससँग सम्पर्कमा छु । त्यसैले मेरो निद्रा कम भएको छ । जब म कागजातमा हस्ताक्षर गर्न लाग्छु त्यतिबेला सोच्ने गरेको छु ‘मैले गर्ने हस्ताक्षर केवल यस पुस्तालाई मात्र होइन, अर्को जेनरेशन पनि यही भूमिमा आउँदैछ ।”

यो भनाई ड्रागनको भूमि भुटानका प्रधानमन्त्री डा. लोटे त्सेरिङको हो । स्पष्टसँग आफ्नो मातृभाषासँगै नेपाली, बंगला जस्ता भाषामा भाषण दिन सक्ने उनी भुटानका एक बहुप्रतिभावान व्यक्तित्व हुन् । उनको जीवन व्यक्तिगत जीवनशैलीबाट भिन्न छ । जहाँ खान्छन् पेशा वा देशकै लागि खान्छन् । उनले दुई जना धर्मपुत्र पालेका छन् । उनीहरु नै उनका सन्तानहरु हुन् । खानमा कुनै लोभ र मिठासको भोका छैनन् उनी । लगाउनमा अधिंकाश समय मौलिक भुटानी पहिरनमा भेटिन्छन् भने कुनैबेला उनी औपचारिक पहिरनमा पनि देखिने गर्छन् ।

सन् २०१८ को नोभेम्बर महिनामा प्रधानमन्त्री चुनिएका हुन् उनी । प्रधानमन्त्री चुनिएको चार महिनापछि उनीसँग एक भुटानी स्थानीय पत्रिकाले अन्तर्वार्ता लिएको थियो । सो अन्तर्वार्तामा उनले स्पष्टसँग आफ्नो बिहानी पनि कामबाटै सुरु हुने र रात पनि पेशासँगै ढल्कँदै जाने स्पष्ट बताएका थिए ।

सो अन्तर्वार्तामा भने जस्तै उनको जीवनशैली बदलिएको छैन । परिवार भनेर आफ्नो मान्ने कोही छैनन् । धर्मपुत्र पालेका ती दुई छोराहरुलाई पनि दिने समय कम छ । दिनमा २४ घण्टा हुन्छ । त्यसमा १६ घण्टा उनले कामलाई नै दिने गरेका छन् । हप्तामा दुई दिन र नभ्याएको खण्डमा एक दिन त उनी जस्तो सुकै काम छाडेर पनि अस्पतालमा जाने गरेका छन् । त्यसैले उनको खानपान, व्यायाम र अरु व्यक्तिगत कामहरुको कुनै निश्चित समय छैन ।

यो पनि पढ्नुहोस मलेसियाका प्रधानमन्त्रीको जीवनशैली : कति मितव्ययी, कति नम्र

त्सेरिङको नेपाल साइनो

त्सेरिङ तिनै व्यक्ति हुन् जसले २०७२ सालमा काठमाडौं उपत्यका सहित १४ जिल्लालाई प्रभावित गराउने गरी आएको विनाशकारी भूकम्पको समयमा ३७ सदस्यीय चिकित्सकीय टोलीको साथमा नेपाल आएका थिए । त्यतिबेला उनी प्रधानमन्त्री चुनिएका थिएनन् । त्यसको दुई वर्ष अघि चुनावमा हारेका उनी राजनीतिमा त्यस्तो सक्रिय पनि थिएनन् । भुटानीहरु त्यस्तो अन्धभक्त भएर राजनीतिमा लागेका व्यक्तिलाई मन पनि पराउँदैनन् ।

चुनाव हारेपछि उनी पुरानै पेशामा फर्किए । अस्पतालमा गएर पुनः बिरामीहरुको उपचार गर्न थाले । उनी कहिले थिम्पुबाट ६ घण्टाको पैदल यात्रामा पुग्ने विकट ठाउँमा पुगेर उपचार गर्छन् त कहिले थिम्पुकै अस्पतालमा ।

नमरेसम्म उपचार गरिरहने इच्छा

जुनसुकै देशका प्रधानमन्त्रीलाई पनि राजनीतिक भेटघाट र बैठकमा नै समय पुग्दैन । राजनीतिक काम, उद्घाटन र बैठक सकेर अरु काम गर्नु प्रधानमन्त्रीको लागि दुर्लभ नै हुने गर्छ । तर, दक्षिण एशियाकै एउटा त्यस्ता प्रधानमन्त्री जो हरेक हप्ताको एक दिन अस्पतालमा गएर बिरामीको उपचार गर्ने गर्छन् ।

यो पनि पढ्नुहोस भ्लादिमिर पुटिनको जीवनशैली : सधै स्वस्थ र तन्दुरुस्त

उनी हुन् प्रधानमन्त्री डा. लोटे त्सेरिङ । राजनीतिमा प्रवेश गर्नु अघि एक सम्मानित चिकित्सक थिए । उनी चिकित्सक हुँदा हुँदै नै प्रधानमन्त्रीको लागि चुनिए । त्यो अवसरलाई उनले छाड्न पनि चाहेनन् र त्यसलाई गुमाउन पनि चाहेनन् । उनले हप्ताको सातै दिन त अब अस्पतालमा बिताउन पाउँदैनन् । तर, हरेक हप्ताको अन्तिम दिन भने उनी अस्पतालमा गएर आफ्नो विशेषज्ञता रहेको विषयमा बिरामीको उपचार गर्ने गर्छन् ।

उनको यो अचम्मको बानीबारे एएफपीले एउटा रिपोर्ट बनाएको थियो । ‘कोही व्यक्तिहरू गल्फ खेल्छन्, कोही धनुर्धारी गर्छन् र तर, मेरो अर्काे इच्छा छ अस्पतालमा बिरामीको उपचार गर्नु ।’ उनले त्यतिबेला भनेका छन् ‘नमरेसम्म यो काम गरिरहने इच्छा छ तर म दिनहुँ यहाँ काम गर्न सक्दिन । जुनसुकै बेलापनि म कामको लागि जाने गरेको हुन्छु, मलाई बायाँ तर्फ मोडिन मन लाग्छ जहाँ अस्पताल छ ।’

यो पनि पढ्नुहोस जेफ बेजोस : विश्वकै धनी व्यक्तिको सरल जीवनशैली

२०१३ को असफल चुनावी प्रयासपछि उनी २०१८ को नोभेम्बरमा भुटानको प्रधानमन्त्रीको रूपमा चयन भएका थिए । उनी भुटानका तेस्रा प्रजातान्त्रिक नेता पनि हुन् जसले ‘सकल राष्ट्रिय खुशी’ मापनको सुरुवात गर्ने ठाउँको रूपमा परिचित भुटानको सत्ताको कार्यकारी अधिकार अँगाल्दै छन् । भुटानमा अहिले साढे ७ लाख जनसंख्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment