Comments Add Comment

आठ विद्यार्थीलाई चार जना शिक्षक

नवनिर्मित विद्यालय भवन ।

१९ मंसिर, रामेछाप । विद्यालयको भवन पनि चिटिक्क परेको बन्यो । विद्यालय भवनको उद्घाटन पनि निक्कै तामझामका साथ गरियो । तर विद्यालयमा पढ्ने विद्यार्थी नै नभएपछि के गर्नु ?

रामेछाप नगरपालिका–८ सल्लेको केवलेश्वर आधारभूत विद्यालय अहिले बेहुला बेहुलीबिनाको जग्य जस्तै भएको छ । सो विद्यायमा पढ्नको लागि दैनिक ८ देखि १० जना विद्यार्थी पनि जाँदैनन् । तर तिनै विद्यार्थीलाई पढाउन भने दैनिक ४ जना शिक्षक पुग्छन् । कहिलेकाहीँ विद्यार्थी नै नभएपछि शिक्षकहरु दिनभरी घाम तापेर बस्नु पर्ने अवस्था छ ।

तामाङ समुदायको बसोबास रहेको सल्लेमा २०३६ सालमा स्थापना भएको सो विद्यालयमा विद्यार्थीहरुको राम्रो चाप थियो । तर विद्यालयमा गुणस्तरीय पठन पाठन हुन छाडेपछि अभिवाकहरुले विद्यार्थीहरुले अन्य विद्यालयमा पठाउन लागे । कतिपय अभिभावकहरु छोराछोरी पढाउनकै लागि गाउँ छाडेर जिल्ला सदरमुकाम तिर सरे । जसले गर्दा अहिले विद्यालय विद्यार्थी विहीन भएको छ ।

२०७२ सालमा आएको विनासकारी भूकम्पले सो विद्यालयको भवन भत्कियो । विद्यालय भत्किएपछि विद्यार्थी झन् घटे । विद्यार्थीनै नभएको विद्यालय भवन बनाउने कि नबनाउने भन्ने विषयमा रामेछाप नगरपालिका निक्कै समय अड्कियो । अन्ततः विद्यालयको तीनकोठे पक्कि भवन बन्यो र बुधबार सो भवनको औपचारिक उद्घाटन पनि गरियो ।

रामेछाप नगरपालिका प्रमुख नरबहादुर मगरले उद्घाटन गरेको कार्यक्रममा अभिभावक र पाहुना मात्र थिए । विद्यालय परिसरमा विद्यार्थीहरु देखिँदैनथे ।

विद्यालयको तथ्याङ्कमा २५ जना विद्यार्थीहरु रहेका छन् । तर विद्यालयमा दैनिक ८ देखि १० जना विद्यार्थीहरु अध्ययनको लागि आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर तामाङले बताए । रामेछाप नगरपालिकाका शिक्षा शाखा प्रमुख शुकदेव नेपाल गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालय छाडेका विद्यार्थीहरुलाई विद्यालय फर्काउने वातावरणमा शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी लाग्नु पर्ने बताउँछन् ।

पछिल्लो समय आधारभूत तहमा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुको संख्या घट्दै गएको छ । जसले गर्दा विद्यार्थी नै नभएर कतिपय विद्यालयहरु समायोजना भएका छन् । २०७२ सालको भूकम्प अघि ४ सय १९ को संख्यामा रहेका रामेछाप जिल्लामा सामुदायिक विद्यालयहरु समायोजन गरी अहिले ३ सय ९७ भन्दा तल झरेका र अझै पनि समायोजनको क्रम जारी रहेको जिल्ला शिक्षा विकास समन्वय इकाई रामेछापका प्रमुख भरतबहादुर भट्टराई बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment