Comments Add Comment

१० दिन बन्द रहेको भरतपुर विमानस्थल सञ्चालन

२५ मंसिर, चितवन । धावनमार्ग ओभरले र पार्किङ बिस्तार गर्न बन्द गरिएको भरतपुर विमानस्थल बुधवारदेखि नियमित सञ्चालनमा आएको छ ।

विमानस्थल गत मंसिर १५ गतेदेखि २४ गतेसम्म बन्द भएको थियो । भरतपुर विमानस्थलको धावन मार्ग करिब १२ सय मिटर लामो र ३० मिटर चौडाइको छ । विमानस्थल ओभरले गर्दा ६० एमएमको कालोपत्रे तयार गरिएको छ ।

नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयलका प्रमुख पवन गौतमका अनुसार विमानस्थलको धावन मार्गको ओभरले गर्ने काम सकिएको छ ।

मुख्य पार्किङ बिस्तारको केही काम अझैं बाँकी रहेको छ । यो काम पूरा गर्न केही समय लाग्ने उनको भनाइ छ । बाँकी काम भ्रमण वर्ष सुरु हुनुअघि नै सम्पन्न गरिने प्रमुख गौत्तमले बताए ।

झण्डै २० वर्षपछि विमानस्थलको धावनमार्गमा ओभरले गरिएको हो । अब कम्तिमा पनि १० वर्षका लागि ढुक्क भएको विमानस्थल प्रमुख गौत्तमले बताए ।

७०/७० मिटर रहेको पार्किङलाई बढाएर ९०/८० को बनाउन खोजिएको छ । पुरानो पार्किङमा ओभरले गरिए पनि थपिएको भागमा भने काम बाँकी नै छ ।

अहिलेको पार्किङमा साना जहाज चारवटा अटे पनि एटीआर र जेट स्टिमहरू एक साइडमा एउटा मात्रैं अटाउन सक्छन् । विमानस्थलको मुलगेटसहितको सबै सडक कालोपत्रे थप्ने योजना छ ।

धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि करिब १० करोडको ठेक्का सम्झौता गौरी पार्वती-मृत सञ्जीवनी जेभीसँग गरिएको थियो ।
नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी विमानस्थल ब्यूटीफिकेशनको काम पनि अघि बढाइएको विमानस्थलका प्रमुख गौत्तमले जानकारी दिए ।

भरतपुरमा बुद्ध, यती र सिमि्रक एयरलाइन्सले उडान गर्ने गरेका छन् । भरतपुर-काठमाडौँ दैनिक ८ र बुद्ध र यतिले भरतपुर-पोखरा एक/एक उडान गर्दै आएका छन् । यो विमानस्थलबाट दैनिक ८ सय यात्रुले सेवा लिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment