Comments Add Comment

क्रसिङ सिजनमा लुम्बिनी चिनी उद्योग बन्द

३० मंसिर, काठमाडौं । सञ्चालनमा आएको ३० वर्षपछि लुम्बिनी चिनी उद्योग बन्द भएको छ । उद्योगमा ताला लागेपछि बाँकी लाखौं बक्यौता असुली र उखु बिक्रीको चिन्ताले किसान पिरोलिएका छन् ।

चीन सरकारको सहयोगमा पश्चिम नवलपरासीको सुनवलमा स्थापित यो उद्योग ०६२ अघिसम्म सरकारी स्वामित्वमा थियो । ०६२ माघबाट भने सरकारले उद्योगी मनीष अग्रवाललाई ४६ बिघा जमिनमा फैलिएको उद्योग पूर्वाधारसहित २५ वर्षका लागि लिजमा दिएको थियो ।

४२ करोड १२ लाख रुपैयाँमा निजीकरण गरिएको यो उद्योग १४ वर्ष नपुग्दै बन्द गरिएको छ । एक वर्षअघि उद्योग लिजमा लिएका अग्रवालको निधन भएपछि व्यवस्थापकीय समस्या दर्शाउँदै क्रसिङ सिजनमै उद्योग बन्द गरिएको हो ।

३० वर्षअघि चीन सरकारको सहयोगमा उद्योग स्थापना गर्नुको उद्देश्य उखुखेती प्रवद्र्धन गर्नु थियो । उद्योग स्थापनापछि यस क्षेत्रका किसानहरू उखुखेतीमा आकर्षित भएका थिए । तर, बीचमै उद्योग बन्द गरिएपछि उखुखेती गर्दै आएका किसानहरू अलमलमा परेका छन् ।

किसानको ७ करोड बक्यौता के हुन्छ ?

उद्योगले गत सिजनमा किसानबाट करिब ७ करोड रुपैयाँ बराबरको उखु उधारोमा खरिद गरेको थियो । तर, उद्योगले किसानसँगको दायित्व पूरा गरेको छैन ।

उधारोमा खरिद गरेको उखुको बक्यौता उद्योगले चुक्ता नगरेपछि किसान चिन्तित बनेका छन् । उनीहरूले रकम प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालयलाई नै गुहारेका छन् ।

नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शम्भुप्रसाद मरासिनीले उद्योग बन्दबारे आफूलाई औपचारिक जानकारी नभएको बताए । उखु क्रसिङ  सिजनमा उद्योग बन्द भएमा किसान त्यसको मारमा पर्ने उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले यसअघि सर्वदलीय बैठक राखेर बक्यौता रकम फिर्ता गर्ने सहमति उद्योग र किसानबीच गराएको थियो । प्रजिअ मरासिनी यही सहमतिअनुसार किसानको रकम भुक्तानी हुनेमा आशावादी छन् । कदाचित त्यसो नभएमा प्रशासनले पुनः पहल गरेर किसानलाई भुक्तानी दिलाउन पहल गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment