Comments Add Comment

चित्लाङमा पर्यटक आकर्षित गर्न व्यवसायीले भित्र्याए क्वाड बाइक

३० मंसिर, वीरगञ्ज । १० वर्ष अघि गाउँकै एउटा ठिटोले चित्लाङमा पर्यटनको सम्भावना देखे । श्री स्वच्छन्द भैरव माविसँग झण्डै २ सय रोपनी जग्गा थियो । उक्त जमिनमा नासपतिको बगैंचा थियो । तर नासपतिको विरुवाको उचित संरक्षण हुन सकेको थिएन । नासपतिको बगैंचा पशुचौपाय चर्ने चरण क्षेत्र जस्तै बनेको थियो ।

ती युवकले त्यही चौरमा चित्लाङको भविष्य देखे । त्यो जमिन उनले भाडामा लिए । जहाँ उनले चित्लाङ अर्गानिक भिलेज रिसोर्ट खोले । चित्लाङलाई ग्रामिण पर्यटनको केन्द्र बनाउन उनले लगानी गर्दै गए । गाउँमा अहिले डेढ दर्जन होम स्टे, ४ वटा रिसोर्ट, होटल, रेष्टुरेन्ट र लजहरु समेत खुलिसकेका छन् ।

सातामा सयौं आन्तरिक र बाह्य पर्यटक चित्लाङ घुम्न पुग्छन्, रमाउँछन्, अनि फर्कन्छन् । अनि आहा क्या ‘स्वर्ग’ जस्तै ठाउँ भनेर फर्कन्छन् । हुन पनि चित्लाङको प्राकृतिक सुन्दरता नै लोभ्याउने खालकै छ । चन्द्रागिरिको काखमा हरियो जंगलले घेरेको उपत्यका, स्वच्छ, मनोरम अनि शान्त छ । नजिकै इन्द्र सरोवर ताल हुनुले पनि फाईदा पु र्‍याएकै छ ।

बाह्रै महिना चिसो मौसम, क्याम्प फायर, स्थानीयले नै उत्पादन गरेका ताजा तरकारी र स्वादिष्ट खानेकुरा यहाँका मुख्य आकर्षक हुन् ।

सरकारले चित्लाङलाई ‘पर्यटकीय गाउँ’ भनेर घोषणा समेत गरिसकेको छ । ‘चित्लाङ पर्यटनका पिता’को रुपमा परिचित उनै देवेन्द्र नेपालले भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा पर्यटकका लागि अर्को कोशेली ल्याएका छन् ।

जोखिमपूर्ण खेलमा रमाउने पर्यटकका लागि उनले क्वाड बाइकको व्यवस्था गरेका हुन् । चित्लाङ पुग्ने पर्यटकले प्राकृतिक सुन्दरताको आनन्द लिनुको साथै अबदेखि क्वाड बाइक चढेर मज्जा लिन सक्नेछन् ।

थाहा नगरपालिका वडा नं ९ स्थित चित्लाङ रिसोर्ट प्रालिका सञ्चालक उनले पहिलो चरणमा ५ वटा क्वाड बाइक राखेका छन् । सोमबार वडा अध्यक्ष परशुराम श्रेष्ठले त्यसको उद्घाटन गरे ।

क्वाड बाइक चलाउन शिव मन्दिरदेखि, विचारी थोक, सातधारा हुँदै माझगाउँसम्म झण्डै ३ किलोमिटर रुट निर्धारण गरिएको छ । चित्लाङलाई पर्यटकीय गन्तव्य बनाउने देवेन्द्रको सपना पूरा भइसकेको छ ।

यो पनि पढ्नुहोस ए हजुर ! घुम्न जाने हैन त चित्लाङ ?

चित्लाङमा उनी एडभेन्चरस खेलहरु भित्र्याउने सोचमा छन् । चित्लाङ टुरिज्मको दोस्रो चरणमा उनले क्वाड बाइक भित्र्याएका हुन् ।

‘पर्यटनको पनि स्याचुरेसन लेभल हुन्छ, निश्चित उचाइमा पुगेपछि तल झर्न सुरु गर्छ । चित्लाङ आउने क्याम्प फायर गर्ने, खाने पिउने रमाउने, कुलेखानी पुगेर फर्कने ।’ उनले भने, ‘सँधै यसरी चित्लाङको पर्यटनलाई ओरालो लाग्नबाट रोक्न सकिँदैन । पर्यटकलाई आकर्षित गर्ने गतिविधिहरु बढाउनुपर्छ भन्ने लाग्यो । त्यसैले दोस्रो चरणमा क्वाड बाइक भित्र्याएको छु ।’

पाहुनाले मन पराएको खण्डमा क्वाड बाइक थप्ने योजना बनाएका देवेन्द्र अब कसरी पर्यटकलाई पटक–पटक चित्लाङ आउने बनाउन सकिन्छ भनेर योजना बनाइरहेका छन् ।

‘चित्लाङ एक पटक आएर गइसकेपछि अर्को पटक किन आउने त ? पाहुनालाई त्यसको उत्तर दिने कोशिसमा छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment