Comments Add Comment

रुपन्देहीमा चार्जिङ सुविधायुक्त नेपालकै नमूना बसपार्क बनाउने तयारी

अत्याधुनिक बसपार्कको आर्किटेक्ट डिजाइन तयार

२ पुस, बुटवल । प्रदेश ५को अस्थायी राजधानी रुपन्देहीका बसपार्कहरु जीर्ण र साँघुरा भएकाले तिलोत्तमा नगरपालिकाले प्रदेशस्तरको अत्याधुनिक बसपार्क बनाउने तयारी गरेको छ । विद्युतीय गाडीहरु चार्ज गर्न सकिने र डिजिटल प्रविधियुक्त यो बसपार्क झण्डै २० बिघा जग्गामा फैलिने छ ।

प्रस्तावित अत्याधुनिक र सुविधा सम्पन्न बस टर्मिनल बुटवल-भैरहवा सडक खण्डको पत्थरडाँडा चोकबाट ६ किलोमिटर पश्चिममा पर्दछ । बसपार्क बनाउने भनिएको जग्गा तिनाउ नदी किनारको नदी उकास सार्वजनिक जग्गा हो ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने समय नजिकिँदै गएको र भविष्यमा बन्न सक्ने मेगासिटीलाई मध्यनजर गरी अन्तर्राष्ट्रियस्तरको सुविधायुक्त बस टर्मिनल प्रस्ताव गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

चालक र सहचालकलाई रिफ्रेस सेन्टर, यात्रुलाई आराम कक्ष

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ र १४ मा पर्ने टिकुलिगढमा प्रस्तावित प्रादेशिक बस टर्मिनलको आर्किटेक्ट डिजाइनसमेत तयार भइसकेको छ । नगरपालिकाले प्रदेश सरकारलगायत सरोकारवाला निकायसँग छलफलपछि बस टर्मिनलको आर्किटेक्ट डिजाइन तयार पारेको हो ।

काठमाडौंको डेकोर स्टुडियोले एक महिना समय लगाएर आर्किटेक्ट डिजाइन तयार पारेको इन्जिनियर डानकिङबहादुर भुजेलले बताए । इन्जिनियर भुजेलका अनुसार यो डिजाइन अनुसार बस टर्मिनल बनेमा नेपालकै अत्याधुनिक र पहिलो सुविधासम्पन्न डिजिटल प्रविधियुक्त हुनेछ । हालसम्म नेपालमा आधुनिक र प्रविधियुक्त बसपार्क बनेका छैनन् ।

प्रस्तावित बस टर्मिनलको डिजाइनमा एक पटकमा तीन सय वटा बस पार्किङ गर्न सकिन्छ । विद्युतीय बस र कारलाई लक्षित गरी चार्जिङ स्टेशन पनि बनाइने छ ।

यस्तै यात्रुहरु आराम गर्न र आवश्यक परे बास बस्न मिल्ने गरी टर्मिनलभित्रै ३० वटा कोठासहितको लज (डर्मिटोरी) पनि हुने छ । डर्मिटोरी रुमहरु एक जनादेखि १५ जनासम्म बस्न मिल्ने गरी विभिन्न स्तरका हुनेछन् ।

चालक र सहचालकहरुका लागि आराम कक्ष र रिफ्रेस सेन्टरसमेत बसपार्कभित्रै हुनेछ, जहाँ एक पटकमा ३० जना चालक र सहचालक अट्नेछन् ।

यात्रु आफैंले टिकट काट्न सक्ने

डिजिटल प्रविधिसहितको टिकट काउन्टर, गाडीको रुट र समय चार्ट राखिने छ । ‘यात्रुहरुले आफूले रोजेको बस र समयमा चढ्ने गरी आफैं टिकट काट्न सक्ने गरी डिजिटल प्रविधियुक्त डिजाइन गरिएको छ, अरु सुविधा पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका हुनेछन्,’ डेकोर स्टुडियोका प्रमुख मनोज गुप्ताले भने, ‘यो डिजाइन एअरपोर्ट स्तरको हो, यही डिजाइनमा बन्ने हो भने नेपालको पहिलो र नमूना हुन्छ ।’

टर्मिनलमा एकपटकमा पाँचसय जना यात्रु अट्ने प्रतिक्षालय हुने छ । यात्रु प्रतिक्षालयको छानो १५ मिटर उचाइको हुनेछ ।

गाडीमा चढ्दा र झर्दा सडक पार गर्नु नपर्ने

यात्रु गाडीबाट ओर्लिंला र गाडीमा चढ्दा सडक पार गर्नु नपर्ने गरी बस टर्मिनलको डिजाइन तयार पारिएको इन्जिनियर भुजेलले बताए । ‘यात्रुहरु चढ्दा र ओर्लिंदा सडक पार गर्नुपर्दैन, यात्रु सुरक्षित हुने र अल्मलिनु पनि नपर्ने गरी डिजाइन भएको छ,’ भुजेलले भने ।

बस टर्मिनलभित्रै यात्रुलाई किनमेल सुविधाका लागि एक हजार वर्गमिटर क्षेत्रफलमा विभिन्न थरिका ३० वटा पसल हुनेछन् । गाडीहरु मर्मत सम्भारका लागि सर्भिस/मेन्टिनेन्स ब्लक रहने छन् । एकपटकमा १० वटासम्म गाडी मर्मत/सम्भार गर्न सक्ने गरी डिजाइन भएको छ । इन्धन भर्नका लागि टर्मिनल नजिकै पेट्रोलपम्प पनि राखिने छ ।

टर्मिनलको डिजाइनमा लामो दुरीका मात्र नभई लोकल रुटमा चल्ने गाडी र निजी सवारी साधन पनि पार्किङ गरेर राख्न मिल्ने स्थान छुट्टाइएको छ ।

तिनाउ नदी किनारमा एक सय फिटको सडकसहित हरियालीयुक्त टर्मिनलभित्रै खानेपानी ट्यांकी बनाइने छ ।

पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास

प्रस्तावित बस टर्मिनलबाट पश्चिम तिनाउ पुलपारी झण्डै तीन सय मिटर दुरीमा बेलबास-बेथरी सडक छ । यहाँबाट भैरहवा विमानस्थलको दुरी ६ किलोमिटर छ ।

प्रदेश ५ सरकारले बुटवल-तिलोत्तमा-भैरहवालाई जोडेर निकट भविष्यमै महानगर बनाउने परिकल्पना गरेको र नजिकै रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पर्टकीय क्षेत्र लुम्बिनी, ६ लेनको सडक, बेलबास-बेथरी सडक जस्ता पूर्वाधारले प्रादेशिक बस टर्मिनलको अति आवश्यक भएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने समय नजिकिँदै गएको र भविष्यमा बन्न सक्ने मेगासिटीलाई मध्यनजर गरी प्रादेशिक बस टर्मिनलको प्रस्ताव गरिएको हो,’ घिमिरेले भने, ‘तयार भएको अत्याधुनिक डिजाइनलाई प्रदेश सरकारका विभागीय मन्त्री, सचिवलगायत सरोकारवाला पक्षसँगै राखेर छलफल गरेपछि डीपीआर बनाउँछौं ।’

अत्याधुनिक बस टर्मिनलले बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्ने विश्वास छ । सिद्धार्थ यातायातका अध्यक्ष सन्जीव रोका भन्छन्, ‘आधुनिक र सुविधासम्पन्न बस टर्मिनल नहुँदा विदेशी पर्यटकसामु लाजमर्दो अवस्था छ, लुम्बिनीको नजिकै डिजिटल प्रविधियुक्त अत्याधुनिक बस टर्मिनल बन्यो भने पर्यटकमा पनि सकारात्मक छाप पर्छ, यातायात व्यवसायी पनि लाभान्वित हुनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment