Comments Add Comment

‘हवाइजहाज गिरन’ को सपना : पूरा हुन ५२ वर्ष लाग्यो

थोलेदेम्बा र पोकली झरना नजिकै बन्यो विमानस्थल

७ पुस, खिजी (ओखलढुंगा) । उमेरले ७० काटेका तत्कालीन ओखलढुंगा जिल्ला विकास समितिका सभापति महेश कोर्मोचा सोमबार विहान ५२ वर्षअघि फर्किए । आफ्नै घरनजिकै बनेको खिजी विमानस्थलको मैदान हेर्दै उनी २०२४ सालतिर फर्किए, जतिबेला उनीहरुले यहाँ ‘हवाइजहाज गिरन’ बनाउने सपना देखेका थिए ।

सुनुवार समुदायको बाक्लो बसोबास रहेको खिजी क्षेत्रमा विमानस्थललाई त्यो बेला ‘हवाइजहाज गिरन’ भन्थे स्थनीयले । त्यसबेला खिजीमा विमानस्थलको सपना देखेर पहल गर्नेमध्येका धेरैजसो यो धर्तीबाट बिदा भइसकेका छन् । कुनैबेलाका चर्चित कांग्रेस नेता महेश कोर्मोचा सक्रिय राजनीतिमा हुँदा साकार नभएको यो सपना सोमबार भने पूरा भएको छ ।

कोर्मोचा र उनका समवयी स्थानीयको आँखै अगाडि चण्डेश्वरीको दोमस विमानस्थलमा तारा एयरको हवाइजहाज अवतरण ग¥यो । पहिलोपटक पुगेको हवाइजहाजलाई स्वागत गर्न यसअघिनै पर्यटनमन्त्री योगेश भट्टराई, सोही जिल्लाका सांसद यज्ञराज सुनुवार लगायतका स्थानीय जनप्रतिनिधि धावनमार्गमा पुगिसकेका थिए ।

यही भीडमा थिए कोर्माेचा पनि । सपनालाई विपनामा परिणत गर्न पहल गरेकोमा उनले आफ्नै नाती पर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद यज्ञराज सुनुवारलाई धन्यवाद दिए । विकासका काममा राजनीति नहोस् भन्दाभन्दै पनि मञ्चमा नेताहरुको घोचपेच चलिहाल्यो । ५२ वर्षपछिको सपना पूरा हुँदा पनि नेताले राजनीति गर्न खोजेको गुनासो स्थानीय रेश्मा राई सुनुवारले गरिन् ।

यस्तो छ विमानस्थलको अवस्थिति

खिजी चण्डेश्वरीमा विमानस्थलका लागि ५० वर्षदेखि पहल भए पनि यसको औपचारिक निर्माण थलानी भने ६ वर्षअघिमात्र भयो । नागरिक उड्डन प्राधिकरणले पटकपटक ठेक्का लगाएर यसवर्ष ग्राभेलिङसम्म गरेको आयोजना प्रमुख विनायक भट्टराईलाई बताए । ग्राभेलिङपछि सोमबार परीक्षण उडान गरिएको हो ।

प्राधिकरणका अनुसार दोमस विमानस्थलको धावनमार्ग ५८० मिटर लम्बाई र २० मिटर चौडाइमा बनेको छ । त्यस्तै एयरक्राफ्ट पार्किङका लागि ५५ मिटर लम्बाई र २५ मिटर चौडाई कायम गरिएको छ, जसमा दुईवटा ट्वीटनर विमान पार्किङ गर्न छ ।

आर्थिक वर्ष २०६८/६९ मा ठेक्का लागेको यो आयोजना सम्पन्न हुँदासम्म ४ करोड २४ लाख रुपैयाँ खर्च भएको र जग्गा स्थानीय जनताले उपलब्ध गराएको उनले जानकारी दिए । स्थानीय सुरेश सुुनुवार, रामबहादुर खत्री, ओम सुनुवारलगायतले विमानस्थलका लागि आवश्यक पर्ने जग्गा दिएको सांसद सुनुवारले बताए ।

नियमित उडान होला ?

दोमस विमानस्थलमा परीक्षण सफल भएपछि अब यसलाई नियमित उडान तालिकामा राख्न स्थानीय जनप्रतिनिधिले दबाब दिएका छन् । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद रामहरि खतिवडाले परीक्षण उडान गरेर जनतालाई ढाँट्ने काममात्र नहोस भनी खबरदारी गरे ।

सांसद सुनुवारले विमानस्थल बनाउनका लागि ५ वर्ष धाउनुपरेको स्मरण गर्दै नियमित उडानका लागि सिंहदरबार धाउनु नपरोस भने । दुवै नेतालाई आश्वस्त पार्दै मन्त्री योगेश भट्टराईले उच्च लेकाली क्षेत्रमा रहेको यो विमानस्थल नियमित सञ्चालन गर्ने र कालोपत्रेसमेत हुने आश्वासन दिए ।

नेताहरुले नियमित उडानको दबाब दिएपनि प्राविधिक पक्ष अझै बलियो हुनुपर्ने देखिन्छ । स्वयं आयोजना प्रमुखले पनि नियमित उडान गर्नका लागि भौगोलिक हिसाबले अझै जटिल रहेको बताए ।

उनकाअनुसार स्लोपमा पहिरो जाने समस्या देखिएकाले सुरक्षाका हिसाबले सजग हुनुपर्छ । भट्टराईले भने, ‘यो विमानस्थलमा नियमित उडान भर्न नसकिने त होइन तर पहिरो रोक्न रिटेनिङ वाल लगाउने र विमानस्थलको छेउमा रहेको एउटा ढिस्को काटेर फाल्नुपर्नेछ । यसपटक बजेट अभावले गर्दा सम्भव भएन, अर्को बजेटबाट दुई काम गर्न सकियो भने यहाँ नियमित उडान सम्भव छ ।’

दोमसमा नयाँ विमानस्थल बनेपछि ओलखढुंगामा अब दुईवटा विमानस्थल भएका छन् । पूर्वी ओखलढुंगाको रुम्जाटार विमानस्थलमा सातामा एक दिन उडान भइरहेको छ । खिजीदेम्बा गाउँपालिका वडा नम्बर ३ चण्डेश्वरीमा निर्मित नयाँ विमानस्थल पश्चिम ओखलढुंगामा पर्छ ।

यो विमानस्थलले नियमित उडान गर्दा रामेछाप, ओखलढुंगा र सोलुखुम्बुका जनताले फाइदा लिनसक्ने सांसद सुनुवारले बताए । आफू दोस्रो संविधानसभामा निर्वाचित भएदेखिनै यो विमानस्थल निर्माणका लागि पहल गरेको र ठेकेदारले काम नगर्दा प्रशासन लगाउनुपरेको उनले स्मरण गरे । अब यसलाई स्तरोन्नती गरी नियमित उडान गर्नु अर्को चुनौती रहेको उनले बताए ।

खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षलाई समेत लक्षित गरेर दोमस विमानस्थलमा नियमित उडान गरिने बताए । भ्रमण वर्षका १०० उत्कृष्ट गन्तब्यमध्ये ओखलढुंगाका थोलेदेम्बा र पोकली झरना पनि परेका छन् ।

दुबै गन्तब्य दोमस विमानस्थल नजिकै रहेकाले पनि नियमित उडान गर्दा आन्तरिक र बाह्य पर्यटक तान्न सकिने गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाले बताए । नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलले प्राबिधिक तयारीपछि नियमित उडान थालिने आश्वासन दिए ।

परीक्षण उडानकै दिन मागपत्र

स्थानीयले यो विमानस्थलको स्तरोन्नति र कालोपत्रे गर्न माग गरेका छन् । परीक्षण उडानमा सीमित नहोस् भनेर मन्त्रीको ध्यानाकर्षण गराइएको सांसद सुनुवारले बताए  ।ओखलढुंगा हुँदै सगरमाथा जान अति उपयुक्त पदमार्गका बीचमा रहेको विमानस्थल नियमित चल्न सके पर्यटक भित्र्याउन सहज हुने सुनुवारको भनाइ छ ।

स्थानीयले माग पत्र नै पेश गरेर खिजी क्षेत्रको पर्यटन विकासमा ध्यान दिन माग गरेका छन् । ओखलढुंगा टुरिजम डेभलपमेन्ट कमिटीको अगुवाइमा पेश गरिएको माग पत्रमा खिजी चण्डेश्वरी विमानस्थलमा ठूला जहाज अवतरण गर्न मिल्ने गरी स्तरोन्नति र कालोपत्रेको माग गरिएको व्यवसायी निमा शेर्पाले बताए ।

पर्यटकीय क्षेत्रको विकासमा मन्त्रालयले बजेट व्यवस्था गरेर पर्यटन वर्ष २०२० मा हजारौं पर्यटक खिजी क्षेत्रमा आकर्षित गर्न सहयोग गर्न माग गरिएको पर्यटन व्यवसायी पेम्वा शेर्पाले बताए । मन्त्री भट्टराईले स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएर फर्किएका छन् ।

पर्यटकीय क्षेत्र, सडक यातायातको पहुँच कम, तथा खिजीबाट लुक्लालगायतका ठाउँमा पर्यटक जान नजिक र सस्तो पर्ने भएकाले यो विमानस्थल सञ्चालन गर्नुपर्ने वडाध्यक्ष टीकाराम सुनुवारले बताए ।

नियमित उडान भएमा खिजीसम्म जहाजमा आएका पर्यटकलाई देम्वा, पिकेहुँदै सगरमाथा जान पदमार्ग बिकास गर्न सकिने व्यवसायी शेर्पाले बताए । विमानमार्फत जानका लागिसमेत मन्थली भन्दा नजिक पर्छ । सगरमाथा जाने पदमार्ग पनि स्तरोन्नति गरेर विमानस्थल सुचारु गर्न सके यस क्षेत्रमा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनले बताए ।

यो विमानस्थलबाट ४ घण्टा पैदल दूरीमा नेपालका ७ अग्लामध्येको एक देम्वाडाँडासमेत रहेको छ ।

हेर्नुहोस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment