Comments Add Comment

भोकमरीको भय : यसरी घट्दैछ माटोको उर्बरा शक्ति

वनस्पती विज्ञान पढेका पोखराका कूलराज चालिसेले जलवायु परिवर्तनका कारण धान र चामलको उत्पादनमा निकट भविष्यमा नै समस्या आउने भन्दै त्यसको लागि तयारी रहन कन्दमूलको खोजीमा लागे । अहिले विश्व केवल २ डिग्री तापक्रम बृद्धिको त्रासमा गुजि्रने गरेको छ । यसको कारण हो २ डिग्री तापक्रम बढेपछि हिमालका हिउँहरु सकिनेछन् ।

हिमतालहरु ठूला हुनेछन् । यसले पानीका मुहानहरु सुक्नेछन् । त्यसैको लागिसभा सम्मेलनहरु पनि हुने गरेका छन् । तर, जलवायु परिवर्तन र कार्वन उत्सर्जनको समस्या न्यूनीकरण गर्नको लागि माटोको सुरक्षा नै एउटा सही विकल्प भएको माटो विज्ञहरु बताउँछन् ।

२०१७ मा गरिएको एक अध्ययन अनुसार राम्रो प्रबन्धनका साथ विश्वव्यापी रुपमा बालीनालीहरु लगाउन सकेको खण्डमा प्रत्येक वर्ष १ दशमलव ८ गेगाटन कार्बन भण्डार गर्न सक्ने क्षमता माटोसँग रहन्छ । यति कार्वन विश्वव्यापी यातायात क्षेत्रले वाषिर्क रूपमा उत्सर्जन गर्ने परिणाम हो । यसबाहेक, केही वैज्ञानिकहरू विश्वास यो पनि छ कि कार्वन उत्सर्जन कम गर्ने एउटामात्रै विकल्प भनेको माटोमा उचित किसिमको बालीनाली लगाउनु हो ।

कृषि विभागका अनुसार माटोमा बाली विरुवालाई आवश्यक पर्ने १६ प्रकारका पोषक तत्वहरु मध्ये १३ प्रकारका पोषक तत्वहरु पाइन्छ । यी सबै पोषक तत्वहरु बिरुवाले माटोबाटै प्राप्त गर्छ । त्यसैले माटोले नै कुनैपनि वनस्पती सप्रिने र बिग्रिने भन्ने निर्धारण पनि माटोको गुणस्तरको आधारमा नै हुन्छ ।

प्रत्यक्ष रुपमा नै हाम्रो खानाको ९५ प्रतिशत हिस्सा माटोबाटै प्राप्त हुन्छ । त्यसैले हामीहरुको स्वास्थ्यसँग पनि माटोको स्वास्थ्य जोडिएर आउने वैज्ञानिकहरु बताउँछन् । कृषि विभागका वरिष्ठ माटो विज्ञ डा. चन्द्रप्रसाद रिसाल वायुमण्डलमाभन्दा तीन गुणा बढी कार्वन माटोमा निहित हुने भन्दै माटोले कार्वन उत्सर्जनलाई धेरै हदसम्म नियन्त्रण गर्न सक्ने बताउँछन् । त्यसको लागि स्वयं माटो स्वस्थ हुनु पर्‍यो ।

उनका अनुसार स्वस्थ माटोमा अझै पनि कार्वन सोस्ने क्षमता हुँदा हुँदै पनि बोटबिरुवा र खेती गर्न नजान्ने र अव्यवहारिक रुपमा युरिया मलको प्रयोगका कारण पनि माटोको स्वास्थ्य बिगि्रँदै गएको उनी बताउँछन् । उनी माटोको स्वास्थ्यमा ध्यान दिएको खण्डमा जलवायु परिवर्तनको असर धेरै हदसम्म नियन्त्रणमा आउने बताउँछन् ।

भोग्दै नभोगेको डरलाग्दो त्रास

अहिलेसम्म हिमनदी सुकेको र हिमतालहरु बढेर पानीको स्रोतहरु सुकेको डरलाग्दो संकट हामीले भोगेका छैनौं । तर, यही त्रास धेरैमा देखिन्छ । यसको कारण यही हो कि एकपटक सुकेको हिमालको हिउँ भर्नको लागि लगभग असम्भव जस्तै हुनेछ । यसको असर त्यसपछि मानिसहरुले एकैपटक गम्भीर रुपमा भोग्नेछन् ।

चालिसेले एउटा टिम नै तयार पारेर पोखरामा कन्दमूलको अनुसन्धान गरिरहेका छन् । यसलाई कस्तो कस्तो ठाउँमा तयार पार्न सकिन्छ ? भन्ने विषयमा खोजी गरेर मूलधारको रुपमा रहेका धान र मकैहरुको विकल्प तयार पार्न लागेको अनुसन्धानमा संलग्न अधिकारीहरुको भनाई छ ।

जलवायु परिवर्तनका कारणले मनसुनमा हुने ढिलाई, विभिन्न किरा एवं प्रकोपहरुका कारण यो वर्ष धानको उत्पादन कम हुने सरकारी प्रक्षेपण छ । कृषिप्रधान मुलुकमा वाषिर्क ३० अर्ब रुपैयाँको हाराहारीमा त घोषित रुपमा नै चामल आयात हुन्छ । यो तथ्यांक हरेक वर्ष बढ्दो संख्यामा छ । अझ  अनौपचारिक अर्थतन्त्रलाई पनि जोड्ने हो भने झनै डरलाग्दो तथ्यांक आउन सक्छ । यी सबै पनि कुनै न कुनै हालतमा जलवायु परिवर्तनको पनि असर हो ।

विश्वको ध्यान पुगेको जलवायु परिवर्तन र ध्यान नपुगेको खेती प्रणालीको विषय

यो वर्ष पनि मनसुनले धोका दिएपछि धेरै खेतियोग्य जमिनहरु त्यसै बसेका छन् । जसले गर्दा यो वर्ष मूलधारको बालीको रुपमा मानिने धानको उत्पादन कम हुने भएको हो । यो तथ्यांक नै रहने हो भने निकट भविष्यमा नै चालिसेले भनेजस्तै कन्दमूललाई नै विकल्पको रुपमा राख्नुको विकल्प नहुने जानकारहरु बताउँछन् । यसको कारणहरु धेरै भएपनि साझो अर्थमा हेर्दा जलवायु परिवर्तनको देखिन थालेको असर हो । जलवायु परिवर्तनको कारण मनसुनमा गडबडी भयो । जसका कारण उत्पादनमा कमी आएका कारण समस्या सुरु भयो ।

यतिबेलाको विश्वको सबैभन्दा ठूलो बहसको विषय भनेको जलवायु परिवर्तन सम्बन्धी विषय हो । विश्व दुई डिग्री तापक्रमको भयमा फसिरहेको छ । तर, कसैले पनि माटोको स्वास्थ्यको विषयमा चिन्ता जाहेर गरेका छैनन् । जबकी जलवायु परिवर्तनको समस्यालाई धेरैहदसम्म स्वस्थ माटोले नै नियन्त्रण गर्न सक्छ ।

मौसम परिवर्तनको सबैभन्दा खतरनाक प्रभावहरूबाट बच्न पेरिस सम्झौताले विश्वव्यापी तापक्रम बृद्धिलाई २ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने सहमती गर्‍यो । तर, हामीहरु त्यही २ डिग्रीको त्रासमा सधैं फसिरहेका छौं । जलवायु परिवर्तन सम्बन्धी विभिन्न गैरसरकारी संस्थाहरु विश्व नै एक भएर अघि बढ्ने हो भने वायुमण्डलबाट कार्बन डाइअक्साइडको बढ्दो समस्यालाई हटाउने कुरा सम्भव छ ।

तर, रणनीतिक रुपमा जैविक इन्धनको प्रयोग र कार्बन उत्पादन हुने स्रोतहरुको बिस्तारै विकल्प खोज्ने भन्ने समझदारी अनुसार विश्व एकमेठ हुन सकेको छैन । विश्वमा चलेको हतियारको राजनीतिका कारण पनि जलवायु परिवर्तनको मुद्दामा सबै देश एक मेठ हुन सकेका छैनन् । कंकि्रटको घरले कहिलै पूरा नहुने विश्वमा रुख रोप्ने ठाउँको अभाव छ ।

खाद्य सुरक्षासँग जोडिएको माटोको गुणस्तर

विश्वमा ८१ करोड मानिस खाद्यान्नबाट असुरक्षित छन् । माटोको गुणस्तर कम भएकै कारण २ अर्ब जनसंख्या कुपोषित छन् । विश्व खाद्य सुरक्षा सूचकांकमा समावेश भएका कूल ११९ देश मध्ये नेपाल ७२ औं स्थानमा छ । अर्थात् खाद्य असुरक्षा भएको मुलुकमा नेपाल ७२ औं स्थानमा छ ।

सन् २०१६ मा गरिएको नेपालको जनसांख्यिक एवं स्वास्थ्य सर्वे रिपोर्टका अनुसार नेपालमा पूर्ण रुपमा खाद्य सुरक्षित घरधुरी करिब ४८.२ प्रतिशत मात्रै देखिएको छ । पूर्ण रुपमा खाद्य असुरक्षित घरधुरी १० प्रतिशत देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment