+
+

खिचडी : स्वादिलो, पोषिलो र सुपाच्य

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २४ गते ११:०३

प्राचीन धर्मशास्त्र होस् या त अहिलेको चिकित्सा विज्ञान । खिचडीको महत्व परापूर्वकालदेखि चल्दै आएको पाइन्छ । जसरी बौद्ध सम्प्रदायमा खिरको महत्व रहेको छ । त्यसैगरी हिन्दूहरुको घरमा विशेषगरी पौष महिनामा नियमित खिचडी खाने चलन थियो । पछि यसलाई कम गरेर पौषको आमावश्यामा खिचडी आमावश्या मनाउने चलन सुरु भयो । बिस्तारै बिस्तारै यसको धार्मिक महत्वलाई अहिले भुल्दै गएको देखिन्छ ।

खिचडीको बारेमा धार्मिक किंवदन्तीहरु त धेरै छैन । अहिले खिचडी शब्द आफैंमा मिश्रणको प्रतिक बनेको छ । यसको आफ्नै विशेषता छ । समयको हिसाबले यसलाई अहिलेको चिकित्सा विज्ञानले बिरामी हुँदाको समयमा र चिसो मौसममा धेरै खानुपर्ने खानाको रुपमा व्याख्या गरेको छ । जुन यसअघि समेत धार्मिक रुपमा यसको महत्व बताएको भएपनि चिसो मौसममा नै यसको महत्व बताइएको छ ।

माघे संक्रान्ति आउँदैछ । नेपालको विभिन्न ठाउँहरुमा माघेसंक्रान्तिको दिन कतिपय ठाउँमा त खिचडी महोत्सव समेत गरेर खिचडी खाने गरिएको घटनाहरु देख्न सकिन्छ । गत वर्षको माघमा थारु कल्याणकारी जिल्ला समिति रुपन्देहीले भैरहवामा खिचडी महोत्सव आयोजना गरिएको थियो । जाडोको लागि अतिउपयोगी मानिने जाउलो वा खिचडी खाने चलन पौराणिक कालदेखि चलेको विश्वास गर्ने गरिन्छ । पूर्खाहरुले चिसोमा आवश्यक खानाको रुपमा जाउलोको प्रयोग गर्ने गरेका थिए । त्यसैले कतै पौष १५ त कतै माघ एकको दिन खिचडी खाने चलन छ ।

कसरी बन्छ त यस्तो खिचडी ?

खिचडीको लागि आवश्यक पर्ने सामग्रीहरु कति जना छन् यो खाने ? त्यसको आधारमा निर्णय गरिन्छ । उदाहरणको लागि २ ग्राम बासमती चावलको लागि १०० ग्राम मुंगीको दाल, एउटा फूल गोभी (सानो आकारको), १०० ग्राम मटर दाना, २ वटा आललाई विधिपूर्वक पकाएर खिचडी बनाउन सकिन्छ ।

मसलाको रुपमा एउटा सानो टुक्रा टुक्रा अदुवा, दुईवटा हरियो खुर्सानी, आधा चम्चा बेसार, २ वटा सिंगो खुर्सानी, आधा चम्चा जीरा, थोरै हिङ्ग, एक चम्चा सेतो तिल, एक टुक्रा दालाचिनी, एउटा ठूलो चम्चामा घिउ, स्वादानुसार नुन र धनियालाई मिश्रण बनाएर खिचडी बनाउने गरिन्छ ।

के हो खिचडी बनाउने विधि ?

सबैभन्दा पहिले चामललाई दुई तीन पटक हातले माडेर पखाल्नु पर्छ । त्यसपछि बोक्रा केलाएको आलुलाई लामो लामो टुक्रामा काट्नु पर्छ । त्यसमाथि फूल गोभीलाई पनि ठूला-ठूला टुक्रामा काटेर राख्नुपर्छ । अदुवा र खुर्सानीलाई पनि सानो सानो टुक्रामा काटेर राख्ने ।

त्यसपछि एउटा कराईमा कालो मासको दाल राख्ने । आधा लिटर चिसो पानीमा यी सबै सामग्रीहरु राखे र कुकर या त कसौंडीमा पनि पकाउन सकिन्छ । यसमा आवश्यकता अनुसार कम वा अधिक पानी पनि राख्न सकिन्छ । यसमा छोपेर वा सिठ्ठी लगाएर पकाउनु पर्छ । बीच बीचमा चलाउनु पर्ने भएकोले सिठ्ठी नलगाउँदा पनि हुन्छ । चामल, आलु लगायतका सबै कुरा पाकेर कोमल बनेपछि मात्रै यसलाई निकाल्नुपर्छ ।

के फाइदा हुन्छ खिचडी खाँदा ?

पोषण र स्वास्थ्यको हिसाबले खिचडी बहुउपयोगी खानेकुरा हो । खिचडीमा कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फाइबर, म्याकग्निसियम, पोटासियम तथा फस्फोरस प्रचुर मात्रामा पाउने गरिन्छ । यसमा नै दाल लगायत मसलामार्फत् शरीरलाई आवश्यक पर्ने सबै कुराहरु सहजै प्राप्त हुने भएकोले यसमा तरकारीको आवश्यकता त हुँदैन । तर, यसलाई थप पोषिलो बनाउनको लागि तरकारी पनि बनाउन सकिन्छ ।

यो एक किसिमको मुलायम खानेकुरा भएकोले यो पचाउनको लागि सजिलो खानेकुरा हो । त्यसैले बिरामी हुँदा पनि खिचडी खाने गरिन्छ । यो आफैंमा शरीरलाई उर्जा प्रदान गर्ने पोषक तत्वयुक्त हुने भएकोले यसले शरीरमा रोगप्रतिरोधी क्षमतालाई मजबुत बनाउन पनि यसले सहयोग गर्छ । पित्त तथा कफको समस्यामा पनि खिचडी लाभदायक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?