Comments Add Comment

साउदीमा वितेको नौ बर्षसम्म पनि आएन बिमा रकम

१ माघ, काठमाडौं । २६ वर्षका नेपाली युवक सवारी चालकको रुपमा साउदी अरब पुग्छ । छ महिनामै ज्यान गुमाउँछ । त्यसको एक महिनापछि त्रिभुवन अन्तर्रारष्ट्रिय विमानस्थलमा रातो कफनमा युवाको शव आइपुग्छ । छ महिनापछि मृतकका आफन्त दुर्घटना र कम्पनी बिमा वापतको रकम पाउनुपर्‍यो भन्दै कागजपत्र बोकेर मेनपावर पुग्छन् ।

मेनपावरबाट रुखो जवाफ पाए, ‘मरेको एक वर्ष भएको छैन । कहिले पैसा आउला र खाउला भनेर बस्ने ?’

आफन्त वियोगले व्याकुल आफन्त अलिकति भए पनि दुःखको भारी बिसाउन मेनपावर पुगेका थिए । मनमा अपमान र पश्चत्तापको भारी बोकेर फर्किए । त्यसपछि छ महिना चुप्प लागेर बस्छन् । किनकी उनलाई फेरि त्यही बचन सुनेर चर्किएको मुटुलाई थप चर्काउनु थिएन । छ महिनापछि उनलाई लाग्यो, ‘यो त अधिकारको कुरा पनि त हो !’

आफन्त कन्सुलर विभागको कानुनै परामर्श शाखा पुग्छन् । कर्मचारी भन्छ, ‘साउदीको कुरा हो, दुई–तीन वर्षसम्म पनि लाग्न सक्छ । किन आत्तिएको तपाईं ?’

तर दुई तीन वर्ष मात्र होइन, अजुद्ध कामीको मृत्यु भएको नौ वर्ष भयो । अह ! उनको बिमाको रकम अझै आइपुगेन । पहिला पैसा तिरेर विदेशमा बेचिन सकस । अनि अर्काको देशमा बाँच्न सकस । मृत्युपछि पनि बिमाको रकम लिन झन् सकस । विदेश गएका नेपालीको त कुनै मूल्य नै छैन जसरी । मृतकका आफन्त दलमर्दन कामी भन्छन्, ‘कन्सुलर विभागमा मेरो जस्तो केश लिएर त कति आउँदा रहेछन् कति ।’

०००

तेह्रथुमका अजुद्ध काठमाडौंमा साहुको गाडी हाँक्थे । ०६८ मा एमएम अल सानिवी एण्ड सारेस कम्पनीमा ड्राइभिङको जागिर खुलेको थाहा पाए । तलब पनि आकर्षक–८०० साउदी रिअल । अजुद्ध आठ वर्षदेखि घुमाइरहेको स्टेरिङ छोडेर ‘एसएडी इन्टरनेस्नल’ मेनपावर कम्पनी पुगे ।

अन्तर्वार्तामा साउदीकै मान्छे बसेका थिए । मान्छे पनि हट्टाकट्टा । पाँच फिट छ इन्चका अजुद्धलाई गाडी चालाउन उनलाई केको आइतबार ? सजिलै छनौट भए । आमा–बाबा र दाइहरुले ऋण गरेर ९० हजार जुटाइदिए । अनि अजुद्ध खाडीमा गाडी हाँक्न उडे । उनलाई लागेको थियो, ‘यत्ति भएपछि जीवनको अर्थतन्त्र मज्जाले हाँक्नेछु ।’

छ महिनासम्म राम्रै थियो उनलाई । घरमा नियमित सम्वाद भएको थियो । पैसा पनि पठाइराख्थे । दलमर्दनसँग कुरा भएको थियो, ‘काम राम्रो छ, साहुले पनि खुब माया गर्छ । अब दुई वर्षपछि आएर विहे गर्नुपर्ला ।’

एक हप्तापछि …

अजुद्ध अफिसकै गाडी हाँकिरहेका थिए । विपरीत दिशाबाट हुत्तिदै आएको गाडीले अजुद्धलाई हिर्कायो । उनी बेहोस भए कहिल्यै नउठ्ने गरी ।

सकस पर्‍यो परिवारलाई ।

नौ वर्षपछि पनि दलमर्दन अजुद्धको राहदानी, डेथ सर्टिफिकेट, श्रम स्वीकृति पत्रलगायतका कागजात झोलामा बोकर हिँडिरहेका छन् । कन्सुलर विभागमा दिएको निवेदन थोत्रो भएको छ, दलमर्दनको आशाजस्तै ।

उनी भन्छन्, ‘वर्षैपिच्छे निवेदन दिएको छु । छ महिनामा एक पटक कन्सुलर पुग्छु । तर त्यहाँको कर्मचारीको व्यवहारले जहिल्यै निराश हुँदै फर्कन्छु ।’

शुरुमा दलमर्दन मेनपावर कम्पनी पुगेका थिए । त्यहाँ भनियो, ‘तत्काल आधा रकम निकालिदिन्छु । त्यसपछि अर्को आधा ।’

त्यसपछि दलमर्दन कन्सुलर पुगे । ०६८ मै निवेदन दिएका थिए । कन्सुलरले भनिरहेको थियो कि हामीले साउदीस्थित नेपाली दूतावासमा ताकेता गरिरहेका छौं । नेपाली दूतावासले पनि ‘नेपाली चालकको कुनै गल्ती नभएको प्रहरी रिपोर्टमा उल्लेख भएकाले ‘ब्लड मनी’ वापतको रकम उपलब्ध हुने देखिन्छ । बिमा रकम बापतको रकम दावी गर्दै कम्पनीले गोसी कार्यालयमा आवेदन गरेको छ’ भनेको थियो ।

त्यही आशमा दलमर्दनले कन्सुलरमा ताकेता गरिरहे । दुई वर्षअघि कन्सुलर विभाग दरबारमार्गबाट त्रिपुरेश्वर सर्‍यो । त्यसपछि कन्सुलर विभागले भन्यो, ‘पहिलेको अफिस डकुमेन्ट कम्प्युटरराइज्ड थिएन । यता सरेपछि फाइल नै भेटिएन । तर हामीले दूतावासमा ताकेता गरिरहेका छौँ ।’

दलमर्दन कन्सुलर जान छाडेनन् । कन्सुलरले फेरि भन्यो, ‘ट्राफिक प्रहरीले मृत्यु भएको प्रमाण दिएको छैन भनेर दुतावासले भनेको छ । त्यसैले गाह्रो भएको छ ।’

त्यसपछि दलमर्दन नेपालस्थित साउदी दूतावासमा पुगे । दूतावासका कर्मचारीले उल्टै गाली गर्‍यो, ‘आफ्नो देशको नागरिकको एउटा पनि काम नगरेर तिम्रो राजदूत के हेरेर बस्छ ? हाम्रो प्रहरीले कुनै हालतमा पनि यस्तो काम गर्न सक्दैन ।’

फाइल बोकेर कन्सुलर धाउँदा धाउँदै जुत्ता र कागजपत्र फटाए पनि दलमर्दन अझै थाकेका छैनन् । वैदेशिक रोजगार विभाग पुगे र निवेदन दिए । दलमर्दनले निवेदनमा भाइसँगै साउदी कम्पनीमा काम गर्ने नेपालीसँग भएको सम्वाद पनि उल्लेख गरेका छन् । लेखेका छन्, ‘बिमा वापतको रकम कम्पनीले दूतावास र मेनपावर कम्पनीमा पठाइसकेको भाइको साथीहरुले बताएका छन् । तर हामीले पाएका छैनौं । क्षतिपूर्तिका लागि विशेष पहल गरी न्याय दिलाइदिन विशेष अनुरोध गर्दछु ।’

तर विभागले भन्यो, ‘यो काम त दूतावासकै हो । त्यतै ताकेता गर्नुस् ।’

बिमा रकम कुर्दा कुर्दै अजुद्धका बाबा–आमा पनि तीन वर्षअघि यो संसारबाट विदा भइसकेका छन् । त्यसैले दलमर्दन प्रश्न गर्छन्, ‘मान्छे मरेर पनि कम्पनीबाट बिमा रकम दिलाउन नसक्ने कस्तो सरकार हाम्रो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment